निजामती विधेयकको बदमासी संसदीय इतिहासकै कालो दिन : पाण्डे

काठमाडौं । नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियडमा गरिएको बदमासी संसदीय इतिहासमै कालो दिन भएको बताएका छन् ।

राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा उनले सांसदहरू नपढेरै विधेयक पारित गर्ने रहेछन् भन्ने जनतामा पुगिसकेको बताए ।

उनले भने, ‘३ नम्बर दफा पारित भएपछि ४ र ५ हालेर पठाउनुपर्छ र ? उपदफा क्रम मिलाउनुपर्दैन थियो ? सचिवालयको सचिवले गर्नुपर्ने होइन र ? गल्ती भएको भए, यो अपराधको जिम्मा समितिको सचिवले लिनुपर्छ । छानबिन भएन भने हाम्रो प्रणालीका विरुद्ध पनि प्रश्न उठाउनेलाई पनि यसले मद्दत पुगेको छ ।’

राष्ट्रियसभाले गल्ती सच्याउनुपर्ने भन्दै उनले भने, ‘गच्छे र अपराध अनुसारको कारबाही हुनुपर्छ । भविष्यमा यस्तो खालको अवस्था आउन नदिने स्थित सृजना गनुर्पछ । पारित गरिसकेपछि सबैले एकपटक पढ्नुपर्छ भनेका थियौं । सभापतिले ओभर कन्फिडेन्स देखाएर जस्ताको त्यस्तै पारित हुन्छ भन्नुभयो, तर पुच्छरमा चिप्लिनुभयो । यस्तो कमजोरी भोलि आउन नदिने अवस्था हुनुपर्छ । पर्दाभित्र मुख्यसचिव र सचिव लागेर हुन नदिन खोजेका थिए, अब हुने नै भयो, समिति एक ठाउँमा उभियो, केही गर्न सकिएन तलबाट घुनपुतली लगाइदिनुपर्‍यो भनेर लागेको बुझियो । छानबिन गर्नुपर्छ । नैतिकताको कुरा हामीले भन्ने भन्दा पनि आफैँले जान्ने कुरा हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *