‘ओली-विद्या द्वन्द्व’ नामको खैँजडी बजाउनेका त्यति राम्रो सन्देश छैन कि, जे-जे भनेर त्यो खैँजडी बज्दैछ, एमालेभित्र त्यस्तो केही हुँदै छैन । कम्तीमा पनि तत्काल चाहिँ ‘लाहुरेभन्दा गुन्टा अघि’ भइरहेको देखिन्छ एमालेको राजनीतिमा ।
त्यसो भए हुँदै चाहिँ के छ त ? यो प्रश्न आम बनेको छ । र, यही प्रश्नको सेरोफेरोभित्र ‘शंकर पुस्ता’ को चर्चा वाञ्छनीय छ । एमाले, ओली, विद्या र नेपाली राजनीतिको संसदीय कालखण्डसँग अन्योन्यास्रित सम्बन्ध राख्ने त्यो पुस्तालाई हेरेर बजारमा बजेका खैँजडी सुन्दा त्यसको धुन विरक्तलाग्दो छ । त्यो खैँजडी एकोहोरो छ, भ्रम, मिथ्या र कुण्ठामात्रै बजिरहेको छ ।
एमालेको वास्तविकता जान्न शुरुमा एमाले र त्यसभित्र चरणचरणमा विकास भएका पुस्ताहरूको नालीबेली बुझ्नुपर्छ । जसभित्र ‘शंकर पुस्ता’ ले २०४६ सालको परिवर्तन सम्भव तुल्यायो । त्यसपछिको एमालेको राजनीति, विचार, दर्शन, कार्यक्रम र कार्यदिशालाई कार्यान्वयन गर्दै पार्टीलाई यहाँसम्म ल्याइपु¥यायो ।
यस्तो पार्टी बन्यो कि २०५४ को डरलाग्दो विभाजनलाई सहेर अगाडि बढ्दा पनि दोस्रोबाट तेस्रो हुनुपरेन । २०७७ को विभाजन २०५४ हेरी खासै केही होइन । केही राम्रा, गतिला मान्छे पार्टी बाहिर भए भन्नुमात्रै हो । जनमतको क्षतिका दृष्टिले हेर्दा ३०-३१ लाख हाराहारीको समानुपातिक मतमा एक डेढ लाखमात्रै क्षति पुगेको छ ।
यस्तो स्पातिलो एमाले त्यसै बनेन । ‘शंकर पुस्ता’ ले गरेको राजनीतिक, वैचारिक र सांगठनिक मेहनतबाट त्यो सम्भव भयो । हरेक विभाजन, विखण्डनविरुद्ध प्रखर र नीति अनि नेतृत्वको पक्षमा अविचलित योद्धाबाट जोगिएको पार्टी हो एमाले ।
एमालेमा मूलतः चार पुस्ता विद्यमान छन् । १. कोअर्डिनेशनकालीन, २. २०३६ को विद्यार्थी आन्दोलनको रापतापले अगाडि बढेको, ३. २०४६ को वरिपरि विकास भएको र ४. २०६२-०६३ को दोस्रो जनआन्दोलनभन्दा अघिपछि आएको पुस्ता ।
त्यसमध्ये २०३६ को विद्यार्थी आन्दोलनका नेता टंक कार्कीहरू हुन् । उनीहरू अहिलेसम्म यही आन्दोलनमा निरन्तर छन्, तर पार्टीभित्रका वैचारिक आँधीहुरी र राजनीतिक संघर्षका बेला उभिएको ठाउँले उनी जहाँ छन् त्यही ठीक छन् ।
त्यसपछिका अध्यक्षहरू रामप्रसाद ज्ञवाली राजनीतिक भूमिकामा छैनन् । चन्द्र भण्डारी, तुलबहादुर गुरुङ आन्दोलनमै छन्, तर किनाराकृत भूमिकामा छन् त्यो पनि आफ्नै कारणले । र, एकताको एघारौँ राष्ट्रिय सम्मेलन- २०४७ चैतबाट अगाडि बढेको शंकर पोखरेलहरूको पुस्ताका, तिनका उत्तराधिकारी अहिलेको एमाले केन्द्रीय नेतृत्वमा वर्चश्वशाली छन् ।
पार्टीको राजनीतिक, वैचारिक र सांगठनिक विकासमा उनीहरू निर्णायक छन् । त्यो पुस्ताको अगुवाइ शंकर पोखरेलले गर्छन् । शंकरपछिका अध्यक्ष रामनाथ ढकालको देहान्त भइसक्यो, योगेश भट्टराई, अरुण नेपाल, योगेशका महासचिव भानुभक्त ढकाल, (उनीपछि माले अखिलमा अध्यक्ष भएका रवीन्द्र अधिकारीको देहान्त भइसक्यो), हिक्मत कार्की, रूपनारायण श्रेष्ठ (माले अखिल), राजेन्द्र राई, खिमलाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल, समिक बडालदेखि अहिलेका डा.सुजन कडरियासम्मलाई हेर्दा उनीहरू त्यो आन्दोलनको कुनै न कुनै मोर्चामा हावी छन् ।
यो पुस्ताको ‘रानो मौरी’ भने जस्ता हुन्, शंकर पोखरेल । अब कोअर्डिनेशनकालीन र २०३६ वरिपरिका नेता क्रमशः अभिभावकीय भूमिकामा जाँदैछन् । र, एमालेभित्र हुँदै गरेको स्वाभाविक पुस्तान्तरण शंकर पुस्ताबाट निर्माण हुँदैछ ।
उनीहरूमात्र हैन, शंकरसँग अध्यक्षको प्रतिस्पर्धा गरेका रविन कोइरालादेखि हिक्मतका प्रतिस्पर्धी बनेका विनोद ढकाल, खिमलालको पालामा अध्यक्ष बन्न नपाएका भक्त गुरुङ, ठाकुरसँग चुनाव लडेर हारेका यज्ञराज सुनुवार, रामकुमारीसँग हार्ने गोकुल घर्ती, माधव ढुंगेलसँग पराजित सोभियत ढकाल, किशोरविक्रमसँग पराजित लक्ष्मण लम्साल, नवीनासँग हार व्यहोरेका दीपक गौतम, समिकसँग जित्न नसकेका आरसी लामिछानेदेखि सबैसबै आन्दोलनको कुनै न कुनै मोर्चामा आज पनि उत्तिकै भूमिकासहित अग्रसर छन् । यीमध्ये राजेन्द्र, रामकुमारी र लक्ष्मण समाजवादीतिर छन् । दीपक आफूलाई समाजवादी भन्न नरुचाउने भइसकेका छन् ।
यो पुस्ताको ‘रानो मौरी’ भने जस्ता हुन्, शंकर पोखरेल । अब कोअर्डिनेशनकालीन र २०३६ वरिपरिका नेता क्रमशः अभिभावकीय भूमिकामा जाँदैछन् । र, एमालेभित्र हुँदै गरेको स्वाभाविक पुस्तान्तरण शंकर पुस्ताबाट निर्माण हुँदैछ ।
शंकरको राजनीतिक र मौलिकता
नेपाली राजनीतिमा मदन भण्डारी सँगसँगै एकजना तिख्खर वैचारिक, राजनीतिक र सांगठनिक नेताका रूपमा शंकर पोखरेलको उदय भयो । उनी पार्टी र संगठनको कामका सिलसिलामा भारत प्रवासको अभानेस्ववियु हुँदै अनेरास्ववियुको नेतृत्वमा स्थापित भए । १०औंमै अध्यक्ष बनाइने भनिँदा प्रवासबाट फर्किएकै नाममा विभेदमा परे, तर उनको उच्च वैचारिक, राजनीतिक क्षमताका अगाडि कसैको केही चलेन, आखिर शंकर अगाडि बढिरहे ।
कम्युनिष्ट पार्टीको एउटा नेता वा कार्यकर्ता वैचारिक पक्षमा कतिसम्म प्रतिबद्ध हुनसक्छ भन्ने कुराको नमुना उनी हुन् । मदनले अगाडि सारेको जनताको बहुदलीय जनवाद ठीक र बेठीक भन्ने बहस उत्कर्षमा पुग्दा शंकर नै यस्ता युवा थिए, जसले जबजको पक्षमा ‘जेहाद’ छेडे ।
त्यसबेलाको तरिका अहिले जस्तो थिएन । केही पार्टी निकट साप्ताहिक पत्रिकामा शंकरहरूलाई पढ्नुपर्थ्यो । र, सबैभन्दा बलियो माध्यम थियो, ‘विद्यार्थी आवाज’ । अनेरास्ववियुका केन्द्र, अञ्चलका त कुरै छाडौं, प्राक, सह-प्राक, सिफ्ट कमिटीसम्मका कार्यकर्ताले विद्यार्थी आवाजमा शंकरले लेखेका जबजका विशेषता कण्ठ पार्ने र आआफ्ना कमिटी र कार्यक्षेत्रमा त्यसलाई प्रस्तुत गर्नुपर्थ्यो ।
यो दुःखले जबज एमालेभित्र स्थापित गराए, शंकरहरूले ।
यस्तो राजनीति र त्यसभित्रको मौलिकता शंकर पोखरेलको पहिचान हो, विशेषता हो । राजनीतिमा सबै कुरा आफूलाई लागे जस्तो, बुझे जस्तो हुँदैन, तर त्यसो भन्दैमा फरक मत नै दिनुपर्छ भन्ने हुँदैन । अनुमोदित र स्वीकार्य विचार, विधि र कार्यक्रमको पक्षमा उभिनुपर्छ भन्नका लागि शंकर एउटा शिक्षा हुन् ।
मदनपछि निरन्तर केपी-विद्या पक्षधर
मदन भण्डारीको विरासतबाट विकास भएका शंकर त्यसपछि पनि निरन्तर केपी–विद्या कित्तामै उभिए । आजसम्म त्यसबाट विचलित छैनन् । उनी अखिल अध्यक्ष हुने कुरा मदनको रुचिभित्रको थियो, तर देशभरिका विद्यार्थीले रुचाउने नेता हुँदै पार्टी काममा तल्लीन भए ।
२०५१ को मध्यावधि निर्वाचनमा त दाङको बिजौरीमा उनलाई मार्न गोली नै चल्यो, जसलाई बिजौरी हत्याकाण्ड भनिन्छ । धन्न बाँचे र त्यही प्राणले एमाले राजनीतिमा निरन्तर केपी ओली, विद्या भण्डारीहरूको वैचारिक र राजनीतिक यात्रालाई यहाँसम्म ल्याई पुर्याएको हो ।
सातौँ महाधिवेशन (जनकपुर) मा उनले राज्य पुनर्संरचना र संविधानसभाको पक्षमा खुलेरै धारणा राखे । एमालेमा त्यसबेला संविधानसभाको औपचारिक दस्तावेज पेश गरिनु चानचुने कुरा थिएन । आखिर ५ वर्ष नपुग्दै एमाले शंकरको लाइनमा गएको थियो ।
त्यसैले आज कुन तालमा खैँजडी बज्यो भन्दैमा केपी-विद्या भिड्लान् र एमाले दुब्लाउला भन्नुपर्दैन । किनभने त्यहाँ ईश्वर, शंकर पोखरेल, प्रदीप ज्ञवालीदेखि अनेक-अनेक प्रतिभा छन्, जसले एमालेलाई यहाँसम्म ल्याई पुर्याए ।
उनीहरूमध्ये शंकर पोखरेल आन्दोलनको मूल भँगालो छाड्नेमा पर्दैनन्, बरु कहिलेकाहीँ माधव नेपाल, झलनाथ खनालहरूको सत्ता शक्तिका बेला किनारामा फालिएर पनि हिलो पुछ्दै उठेका हुन् ।
वैचारिक स्पष्टताको नाम
सशस्त्र द्वन्द्वकालमा माओवादीसँग ‘वैचारिक मुकाबिला, राजनीतिक समाधान’ भन्ने हिम्मत शंकरले गरेका थिए । नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवेशनमा उनले यस्तो धारणा अगाडि सारेका थिए ।
त्यसबापत माधव नेपाल नेतृत्वको पार्टीभित्र उनले कति दुःख पाए, सायद उनले कुनै दिन, कुनै सन्दर्भमा भन्लान् । देखिने गरी दिइएको दुःख थियो, शंकरको बेग रोक्न राप्तिको इञ्चार्जबाट ‘कू’ गरिनु । माधवले उनको विकल्पमा प्रकाश ज्वालालाई अगाडि बढाए ।
सातौँ महाधिवेशन (जनकपुर) मा उनले राज्य पुनर्संरचना र संविधानसभाको पक्षमा खुलेरै धारणा राखे । एमालेमा त्यसबेला संविधानसभाको औपचारिक दस्तावेज पेश गरिनु चानचुने कुरा थिएन । आखिर ५ वर्ष नपुग्दै एमाले शंकरको लाइनमा गएको थियो ।
त्यो महाधिवेशनमा केपी शर्मा ओलीले अघि सारेको पार्टीको लोकतान्त्रीकरणको प्रस्ताव अस्वीकृत भए पनि आठौंमा पारित भए जस्तै शंकरले अघि सारेको संविधानसभाको मुद्दा पनि पार्टीले ग्रहण गर्नुपरेको थियो ।
राजनीतिलाई ‘राजनीतिक न्याय’ को आँखाले हेर्नसक्नु शंकरको अर्को क्षमता हो । त्यसबापत बेलाबेलामा दुःख पाउनुपरे पनि उनी विवेक र चेतनालाई बन्धक राख्दैनन्, तर विवेकलाई बन्धक नराख्ने शर्तमा नेतृत्वका कमीकमजोरीलाई सच्याउन भूमिका खेल्छन्, त्यो राजनीतिक इमानदारिता हो । नेतृत्वको रक्षा गर्दा उनी आन्तरिक र बाह्य प्रहारको धेरै पटक निशानामा परेका छन् ।
निष्कलंक व्यक्तित्व
राजनीतिमा आर्थिक र चारित्रिक पाटोमा जोगिएर हिँड्नु सामान्य निष्ठाको विषय होइन । अझ कम्युनिष्ट आन्दोलनमा धेरै सम्भावना बोकेका नेताहरू यी दुई विवादले समाप्तसमेत भएका छन् ।
राजनीतिक र वैचारिक नेता हुँदाहुँदै पनि कतिपय नेता ‘अन्य’ कारणले बदनाम छन् । त्यो पुस्तामा थोरैमध्येका शंकर नै एक हुन्, जसलाई भन्न ‘अन्य’ कारण भेटिँदैन । प्रायः युवा वा त्यो छिमलका नेतामा दलाली, घुसखोरी, खानपान र मनोरञ्जनका विषय आउने गरेका छन् । शंकरका हकमा खोज्दा पनि नभेटिने पाटो हो त्यो ।
आज महासचिवको रूपमा काम गर्दा अवसरको वितरण र कतिपय कमिटीहरूमा नेतृत्व प्रस्ताव गर्दा र मूल नेतृत्वको भावना बुझेर काम गर्दा शंकरसँग पार्टीका कतिपय नेता कार्यकर्ता असन्तुष्ट होलान् । नेता र कार्यकर्ता दुवैलाई मिलाएर, मनाएर काखापाखा नगरी सबैलाई न्याय गर्ने जिम्मेवारीमा उनी फराकिलो बन्नैपर्छ ।
यो निष्कलंक छविसँग विचार, सिद्धान्त र पक्षधरतामा उनको इमानदार अनुयायी हुने क्षमता अरु पार्टीका नेता-कार्यकर्ताले पनि सिक्नुपर्ने कुरा हो । एक पटक मुख्यमन्त्री र एक पटक मन्त्री बनेका पोखरेल राजकीय कामका सन्दर्भमा कहिल्यै विवादमा वा आर्थिक अपचलनको कुरामा विवादमा आएनन् । यो उनको महत्वपूर्ण एसेट्स हो । राजनीतिक रूपमा लाग्ने गुटगत आरोप त कार्यकारी पदमा रहेपछि नेताहरूले भोग्नैपर्छ ।
कामबाट प्रमाणित
जिम्मेवारी र भूमिका लिन र दिन चाकडी र चाप्लुसी अहिलेको राजनीति यसबाट बदनाम छ । शंकरले न लिन, न त दिन त्यो पाटो अवलम्बन गरे । आज पनि गरिरहेका छैनन् ।
महासचिव भएयता एउटा व्यवस्थित पार्टी निर्माणमा उनको मेहनत उल्लेख्य छ । त्यसमा प्रदीप ज्ञवालीहरूको ‘माइक्रो म्यानेजमेन्ट’ले पनि काम गरेको छ । नेकपा भएपछि एमाले भद्रगोलमात्रै भएन । झण्डैझण्डै ‘कोल्याप्स’ हुँदै थियो । नाम त एकताका नाममा गयो–गयो, चुनाव चिह्न र सिंगो एमाले विरासत अपहरित हुँदै थियो ।
पार्टीकै एउटा समूह त्यसका निम्ति प्रचण्डको पिछलग्गु बनिरहेको थियो । त्यसबाट बचाएर एमालेलाई दुरुस्त कसैले बनायो भने त्यसको अगुवाइ शंकर, प्रदीप, पृथ्वीसुब्बा, विष्णु रिमालहरूबाटै भएको छ ।
एमालेमा नीति र नेतृत्वको विवाद अहिले छैन । केपी ओलीले नेतृत्व हस्तान्तरण गर्छु भन्दा वा आफैं एक पटक नेतृत्व गर्छु भन्दा ठूलो विमति सायदै नहोला ! आज महासचिवको रूपमा काम गर्दा अवसरको वितरण र कतिपय कमिटीहरूमा नेतृत्व प्रस्ताव गर्दा र मूल नेतृत्वको भावना बुझेर काम गर्दा शंकरसँग पार्टीका कतिपय नेता कार्यकर्ता असन्तुष्ट होलान् । नेता र कार्यकर्ता दुवैलाई मिलाएर, मनाएर काखापाखा नगरी सबैलाई न्याय गर्ने जिम्मेवारीमा उनी फराकिलो बन्नैपर्छ ।
तर आजसम्म शंकरको पार्टीभित्र आलोचना हुन्छ भने अधिवेशनहरूमा नेतृत्व चयनबाट असन्तुष्टबाट भइरहेको छ । उनीहरूलाई पनि चित्त बुझाउँदै शंकरले जनताको बहुदलीय जनवादलाई पार्टीको आन्तरिक जीवनमा कार्यान्वयन गर्न कति सक्छन् ? अहिले उनको परीक्षणको समय पनि हो ।
यति चाहिँ भन्न सकिन्छ, आजसम्म नीति र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिएका शंकर पोखरेल पार्टीको नेतृत्वको नजिक छन् । केपी ओलीलाई पार्टी नेतृत्वमा स्थापित गर्न विद्या र शंकरले जसरी भूमिका खेले, अब यी तीन फरक किनारामा देखिऊन् भन्ने चाहना पूरा हुन नदिनेगरी समझदारीमा आऊन् ।
यसकारण एमालेले आज पनि शंकर पुस्ता माग्दैछ, मदनको विरासत माग्दैछ ।

Leave a Reply