मधेश प्रदेशको बजेटप्रति रुष्ट जनमतको बैठकमा सरकारबारे के भयो छलफल ?

काठमाडौं । मधेस प्रदेश सरकारले ल्याएको बजेटप्रति रुष्ट बनेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीको बैठक संघदेखि प्रदेशसम्मका सरकारबारे छलफल भएको छ।

मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार छ। तर, अर्थमन्त्री सुनिलकुमार यादवले मुख्यमन्त्रीलाई नै बाइपास गरेर बजेट ल्याएपछि जनमत चिढिएको छ।

हिजो बसेको सचिवालय बैठकमा पार्टीको आन्तरिक गतिविधिदेखि पछिल्ला विकसित घटनाक्रमबारे छलफल भएको प्रवक्ता डा. शरद यादवले बताए। समग्र राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल चलेपछि अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको उनले बताए।

उनले भने, ‘मधेशको बजेटबारे पनि बोल्ने क्रममा नेताहरूले आ-आफ्नो धारणा राख्नुभएको छ। छलफलको क्रममा रहेकाले हामी अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ।’

अर्का एक नेताका अनुसार आफ्नै नेतृत्वको सरकार हुँदा समेत बाइपास गरेर बजेट ल्याइएकाले सरकार छाड्नुपर्ने सम्मको कुरा नेताहरूले उठाएका छन्। अध्यक्ष सिके राउतले पनि मुख्यमन्त्री दिएको छ भन्दैमा जे गरे पनि सही राख्नुपर्ने भन्दै यसअघि नै प्रश्न गरेका थिए।

तर, प्रवक्ता यादवले भने अहिले नै प्रदेश सरकार छाड्ने र संघमा समर्थन फिर्ता लिने गरी पार्टी अघि नबढेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *