काठमाडौं । सामाजिक संजालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरुविरुद्ध अभियानमा उत्रिएकी गायिका एलिना चौहान अन्ततः प्रहरीको साइबर ब्युरोमा पुगेकी छन् । उनले चार जनाविरुद्ध आज ब्यूरोमा उजुरी दिइन् ।
एलिना र अर्की गायिका समीक्षा अधिकारीले घृणाजन्य कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने अभियान चलाइरहेका थिए । केही व्यक्तिहरुले उनीहरुसँग माफी मागे पनि गाली आउने क्रम रोकिएको छैन । त्यसैले एलिना कानूनी प्रक्रियामा जान बाध्य भएकी हुन् ।
सामाजिक सञ्जालमा अभद्र र छुद्र कमेन्ट, म्यासेजहरु लेख्नेहरुविरुद्ध साइबर कानुन आकर्षित हुन्छ । साइबर क्राइमलाई विश्वमै गम्भीर प्रकृतिको फौजदारी र सामाजिक अपराध मानिन्छ । नेपालमा साइबर क्राइमको ग्राफ दिनदिनै बढ्दो छ भने यसबाट महिला, बालबालिका र विद्यार्थीहरु बढीजसो पीडित बन्दै गइरहेका छन् । यही साइबर क्राइमको पछिल्लो सेलिब्रेटी पीडित हुन् एलिना र समीक्षा ।
२०६३ सालबाट सरकारले विद्युतीय कारोबारसम्बन्धी विशेष ऐन ल्याएको थथियो, जसलाई हाल साइबर कानून भनेर चिनिन्छ । यो ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसूरहरुको उल्लेख गरिएको छ । सो कसूर प्रमाणित भएमा ५० हजारदेखि पाँच लाखसम्म जरीबाना र ६ महिनादेखि पाँच वर्षसम्मको जेल सजायको व्यवस्था छ । अपराधको गम्भीरता अनुसार अदालतले सजाय तोक्नसक्छ ।
गाली-बेइज्जती ऐनअन्तर्गत ५० हजारसम्म जरीबाना, ३ वर्षसम्म कैद
सामाजिक संजालमा तुच्छ र अपाच्य गाली गर्नेहरुमाथि गाली बेइज्यति ऐनसमेत आकर्षित हुन सक्छ । गाली बेइज्जती ऐन २०१६ मा सर्वसाधारणको इज्जत र मान मर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि र बेइज्यतीको कसुरको निमित्त सजायको व्यवस्था गरिएको छ ।
सो ऐनको दफा ३०७ को उपदफा १ मा लेखिएको छ, ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनेछ । तर विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’
यस्तै, उपदफा २ मा व्यइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यसलाई समेत विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्ने उल्लेख छ ।
यो मुद्दा व्यक्तिगतरूपमा सम्बन्धित जिल्ला अदालतमा दुनियावादी फौजदारी मुद्दाको रूपमा पनि दायर गर्न सकिन्छ । नेपाल सरकार वादी भएर पनि गाली बेइज्जती मुद्दा दायर हुन सक्छ । यसमा ३ महिनाको हदम्याद राखिएको छ ।
नेपाल सरकार वादी भई दायर गरिने मुद्दामा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राख्न सक्ने व्यवस्था छ । सरकारवादी मुद्दा दायर भइसकेपछि आफ्नो वकिल नराख्दा पनि हुन्छ । सरकारी वकिलले नै बहस गरिदिन्छ । यस्तो अवस्थामा जाहेरवालाले नीजि वकिललाई तिर्नुपर्ने अतिरिक्त शुल्क लाख्दैन । सरकारले सित्तैमा मुद्दा लडिदिन्छ ।
एलिना–समिक्षाको केसमा मूल रुपमा साइबर कानुन नै आकर्षित हुने अधिवक्ता प्रतीक कार्कीले बताए । उनले भने, ‘यस्ता केसमा मुख्य रुपमा साइबर कानुन नै आकर्षित हुन्छ । साथै यो मुद्दा सरकारवादी मुद्दा पनि हुन्छ । सीधै जाहेरी लिएर अदालत जाने हो । सँगै गाली बैज्जती मुद्दा समेत आकर्षित हुन्छ ।’
साइबर क्राइमको अनुसन्धान सहज भने हुँदैन । गालीगलौज गर्नेहरु अधिकांस विदेशमा बस्ने हुन्छन् । उनीहरुको पहिचान गर्नु र पक्राउ गरेर नेपालसम्म ल्याउने काम प्रहरीका लागि चुनौतिपूर्ण हुने गरेको छ ।
एलिना समिक्षालाई किन आइरहेको छ गाली ?
चर्चित सेलिब्रिटीहरुलाई सामाजिक सञ्जालमा फाट्टफुट्टरुपमा नकारात्मक र घृणाजन्य प्रतिक्रियाहरु आउनु सामान्य नै हो । तर, सीमा नै उल्लंघन गरेर व्यक्तिगत स्तरमा आक्रमण गर्दा जोकोहीलाई सैह्य हुँदैन । एलिना र समिक्षाको हकमा यस्तै भइरहेको छ ।
अभिनेता पल शाहविरुद्ध मुद्दा हालेपश्चात समिक्षा पलका फ्यानहरुको निशानामा परेकी थिइन् । एक समयमा त समिक्षामाथि यति धेरै घृणा वर्षा भयो कि उनी डिप्रेसनकै अवस्थामा पुगिन् । पल शाह रिहा भएपश्चात त्यो क्रममा ब्रेक लागे पनि पूर्णरुपमा समाप्त भएको छैन । अहिले पनि समिक्षालाई सोही मुद्दासँग जोडेर ‘१० लाख’ भन्दै कमेन्ट आइरहेका हुन्छन् ।
जिल्ला अदालत नवलपुरले पललाई बालयौन दुरुपयोगमा दोषि ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र पिडितलाई १० लाख क्षतिपूर्ति भराउने आदेश दिएको थियो । समिक्षाले भने सो रकम रकम लिन अस्वीकार गरेकी थिइन् । तर पनि उनलाई ‘१० लाख’ भन्दै होच्याउने काम पलका फ्यानहरुले अझैसम्म गर्दै आएका छन् ।
एलिनालाई भने श्रीमानसँग छोटो समयमा डिभोर्स गरेपछि सामाजिक सञ्जालमा तुच्छ कमेन्टहरु आउन थालेका हुन् । पैसाका लागि मात्र विहे गरेको आरोप उनलाई कतिपयले लगाउने गरेका छन् । यद्यपि, एलिनाले श्रीमानसँग कुनै पनि अंश नलिइकन डिभोर्स गरेकी थिइन् ।

Leave a Reply