काठमाडौं । एक समय स्वतन्त्र पत्रकारिताको विश्वस्त प्रतीक मानिने बीबीसी समाचार सेवा अहिले आफ्नै कर्मचारीहरूबाट आलोचनामा परेको छ । हालै बीबीसीका १०७ कर्मचारी र मिडिया उद्योगका झण्डै ३०० प्रबुद्ध व्यक्तित्वहरूले बीबीसी नेतृत्वलाई पठाएको खुला पत्रमा संस्थाको इजरायल-प्यालेस्टाइन द्वन्द्वमा देखिएको पक्षपाती कभरेज र सेन्सरशिपलाई लक्षित गरिएको छ ।
उनीहरूले इजरायलसँग सम्बन्धित समाचारप्रतिको आन्तरिक सेन्सरशिप र पूर्वाग्रही रिपोर्टिङको आलोचना गरेका छन् ।
पत्रमा भनिएको छ- बीबीसीले इजरायलको सैन्य कारबाहीको आलोचना गर्ने वा प्यालेस्टिनी पीडाका तथ्यहरू प्रस्ट रूपमा देखाउने प्रयासहरूलाई रोकिदिएको छ । लेख्नेहरूका अनुसार, बीबीसीले इजरायली सरकार र सेनाको जनसम्पर्क एजेन्डामा अनुकूल हुने गरी समाचार सम्प्रेषण गर्दै आएको छ- जसले पत्रकारिताको स्वतन्त्रता, निष्पक्षता, र विश्वसनीयतामा प्रश्न उठाउँछ ।
पत्रमा गाजा युद्ध, प्यालेस्टिनी नागरिकको पीडा, र बीबीसीको आन्तरिक कार्यशैलीबारे विशेष गरी उजुरी गरिएको छ। सले अब बीबीसी जस्ता प्रतिष्ठित संस्थाहरूभित्र पनि पत्रकारहरू आफ्नो नैतिक र व्यावसायिक दायित्वको सीमामा बाँधिएर असन्तुष्ट भएको टिप्पणी गरिएको छ ।
बीबीसीका महानिर्देशक टिम डेभीलाई लेखिएको पत्रमा १०७ जना बीबीसीका कर्मचारीमध्ये कतिपयको नाम अज्ञात राखिएको छ भने कतिपयले नाम र पद उल्लेख गरेका छन् । यस्तै असन्तुष्टि सन् २०२४ को नोभेम्बरमा पनि सय जना पत्रकारले व्यक्त गरेका थिए । सन् २०२३ देखि बीबीसीले निष्पक्षता गुमाएको उनीहरूको आरोप छ ।
पत्रमा लगाइएका मुख्य आरोप यस्ता छन् ।
इजरायली सेनाको लागि पिआरको व्यवहार
पत्रमा बीबीसीमाथि इजरायली सेना र सरकारका गतिविधिहरूलाई सन्देहविना प्रस्तुत गरेको आरोप लगाइएको छ, जसले घटनालाई एकपक्षीय देखाएको र इजरायली सेनाको जनसम्पर्क पिआरको भूमिकामा बीबीसी देखिएको उल्लेख छ ।
प्यालेस्टिनी आवाजलाई दबाउने प्रवृत्ति
पत्रमा प्यालेस्टिनी नागरिकको पीडा, गाजामा भएको मानवीय संकट, र युद्ध अपराधसँग जोडिएका इजरायली कारबाहीहरूको कभरेजमा तोडमोड गर्ने र प्यालेस्टिनी आवाजलाई दबाउने गरेको आरोप बीबीसीमाथि छ ।
आन्तरिक सेन्सरशिप र दबाबः
बीबीसी भित्र रिपोर्टरहरूलाई सन्तुलित कभरेज गर्न नदिएको, उच्च व्यवस्थापनबाट ‘अनुशासन’ को नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको गुनासो गरिएको छ ।
पत्रकारिताको नैतिकता माथि प्रश्न:
पत्रकारहरू भन्छन्, ‘हामी निष्पक्षता र स्वतन्त्रताको सिद्धान्तमा आधारित पत्रकारिता गर्न चाहन्छौँ, तर संस्थाभित्रैबाट असहज बनाइन्छ ।’
बीबीसीको प्रतिक्रिया
बीबीसी नेतृत्वले हालसम्म प्रत्यक्ष रूपमा पत्रको सबै आरोपको खण्डन गरेको छैन । यद्यपि संस्थाले ‘तथ्यमा आधारित निष्पक्ष कभरेज’ गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । तर पत्र लेख्ने पत्रकारहरूको भनाइमा या औपचारिक प्रतिक्रिया मात्र हो, जसले वास्तविक समस्यालाई सम्बोधन गर्दैन ।
(अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा)

Leave a Reply