काठमाडौं । यो असार महिनाभरि जम्मा एउटामात्रै नेपाली चलचित्र प्रदर्शन हुँदैछ, ‘यो मन त मेरो नेपाली हो’ । असार २७ बाट प्रदर्शनमा आउने यो महिनाभरिकै एक्लो नेपाली चलचित्र हो ।
अहिले हलमा १० वटा चलचित्र प्रदर्शनरत छ । १० मध्ये नौ वटा विदेशी हुन् भने ‘ऊनको स्वीटर’ मात्रै नेपाली चलचित्र हो । पछिल्लो बैशाखयता प्रदर्शन भएका दर्जन नेपाली चलचित्रमध्ये हलमा दर्शक तान्न सफल एक्लो पनि ‘ऊनको स्वीटर’ मात्रै हो । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यस चलचित्रले १० करोड ६२ लाखको व्यापार गरिसकेको छ ।
गत जेठ ३० मा प्रदर्शनमा आएको ‘महाभोज’पछि असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ छ भने यसपछि एकै पटक साउन १६ मा ‘रियल रिंगिट’, साउन २३ मा ‘सिटामोल’ र ‘मोहर’ छन् ।
यसपछि नेपाली चलचित्रहरुको बाक्लो चाप छ । झनै दशैंको छेकोमा ठूल्ठूला चलचित्र भिड्ने पक्का भइसकेको छ, तर असार र साउनमामा निर्माताहरुले चलचित्र प्रदर्शन गर्न नचाहनुको पछाडि भने निरन्तरको झरी र बाढी पहिरोलगायत रहेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् ।
उनका अनुसार मौसमको प्रतिकूलताका कारण निर्माताहरु यी दुई महिनालाई चलचित्र प्रदर्शनको उपयुक्त महिना ठान्दैनन् । त्यसैले हलहरुमा नेपाली चलचित्र शून्य जस्तै हुने गरेको छ ।

Leave a Reply