काठमाडौं । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । उनीहरूले सामाजिक सञ्जालमा आफूहरूमाथि जथाभावी लेख्नेलाई कारबाही फास्ट ट्रयाकमा लगिदिन आग्रह गरेका छन् । साथै जाहेरी दिएका व्यक्तिहरूलाई हदसम्मको सजाय दिलाइदिन आग्रह गरेको एलिनाले नेपाल प्रेसलाई बताइन् ।
उनले भनिन्, ‘हामीलाई नै गृहमन्त्रीले बोलाउनु भयो । तिमीहरूलाई मैले के के गरिदिन सक्छु, आएर मसँग सल्लाह गर भन्नुभएपछि हामी उहाँलाई भेट्न मन्त्रालयमा पुगेका थियौं ।’
गृहमन्त्रीलाई आफूहरूले जाहेरी दिएका व्यक्तिहरू कुनै पनि सोर्स लगाएर, कानून छलेर उन्मुक्ति नपाउन् भनेर आग्रह गरेको एलिनाले बताइन् । उनले थपिन्, ‘विदेशबाट समेत मान्छे झिकाएर सजाय दिलाइदिनु पर्यो । जे पायो त्यही कमेन्ट गरेर, म्यासेज गरेर हामीलाई साह्रै दुःख दिए । संसारको जुनसुकै कुनामा भए पनि तीनिहरूलाई झिकाएर सजाय दिइदिनुपर्यो, सबक सिकाउनुपर्यो भनेर अनुरोध गर्यौं ।’

साइबर क्राइमहरूलाई ठूलो र गम्भीर अपराधको रूपमा हेरिदिन पनि अनुरोध गरेको उनको भनाइ छ ।
गृहमन्त्रीले के भन्नुभयो ? भन्ने प्रश्नमा एलिनाले भनिन्, ‘उहाँले एक्सिडेन्ट, सुसाइड केस, ड्रग्स र सामाजिक सञ्जाललाई एकदमै महत्व दिएर हेरिरहेको बताउनुभयो । हामी तपाईंको साथमा छौं भन्नुभयो । हामी तपाईँहरूले खोजेको अपराधीलाई जसरी हुन्छ पक्रिन्छौं । कानूनले जे सजाय तोकेको छ, त्यही सजाय दिलाउँछौं भन्नुभयो ।’
साथै कसरी छिटो न्याय दिलाउने भन्नेबारे आफू गम्भीर रहेको समेत गृहमन्त्रीले बताएको एलिनाको भनाइ छ । गृहमन्त्रीको भनाइ उद्दृद गर्दै थपिन्, ‘ढुक्क भएर जानू, कसैगरी पनि म छिटोभन्दा छिटो न्याय दिलाउँछु ।’
करिब एक सातादेखि एलिना-समीक्षाले आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । एलिनाले हिजो साइबर ब्युरोमा गएर उजुरीसमेत दिएकी छन् ।
आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, नीजि जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई १० दिनको ब्रेक लिएरै संजालमा अभियान चलाएको एलिनाले बताएकी छन् ।
अब कानूनी प्रक्रिया र संजालको अभियान सँगसँगै अगाडि बढाउने मुडमा रहेकी एलिना आज समीक्षासँग गृहमन्त्रीलाई भेट्न समेत पुगेकी छन् ।
उनले अभियान सुरु गरेपछि अन्य कलाकार, राजनीतिज्ञहरूले पनि उनलाई साथ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ‘साहसी छोरीहरू’ भन्दै प्रशंसा गरेका गरेका थिए ।

Leave a Reply