काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केहीबेरमा सुरू हुँदैछ । सानेपास्थित मुख्यालयमा सभापति शेरबहादुर देउवादेखि केन्द्रीय सदस्यहरू आउने क्रम सुरू भएको छ ।
तर, पार्टीको भ्रातृ संगठन नेविसंघ र नेपाल लोकतान्त्रिक महिला संघलगायतका नेता कार्यकर्ताले महाधिवेशन माग्दै नाराबाजी गरिरहेका छन् । तरुण दलको पनि तदर्थ समिति भंग गर्न माग गर्दै रिले हिजोदेखि केन्द्रीय सदस्यहरू आमरण अनसनमा छन् ।
उनीहरूले तदर्थ समिति भंग गर्न माग गरिरहेका छन् । तर, कांग्रेसले भने एक पटक सङ्गठनको महाधिवेशन गर्न दिनको लागि अवधि थप्ने तयारी गरेको छ ।

कालो कपडाले शरीर र मुख छोपेका विद्यार्थी नेताले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ? म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ, म पार्टीले बन्धक बनाएको नेविसंघ’ जस्ता प्लेकार्ड बोकेका छन् ।
मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेतृत्वलाई पदमुक्त गरी विधानबमोजिम नयाँ कार्यसमिति गठन गर्न भ्रातृ संगठनका नेता-कार्यकर्तको माग छ ।
कांग्रेसका नेविसंघ, तरुण दल, महिला सङ्घ, किसान सङ्घ, दलित सङ्घ लगायतका भ्रातृ संस्थाहरू महाधिवेशन गर्न नसकेर तदर्थ समितिमा सञ्चालित छन् । सङ्घका नेतृत्वले अब पनि महाधिवेशन गर्न नसक्ने भन्दै असन्तुष्ट पक्षहरूले तदर्थ समिति भंग गर्न माग राखेका छन् ।
केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति र संघठन सुदृढीकरण, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

तस्बिरहरू : उमेश कार्की ।

Leave a Reply