लुम्बिनीमा लोसपाको दोहोरो भूमिकाः एकै दिन सत्तापक्ष र प्रतिपक्षमा

रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठक सुरु भएको छ । दिउँसो ३ बजे बैठक बसेपनि प्रतिपक्ष दलको अवरोधका कारण स्थगित भएको बैठक साढे तीन घन्टापछि मात्रै सुरु भएको छ ।

यो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी सहभागी भएका छैनन् भने लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल प्रतिपक्षको रुपमा सदनमा उपस्थित भएपछि बैठक सुरु भएको हो ।

लोकतान्त्रिक समाजवादी यसअघि सत्तापक्षमा थियो । आज मात्रै यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको हो । बैठकमा छुटेका योजनाहरु समावेश गर्ने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले सदनमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । अहिले बैठकमा बजेट माथिको सैद्धान्तिक छलफल जारी छ ।

यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता १७ औं दिनमा मात्रै बैठक बसेको हो । यसअघिको बैठक असार ७ गतेका लागि तोकिए पनि दलहरुले बजेटप्रति आपत्ति जनाएका कारणले स्थगित गरिएको थियो ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले लोसपा मंगलबार नै पहिले सत्तापक्ष र पछि प्रतिपक्षमा बसेको बताए । ‘लोसपाले सभामुखलाई निवेदन दिएपछि आज नै उहाँहरु प्रतिपक्षमा जानुभएको हो’ उनले नेपाल प्रेससँग भने ।

फास्टट्रयाकमा सकियो बजेटमाथिको सैद्धान्तिक छलफल, बुधबार नै बजेट पास गर्ने तयारी

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत चौधौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सैद्धान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।

बजेट माथिको सैद्धान्तिक छलफलममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, कनैया बनिया, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले भाग लिएका थिए । बैठकमा आर्थिक मामिला मन्त्री कार्कीले आर्थिक वर्ष २०८२/०८३ सेवा र कार्यको लागि प्रदेश सन्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक सभामा पेश गरेका थिए । यस्तै प्रदेश सभाको १५ औं बैठक आज राती नै पुनः बस्ने भएको छ । सत्तापक्षले बुधबार नै बजेट पास गर्नेगरी कार्ययोजना बनाएको छ ।

उता सदन बहिस्कार गरेर बाहिरिएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित चौधरीले सत्तापक्षलाई आज ढिला भयो भोलि बैठक संचालन गरौला हामी पनि भाग लिन्छौ भनेपनि नमानेर मंगलबार नै राती राती सदन भलाएको आरोप लगाए ।

‘बजेटमाथिको समस्या सत्तापक्षकै हो, हामीले यस्तो संकट आउनुको कारण मागेका थियौं तर सत्तापक्ष पेलेरै जान खोज्यो, एकदिन पनि कुर्न सकेन’ उनले भने ।लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले सरकारले आफ्ना माग सम्बोधन पनि नगरेको र बजेटमा पनि बेवास्ता गरेकाले आज नै समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको नेपाल प्रेसलाई बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *