काठमाडौं । नेपाल र जनवादी गणतन्त्र चीनको कूटनीतिक सम्बन्ध स्थापनाको सन् २०२५ मा ठीक ७० वर्ष पुग्छ । सन् १९५५ अगस्ट १ मा दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । यही ७० वर्ष पुगेको कूटनीतिक सम्बन्धको गाँठोको चर्चा र चिन्तन गर्ने एक ग्रन्थ ‘सुमधुर सम्बन्धका ७० साल’ बजारमा आएको छ ।
नेपाल–चाइना मिडिया फोरमले प्रकाशन गरेको तथा चिनियाँ राजदूत चन सोङले भूमिका लेखेका छन् । भूमिकामा उनले भनेका छन्, ‘चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ र नेपालको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय राणनीति मातहतमा रहेर सहकार्यका दायराहरु बढाउँदै निरन्तरता दिन हामी चाहान्छौँ ।’
नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले पुस्तकमा भनेका छन्, ‘नहिचकिचाइकन भन्नै पर्छ– नेपालका सबैखाले सरकार र नेतृत्वको इमानदारितापूर्ण पहलमा चीनसँगको हाम्रो सम्बन्ध सदासर्वदा सुमधुर रहँदै आएको छ । त्यही सम्बन्धको साक्षी हो यो पुस्तक ।’
पुस्तकमा नेपाललाई चीनले दिएका सहयोगदेखि नेपालले सन् २०११ बाट २०२३ सम्म चीनबाट लिएको ग्रान्टहरुको सूची अरु देशको तुलना गरेर सूचीकरण गरिएको छ । कुनै समय सोभियत संघ, बेलायत तथा अमेरिका भन्दा कम सहयोग गर्ने सूचीको देश चीनले पछिल्लो समयमा सहयोगमा अग्रता लिएका आँकडाहरुको फेहरिस्त पुस्तकमा छन् । यहाँ पुस्तकमा अटाइएका ७ तस्बिर हेरौँ ।
तस्बिर १ः दिल्लीबाट काठमाडौँको गैरआवासीय राजदूतको रुपमा काम गरेका युआन चुङ राजा महेन्द्रसकक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै । यो तस्बिर २०१२ सावन १९ गतेको हो ।

तस्बिर २ः नेपालको प्रथम राजनीतिक दल (प्रजा परिषद)का प्रथम अध्यक्षको पहिचान बनाएका टंक प्रसाद आचार्य चीन भ्रमण गर्ने पनि नेपालका प्रथम प्रधानमन्त्री हुन । यो उनको चीन भ्रमणको तस्बिर हो । सन १९५६ सेप्टेम्बरको तस्बिर यो हो । होचो कदका आचार्यले पेटमा राणाशैलीको पेटी लाएर दौरासुरुवालमा अभिवादन गर्दै गरेको तस्बिर हो यो ।

तस्बिर ३ः कूटनीतिक सम्झौता हुँदाको नेपाली तथा चिनियाँ प्रतिनिधिहरुको हस्ताक्षर गर्दैगरेको तस्बिर ।

तस्बिर ४ः राजा महेन्द्रले एकपटक मात्रै चीनको भ्रमण गरेका थिए । सन १९६१ मा चीन पुग्दा चिनियाँ राष्ट्रपति ल्यू स्याओचीसँगको हस्तमिलनको तस्बिर हो यो ।

तस्बिर ५ः नेपाल दुई पटक भ्रमण गर्ने चिनियाँ प्रधानमन्त्री हुन चौ एन्लाई । उनको प्रथम नेपाल भ्रमण सन १९५७ मा भएको थियो । त्यो बेला उनी पशुपतिनाथमा पुगेका थिए । त्यहि तस्बिर हो यो ।

तस्बिर ६ः सगरमाथा कस्को हो भन्नेबारेमा सोधिएको प्रश्नमा सन १९६० मा काठमाडौँमा जवाफ दिँदै चिनियाँ प्रधानमन्त्री चौ एन्लाई । साथ बीपी कोइराला पछिको तहरमा ।

तस्बिर ७ः चीन भ्रमणमा पुगेका प्रथम नेपाली कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसँग हस्तमिलन गर्दै चिनियाँ राष्ट्रपति जियाङ जमिन । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्षपछि सन १९९५ मा यो रोचक अवसर मिलेको थियो ।


Leave a Reply