पश्चिमनवलपरासी कांग्रेसमा तीन वर्षसम्म सकिएन अन्तरघातको लफडाः एकअर्कालाई कारबाही गरागर

रुपन्देही । पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका दुई समूहबीच ०७९ को चुनावी घातअन्तरघातको लफडा अझै सकिएको छैन । संस्थापन समूहबाट प्रदेश महामन्त्री रहेका विक्रम खनालको कारबाही सिफारिस भएसँगै इतर समूहले सोमबार नै पत्रकार सम्मेलन गरेर त्यसको प्रतिवाद गरेको छ ।

संस्थापन समूहले महामन्त्री खनाललाई कारबाही गर्दा इतर पक्षबाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसहित सात जनालाई कारबाही सिफारिस भएको छ ।

कारबाहीको प्रकृया अघि बढ्न थालेको छनक पाएका नेता सोमबार नेताकार्यकर्तासहित उतारेर पार्टीभित्र परिवार, नवधनाढ्य र डनवाद हावी हुँदै गएको आरोप लगाए ।

केन्द्रीय पार्टी अनुशासन समितिमा खनालविरुद्ध कारबाहीको उजुरी दर्ता भएको छ । उजुरी परेपछि कारबाहीलाई रोक्न दबाब सृजना गर्ने उद्देश्यले महामन्त्री खनालले पार्टी कार्यालयमा सोमबार आफू पक्षका नेता तथा कार्यकर्ता उतारेर पत्रकार सम्मेलन गरेका हुन् । सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनको एजेन्डा रहेको छ ।

सोही ऐजेन्डामा आफूमाथि दर्ता भएको उजुरीमार्फत कारबाही हुनसक्ने खनाललगायत जिल्लाका नेताले सूचना पाइसकेका छन् । खनाललाई कारबाही भए त्यसको विरुद्ध कार्यकर्ताहरु एक रहेको केन्द्रीय समितिलाई दबाब दिन खनालले कार्यकर्ताको सहभागितामा पत्रकार सम्मेलन गरेको जनाएका छन् ।

पत्रकार सम्मेलनमा जिल्ला समितिका पदाधिकारी, खनाल पक्षका प्रदेश सभासद, स्थानीय तहका प्रमुख, पार्टीका वडादेखि क्षेत्रसम्मका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

उनले पैसा र पहुँचको भरमा विधि र प्रकृयालाई मिचेर निर्णय गर्दा पार्टी कमजोर भएको भन्दै कार्यकर्ताको भावनाअनुसार अघि बढ्न केन्द्रीय नेतृत्वलाई सुझाव दिए । जिल्लामा केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेल र खनालको गुट छ । खनाललाई कारबाहीको माग गर्दै कँडेललगायतका नेताले जिल्लामा नभई सिधैं केन्द्रमा पहुँचको भरमा उजुरी दर्ता गराएको जिल्ला पार्टी प्रवक्ता राधेश्याम पाठकले बताए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका उमेदवार विनोद चौधरीलाई हराउन खनालले अभिव्यक्ति दिएको अडियो रेकर्डसहित केन्द्रीय समितिका उजुरी दिएपछि खनाल पक्षमा कारबाही हुने भय छ । कँडेल संस्थापन पक्षका हुन् भने खनाल शेखर पक्षका हुन् ।

महामन्त्री खनालले भने पार्टीले टिकट दिनुपूर्व बाहिरी व्यक्ति उमेदवार भए कार्यकर्ताले सहयोग नगर्ने बताएपनि अन्ततः चौधरीले टिकट ल्याएपछि इमान्दारीपूर्वक लागेको दाबी गरेका छन् ।

‘चौधरीजीले टिकट पाएपछि हामी जिताउन लाग्यौं । त्यसैको परिणामले जित्नुभयो पनि । कँडेलजी स्थानीय निर्वाचनमा आफ्नै उमेदवारका विरुद्ध बागी उठाउँदा आफ्नो निर्वाचनमा १६ हजार मतले हार्नुभयो ।’ खनालले पत्रकार सम्मेलनमा भने । कँडेलमाथि सरावल गाउँपालिकामा पार्टीका आधिकारिक उमेदवारविरुद्ध बागी उठाएको र जिससको निर्वाचनमा बहुमत हुँदा हुँदै अर्कै पार्टीलाई जिताएको आरोप छ ।

पार्टी सभापति अर्जुन पोखरेलले पार्टीको विधानविपरीत कँडेलले सिधै केन्द्रमा उजुरी दर्ता गरेको बताए । ‘वडा हुँदै जिल्ला अनुशासन समितिमा उजुरी आउनु पर्छ । कँडेलजीले दबाबमा केन्द्रमा दर्ता गराउनु भएको छ । त्यो अवैधानिक छ । महामन्त्री खनाललाई लगाएको आरोप टिकट पाएसँगै सकिएको छ । परिणामले पनि देखाएको छ । खनाललाई कारबाही भए जिल्लाका कार्यकर्ताहरु केन्द्रमा गएर धर्ना दिन्छौं ।’ सभापति पोखरेलले भने ।

तर यता जिल्लामा इतर समूहको बर्चश्व रहेको छ । जिल्ला समितिले संस्थापन समूहमा रहेका पार्टी केन्द्रीय सदस्य देबेन्द्रराज कँडेलसहित ७ जनालाई जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरेको छ । स्थानीय चुनावमा उठेका उमेदवारविरुद्ध बागी उठाएको, जिसस चुनावमा बहुमत हुँदाहुँदै पनि अकै पार्टीका उमेदवारलाई जिताएकोलगायतका उजुरी वडाबाट अनुशासन समितिमा परेपछि जिल्ला समितिले केन्द्रीय समितिमा कँडेलसहित सात जनालाई कारबाहीका लागि पठाएको सभापति पोखरेलले बताए ।

त्यसरी कारबाहीका लागि सिफारिस गरिएका अन्यमा क्षेत्रीय सभापति माधव पाण्डे, रामग्राम नगर समिति सभापति श्रीधर बस्याल, मोहन शर्मा, उमेश विक, जन्मजय यादव र विनोद पाण्डे रहेका छन् । अनुशासन समितिमा निर्वाचनको बेला पार्टीविरुद्ध लाग्ने झन्डै २ हजार बढी उजुरी दर्ता भएको र त्यसमा केहीलाई स्पष्टीकरण सोध्ने र केहीलाई कारबाही प्रकृया अघि बढाउने कार्य भएको जिल्ला समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *