काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले आफ्नोबारेमा गरेको टिप्पणीको प्रतिवाद गरेका छन् ।
सोमबारको बैठकमा शेखरले विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न उठाएका थिए । उनले अनुशासन समितिले लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनालमाथि कारबाही अघि बढाएकोमा पनि प्रश्न उठाएका थिए ।
मंगलबारको बैठकमा बोल्दै चौधरीले कांग्रेसको नेतृत्व गर्छु भन्ने व्यक्तिले विश्वले चिनेको निजी क्षेत्रको अगुवा व्यक्तिलाई पार्टीमा रोकेर अन्तर्घातीलाई बोकेको आरोप लगाए ।
चौधरीले भने- कांग्रेसमा निजी क्षेत्रका हामीजस्ता मान्छेको भूमिका के हो ? सम्पन्न नेपाल बनाउने एजेण्डा दुनियाको अगाडि पस्किने क्रममा यस्ता व्यक्तिहरुलाई भित्र्याउने हो कि रोक्ने हो ? गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्ने, हृदयेश त्रिपाठीको लागि बुथबुथमा मान्छे राखेर कांग्रेसका शीर्ष नेतालाई तथानामा गाली गरेर हराउन हरप्रकारको तिकडम गर्ने लुम्बिनीका महामन्त्री विक्रम खनाल जस्तालाई बोक्ने नेताले भोलिको कांग्रेसको नेतृत्व कसरी गर्छ ?
चौधरीले अर्थतन्त्र बुझेको व्यक्तिले अर्थ मन्त्रालय चलाउँछु भन्दा स्वार्थको द्वन्द्व हुने हो भने प्रतिष्ठित र अनुभवी व्यक्तिहरूलाई कांग्रेस प्रवेशमा रोक्नुपर्ने बताए । उनले दोहोरो मापदण्ड त्याग्नुपर्ने भन्दै स्वार्थका द्वन्द्वका नाममा आफूहरूजस्ता व्यक्तिलाई रोक्न खोजिएकोमा दुःख व्यक्त गरे ।
चौधरीले जेलनेल खाएका बाहेक अन्य पेशामा प्रतिष्ठा कमाएका व्यक्तिको आवश्यकता छैन भनेर कांग्रेसले निर्णय गर्न चुनौतीसमेत दिए । उनले नवनियुक्त कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई कुर्सीमा बस्दा अपमान गर्ने र साथमा बस्दा अछुतो हुन्छु भन्ने मानसिकता समेत नेतामा देखिएको आरोप लगाए ।
चौधरीले त्यही उमेश श्रेष्ठसँग चन्दा माग्न जाँदा, सहयोग माग्न जाँदा सानो नहुने तर कोषाध्यक्ष मान्न लाज हुने अवस्थाले कांग्रेसलाई लज्जित बनाएको बताए ।

Leave a Reply