काठमाडौं । बल्छी धुर्बे उपनामले परिचित कलाकार मरिचमान श्रेष्ठले चलचित्र ‘गोबर गणेश’ बनाउने भएका छन् । सिरियलबाट चर्चा बटुलेका श्रेष्ठको यो डेव्यु चलचित्र हो । चलचित्र बनाउने भएपछि उनले सामाजिक सञ्जालमा माग्नेबुढा (केदारप्रसाद घिमिरे) र धुर्मुस (सीताराम कट्टेल)लाई सम्झिँदै लामो स्टाट्स लेखेका छन् ।
उनले लेखेका छन्, ‘आजभन्दा १८ वर्ष अगाडि काठमाडौं छिर्दा मनमा कलाकार बन्ने सपना, भरोसा अनि दुई छाक टार्ने चिन्ता थियो । कसैले चिनेका थिएनन्, कसैले चिनाउन खोजेका पनि थिएनन्, तर मेरा गुरुहरु माग्ने बुढा र धुर्मुसको सहयोगले ‘मेरी बास्सै’ बाट सुरु भएको मेरो कला यात्रा ‘हल्का रमाइलो’ हुँदै ‘जुठे’ सम्मको यात्रामा, हरेक फ्रेममा आफ्ना सपना उनेर अगाडि बढिरहेको छु ।’
दर्शकको अपार प्रेम नै आफ्नो लागि प्रेरणा बनेको श्रेष्ठको भनाइ छ। ‘गोबर गणेश’ को बारेमा उनी भन्छन्, ‘सानो पर्दाबाट ठूला पर्दाको यात्रातर्फको यो मेरो पहिलो पाइला हो । म हर्ष, आँसु र कृतज्ञताको भारी बोकेर हजुरहरुको पाउ पर्दैछु । यो चलचित्रमात्र होइन, मेरो जीवनको एउटा अध्याय हो ।’
श्रेष्ठले सानो पर्दामा जस्तै ठूलो पर्दाको यात्रामा पनि आफूलाई दर्शकले साथ दिने विश्वास व्यक्त गरेका छन् ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने ‘गोबर गणेश’ माघ १ गते रिलिज हुनेछ । चलचित्रलाई बल्छी धुर्बे आफैंले निर्देशन गर्नेछन् । चलचित्रमा उनको अभिनय रहनेछ या छैन भन्नेबारे उनले केही खुलाएका छैनन् । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रको मुख्य अभिनेत्रीमा भने वर्षा सिवाकोटी रहनेछिन् ।
‘मेरी बास्सै’ बाट चर्चामा आएका बल्छी धुर्बे अहिले दुई टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ का कारण लोकप्रिय छन् ।

Leave a Reply