काठमाडौं । विक्रम संवत् १९९७ मा नेपालको पहिलो दल नेपाल प्रजा परिषद्का नेता कार्यकर्ताहरुलाई राणा सरकार खासगरी जुद्ध शमशेरले थुने । हतकडी र नेल लगाए । चार जनाको त क्रूर हत्या गरे ।
अहिले नेपालको प्रजातान्त्रिक आन्दोलनका चार सहिदहरू जुद्धकै सत्ताले फाँसी दिएका र गोली हानेका प्रजातान्त्रिक अनुहारहरू थिए ।
धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई फाँसी दिइएको थियो भने दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली ठोकिएको थियो । तीनै चार सहिदहरूकै लटमा पक्राउ परेका एक अनुहार थिए कवि सिद्धिचरण श्रेष्ठ ।
राजा त्रिभुवनसँग राम्रो हिमचिम भएता पनि श्रेष्ठको लेखन र प्रजातान्त्रिक मुद्दाको लगनको कारणले उनी पक्राउ परे । पक्राउ परेको मिति थियो १९९७ कार्तिक २ गते । उक्त दिनको पक्राउ त सामान्य नै हो । तर पक्राउ गरिएकाहरूलाई नेल लगाउने राणाका कर्मचारीहरूले आफूले गरेको काम ठिक हो भन्नै चैँ मान्दैनथे ।
नमानेरै उनीहरूले भगवानसँग पुकारा गर्थे जुन कुरा हालसालै बजारमा बुक हिलबाट सरुभक्तको सम्पादनमा आएको ‘सिद्धिचरणको जेल संस्मरण’ नामक पुस्तकमा रोचक तरिकाले उल्लेख गरिएको छ ।
पाँच वर्ष जेल बसेका श्रेष्ठले जेल ठोक्ने राणाको कारिन्दाको मनोदशा देखाउँदै भनेका छन्, ‘मलाई नेल ठोक्दा नेल ठोक्नेले आफ्नो हातमा लिएको घनलाई ढोग दिए । त्यसरी ढोग दिनुको कारण केहि थाहा छैन । मैले पेटको निम्ति जागिर खाएको हो । मैले मालिकहरूको आदेश मान्नुपर्छ । मलाई केहि पाप नलागोस् भनेका होलान् भन्ने मैले सोचेँ ।’

Leave a Reply