दाङ । लुम्बिनी प्रदेश सरकारले शहरी विकासमन्त्री सरोज थापा (रोज राणा) को निजी प्लटिङमा जाने बाटोमा कालोपत्रे गर्ने एक करोड रुपैयाँ बजेट गरेको आरोप अहिले चर्चामा छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटास्थित नयाँबस्तीमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्षको बजेटमा शिवराज ५ नयाँबस्तीस्थित मनकुमारी थापा र नारायण पौडेलको घर बीचबाट जाने सडक कालोपत्रे शीर्षकमा एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेट छुट्याइएको क्षेत्रमा १० कट्ठा १० धुर क्षेत्रफल जग्गा मन्त्री थापाको नाममा रहेको कांग्रेसका स्थानीय नेताहरूबाटै चुहिएपछि यो सडकको बजेट विनियोजन विवाद र चर्चामा परेको हो । यद्यपि सोही वस्तिमा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, जग्गा व्यवसायी मोहन केसी र जीवलाल पौडेललगायतको पनि जग्गा छ ।
चन्द्रौटा मालपोत कार्यालय स्रोतका अनुसार साविक भगवापुर ८ ख कित्ता नम्बर ३७५१ मा रहेको १० कठ्ठा १० धुर क्षेत्रफल र कित्ता नम्बर ३७४८ को १ कट्ठा ११ धुर जग्गा मन्त्रीको नाममा छ । मन्त्रीको जग्गा भएकै कारण सो क्षेत्रको विकास रोक्न नमिल्ने तर्क स्थानीयको छ ।
स्थानीयका अनुसार त्यो जग्गामा १ वर्षअघि कच्ची ट्रयाक खोलिएको थियो । सहरी विकास मन्त्री थापा र भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले सल्लाहमै सो बाटोका लागि एक करोड बजेट हालेको एक मन्त्रीले जानकारी दिए । त्यसबापत थापाले पनि ढकालले भनेको ठाउँमा आफ्नो मन्त्रालयको बजेट हालेको आरोप उनको छ ।
के भन्छन् मन्त्रीहरू र वडाध्यक्ष ?
लुम्बिनीका सहरी विकास मन्त्री थापाले भने आफूमाथि राजनीतिक आक्रमणको सिलसिलाकै रूपमा नयाँ बस्तीको सडकमा हालिएको बजेट चर्चा रहेको प्रतिक्रिया दिए । उनले भौतिक पूर्वाधारले हालेको बजेटसँग आफूलाई जोड्नु राजनीतिकरण मात्र भएको बताए ।
मन्त्री थापाले भने- त्यो सडक २०७० मा केन्द्रीय सडक विभागले बजेट राखेर अघि बढाएको रहेछ । अघिल्लो वर्ष भौतिक पूर्वाधारबाट २० लाख हालेर काम भएकोले त्यसैलाई निरन्तरता दिएको भन्ने मैले बुझेको छ । त्यहाँ नयाँ बस्ती भएकाले घरहरू बनिरहेका छन् र पहाडबाट मान्छेहरू झरेर वस्ति बढिरहेको छ । जनता जहाँ छन् विकास पनि त त्यहीँ गर्ने होला नि ।
उता भौतिक पूर्वाधार मन्त्री ढकालले शहरी विकास मन्त्री थापाले लेटरप्याडमा लेखेर माग गरेको ठाउँमा बजेट हालिएको प्रतिक्रिया दिए ।
ढकालले भने- मन्त्रीज्यूले लेटरप्याड लेखेरै माग गरेपछि बजेट दिइएको हो । ठाउँ कस्तो छ ? कसको हो भनेर हेर्ने कुरा भएन ।
बजेट परेको नयाँ बस्ती समेत समेटिएका वडा नम्बर ५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासेले जग्गा विकास भइरहेको सो क्षेत्रमा बजेट हालिएको चर्चा आफूले पनि सुनेको बताए । तर नगर परिषदमा व्यस्त भएकाले वास्तविकता बुझ्न नपाएको उनको भनाइ छ ।
बेल्बासेले भने- यसअघि पनि त्यहाँ बजेट परेको भन्ने छ,मन्त्रीजीले पनि त्यही भन्नुभएको हो तर नगरपालिकाले नगरेको हुनाले थाहा भएन । जहाँसम्म त्यहाँ वस्ति चाहिँ छैन,नयाँ विकास भइरहेको ठाउँ भएकाले उहाँहरूले के कसरी हाल्नुभयो मैले जान्ने कुरा भएन ।

Leave a Reply