यो देश अलौकिक छ
तर, प्राय नेता लौकिक भए ।।
यो देश अभूतपूर्व छ
तर, केही नेता भूत भए ।।
यो देश अद्वितीय छ
तर , नेता किन द्वितीय भए ?
यो कविता हैन । देश डुल्दा मलाई भएको अनुभूति हो । प्रकृतिले कति खन्याउन सकेको यो देशलाई । जहाँ जाउँ त्यहीँ रमाइलो छ । अनौठौ छ, अप्रत्याशित छ, आश्चर्यचकित छ देश । यस्तो लाग्दछ यो देश साँच्चै सुन्दर देश हो । यो देश अभूतपूर्व देश हो ।
विश्वकै गहिरो अन्धगल्छी यहीँ छ । अनि सर्वोच्च शिखर सगरमाथा यहीँ छ । हिमाल, हिमनदी र कलकल बग्ने नदीहरू यहीँ छ । चरा, पुतली फूलफल यहीँ छ । स्याउ र आँप एकै ठाउँमा फल्छ । लिची र लप्सी एकै ठाउँमा फल्छ । जहाँ जाउँ सुस्वादितम् लाग्दछ देश ।
हाम्रो भूगोलमा पहाड बढी छ । पहाडका वन , झरनाले हामीलाई हरेक समय अनौठौ अनुभव दिलाउँछन् । जहाँ जाउँ देशभर प्राकृतिको सुरिलो संगीत बजिरहेको हुन्छ ।
भारतीय अभिनेता गोविन्दाले एकपल्ट भनेका थिए “मलाई नेपाल एकदम मन पर्दछ, काठमाडौं एकदम मन पर्दछ कारण अलिकति यता उता लाग्ने बित्तिकै पहाड भेटिन्छ र सुन्दर हावापानी भेटिन्छ ।”
हो पनि, काठमाडौंबाट अलिकति पर पशुपतिनाथको दोस्राे रूप मानिने दुप्चेश्वर पुग्दा आहा ! क्या रमाइलो लाग्यो । काठमाडौंमा जन्मेको म र नुवाकोटमा जन्मेका दुप्चेश्वरबीच भेट भएको थिएन । श्रीमती सिर्जनाले जेठ ३ गतेको शनिबार दुप्चेश्वर जाउँ भनेपछि नाम नै अनौठो लागेको नाम सुनिरहेको ठाउँ जाउँ न त भन्ने लाग्यो ।
टोखा छहरे बाटोले नुवाकोटलाई नगिचै ल्याएको छ । बिहानको समय बाटो खाली नै थियो । सुरूरु परिवारै आफ्नै गाडीमा जाँदा एकैछिनमा गुर्जे भन्ज्याङ् कटिहाल्यो । गुर्जेपछिको जंगल मज्जा लाग्दछ मलाई । चारै झ्याल खोलेर आनन्दले सिरसिर हावा खाँदै रमाउँदै उक्लेको बाटो ओर्लिरहँदा आइहाल्यो छहरे, चौघडा, खरानीटार समुन्द्रटार र दुप्चेश्वर । जम्माजम्मी ६२ किमी बाटो त रहेछ । कोही भक्तिले, कोही प्रकृतिले, कोही पर्यटनका लागि, कोही अध्यात्मले जाने त्यो ठाउँमा म रमाउन पुगेको थिएँ ।
मागेको पाउने आँटेको पुग्ने विश्वास छ दुप्चेश्वरको । पौराणिक कथन हरेक मन्दिरमा छ । यहाँ पनि छ । कुरा के रहेछ भने पाँच सय वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई हरायो । खोजी गर्दै जाँदा दूध चढाएर बसेको गाई ढुङ्गाको ककारोमा भेटियो । अनि थालियो दुप्चेश्वर महादेव भनी विश्वासस्वरूप पूजा गर्न ।
त्यहाँका पुजारी धादिङका रिजालहरू हुनुहुँदो रहेछ । समुन्द्र मन्थनपछि महादेव छटपटिँदै पशुपतिनाथ हुँदै दुप्चेश्वर बास बसी रसुवाको गोसाइकुण्ड गएको उहाँले बताउनुभयो । पुजारी भन्दै हुनुहुन्थ्यो “गोसाइकुण्ड गएर जल यहाँ ल्याएर चढाउनुस् मागेको चिताएको पुगेन भने मलाई भन्नुस् ।”
पर्याप्त पर्यटकीय सम्भावना देखिन्छ यहाँ । आन्तरिक र बाह्य पर्यटन बढाउन यहाँको ढुङ्गामा अनेक किंवदन्ती कथा लेख्न सकिन्छ । शिवको महिमा लेख्न सकिन्छ । तल तादी खोला बगिरहेको छ । माथि शिवजीले हेरिरहेको छ । शिवजी हेर्न जानेले पनि हेरिरहेका छन् तादी । कस्तो मीठो महक दुप्चेश्वरको ।
बहुत रमणीय छ । मलाई त ढुङ्गाको राजधानी झैँ लाग्यो । कत्रा कत्रा ढुङ्गा हुन् ती ! यसो हल्लियो भने अहिल्यै पल्टिएला झैँ लाग्ने । यत्रा भूकम्पहरू आए ती ढुङ्गाहरू किन नहल्लिएको होला ! अनि त्यति माथि रुख कसरी बढे होलान माटो नभएको ठाउँमा । अचम्म हो, अचम्म लाग्यो दुप्चेश्वर । तादीबाट २५० मिटर माथि अर्धवृत्ताकार शिवलिंग छ ढुङ्गाकै ।
५०० वर्षमा उत्पात भूकम्पहरू आए, गए । यहाँको डरलाग्दा ककारालाई केही असर परेन् । हलचल गरेनन् यी ढुङ्गाहरू । प्रकृतिको अदभूत् शक्ति यहीँ देँखे मैले । अर्को रहेछ ढाड दुखेको निको पार्ने ढुङ्गा ।

ककारोबाट केहीबेर कुप्रेर हिँडेपछि बाहिर निक्लने ढुङ्गा रहेछ । धर्ममा विज्ञान पनि हुन्छ, औषधी पनि हुन्छ । बेस्कन ढाड दुखेको मान्छे बेस्कन कुप्रेर ढुङ्गाको ककारो छिर्दा सायद व्यायाम भएर शरीर ठीक भएर यो किंवदन्ती बसेको होला झैँ लाग्यो ।
हामी दुवैजना छिर्यौं । त्यहाँ लेखिएको पनि रहेछ । किंवदन्तीअनुसार ढाड कम्मर दुखेको निको हुने बाटो । हाम्रो हरेक ढुङ्गाको यस्तो किंवदन्ती कथा कति होलान झैँ लाग्यो । निको नभएको भए किन पो लेख्दथे होला र भन्ने पनि लाग्यो । एक छिन त पूरै कुप्रिएर छिरियो ।
धेरै मान्छे दुःख बिसाउन दुप्चेश्वर पुग्छन् । सन्तान नहुनेहरूको सन्तान हुन्छन् भनेर वर माग्ने भनेर । मलाई यस्तो भन्दा पनि कर्ममै बढी विश्वास लाग्दछ । कर्मको शक्तिले भगवानलाई पनि हराउने कथा मलाई मन पर्दछ । कर्मभन्दा ठूलो योग केही छैन भन्ने लाग्दछ । उत्साह उमंग जोश जाँगर र जिज्ञासा थियो दुप्चेश्वरको । त्यहाँ पुग्दा थाहा पाएँ दुप्चेश्वर महादेव ककारोको राजा रहेछन् र राजधानी रहेछ ती विशाल ढुङ्गाहरू । तलैबाट सिँढीहरूले मन्दिर आउनुस् भने झैँ लाग्दछ । अलिक माथि गएपछि डन्डी समातेर हिँड्दै माथिसम्म पुगिन्छ ।
शिवलिंग पनि अद्भूत् लाग्यो । एकछिन हेरिरहेँ । ककारोको शिवलाई हेर्दै मनमनै अचम्मै छ यो देशमा भन्ने लाग्यो । अनि सम्झे हलेँसी । हलेँसीमा शिव तल सिँढी ओर्लेर गएपछि भेटिन्छ । त्यहाँ तल बसेछन् । यहाँ सिँढी पूरै उक्लेर जानु पर्दछ । यहाँ माथि बसेछन् झैँ लाग्यो ।
२०-५० जना अटाउने लामो चोसो परेको अचम्मको शिवको लिंगको आकारको शिव शिलामा त्रिकुटीबाट जल खसिरहेको रहेछ । मान्छेहरूले त्यहीँ दूध, त्रिशूल चढाएका छन् । ध्वजा, अबिर, केसरी, डोराहरू चढाएका छन् । त्यही हुनुहुँदो रहेछ सुप्रसिद्ध दुप्चेश्वर । पुजारीलाई टीका लगाएर पैसा दिएका छन् । त्यहाँ पुग्दा मन नै अर्कै भयो । कता-कता सनातन हिन्दू धर्मावलम्बी रगत सलबलाएर आनन्द आयो ।
जाने एक बाटो र फर्केर आउने अर्कै बाटो रहेछ । फर्कँदा किताब पढेर बसेका लामा रहेछन् । अझ तल आउँदा देखे स-साना बच्चाहरू निहुरो बेच्न बसेका । निहुरो बेचेर कपी किन्ने भन्दा रहेछन् बच्चाहरू । भन्छन् “पैले पैसा दिनुस् ।” समयले बाठो बनाएका बच्चाहरू ६ वर्ष, ३ वर्ष र ५ बर्षका रहेछन् । शहरमा १२ वर्षको बच्चालाई स्कुल पुर्याउन जानु पर्दछ । उनीहरू आफैँ पढ्ने खर्च पुर्याउँछन् । कति मज्जा !
मंसिरको धान्य पूर्णिमामा भव्य मेला लाग्ने रहेछ । दुप्चेश्वर गाउँ पालिका-६ मा पर्ने यो ठाउँमा धादिङ, नुवाकोट , रसुवा ,सिन्धुपाल्चोक, गोर्खा चितवनदेखि यो समयमा आउने रहेछन् । मंसिरको धान्य पूर्णिमाका पाँच दिन यहाँ भिडमभिड हुने रहेछ । पूर्णिमाको उज्यालोसँगै यो मेला बिदा हुने रहेछ ।
दुप्चेश्वर प्रख्यात भएकै कारण दुप्चेश्वरको नाममा गाउँपालिका बनेछ । कति खाजा घर, खानाघर, स्कुलहरू बन्ने होलान् । एक नाम प्रख्यात भएपछि त्यही नाममा अरु नामहरू बन्दछन् । नाम भन्ने चिज नै यस्तै छ । इन्दिरा गान्धी प्रख्यात भएपछि धेरै केटीहरू इन्दिरा बने ।
बेलायतमा एलिजाबेथ रानी बनेपछि धेरै एलिजाहरू जन्मिए । पाथीभारा जाँदा धेरै पाथीभारा माताभन्दा धेरै पाथीभारा देँखे । गोसाइकुण्ड जाँदा एक गोसाइकुण्ड भन्दा धेरै गोसाइकुण्ड भेटेँ । लाङटाङ जाँदा त्यस्तै । जाँहा जाउँ त्यस्तै छन् नामहरू । राम्रो नाम टपक्क टिपिहाल्छ मान्छेले ।
शिवको दर्शन गरेर तल ओर्लेपछि ढुंङ्गामा फोटो खिचियो । टिकटक बनाइयो । भजन चलिरहेको रहेछ । सक्ने सेवा गरियो । एक घन्टामै तादीको किनारमा पिकनिक खानेहरू प्रशस्त बढ्दै गएछन् । त्यो दिन पनि नौ बजेपछि त भिडमभिड गाडीको ताँतीहरू आउन थाले । मैले राखेको पार्किङबाट गाडी निकाल्न एक घन्टाजस्तै लाग्यो ।
स्थानीयहरूको लागि पर्यटक बढेपछि बिस्तारै होटल खुल्दै छन् यहाँ । कोटबारी नामको ठूलो होटल बन्दै गरेको बाटोमा देखियो । स्थानीय प्रदीप उप्रेती भन्दै थिए “हामी त मोटरसाइकलमा पठाओ गर्दछौं, एकजनाको खरानीटारबाट यहाँ ल्याएको एक हजार लिन्छौं ।”

फर्कँदा खरानीटारमा खाना खाइयो । लिचीको कोपिला टन्नै लाग्दै रहेछ । आँपको फूलहरू प्रशस्त फुल्दै थिए । हरियाली थियो डाँडाहरू । मान्छेहरू प्रसन्न भएर दुप्चेश्वर जानेहरू बढ्दै थिए । हामी बसहरू आउनु अगाडि नै गएकोले आधा घन्टामा दर्शन गरेर फर्कियौं ।
फर्कँदा लाग्यो- हरेक यात्रामा जुन बाटो गयो त्यही बाटो फर्कनु पर्दछ । फर्कन्छौ । जाँदा टाढा लागेको कुरा फर्कँदा चाँडो हुन्छ । जीवन र प्रकृतिमा एकै कुरा लागू हुन्छ भन्ने लाग्दै मैले एकपल्ट जीवनलाई सम्झेँ । प्राकृतिक तवरले प्रकृतिमा आएको मान्छे पनि जसरी प्रकृतिबाट पञ्चतत्व लिएर आयो उसैगरी प्रकृतिमा फर्कन्छ ।
जीवन नै एक यात्रा त हो भनेर यसैले भनेको होला । एक यात्रापछि अर्को यात्रामा तन्मय हुन्छ मन । जीवन जीवनको यात्राबाट फर्केपछि अर्को यात्रामा तन्मय हुन्छ होला त ? सम्झेँ, सुनेको कुरा शरीरले नयाँ चोला लिन्छ भन्ने । त्यो थाहा नभएको कुरामा धेरै गहिरिन मन लागेन ।
जे होस् दुप्चेश्वर यात्राले पनि ढुंगामा कला हेर्ने कला सिकायो । ५ सय वर्षदेखि गएका ती सम्पूर्ण मान्छेलाई प्रेमपूर्वक सम्झँदै नमस्कार गरेँ । जे होस् दुप्चेश्वर यात्राले प्रकृति र जीवनलाई हेर्न अझै गहिरायो । यति नजिकै यस्तो राम्रो ठाउँ किन नगएको होला भन्ने लाग्यो । पछि आफैँले आफैँलाई बुझाएँ । हरेक कुराको समय आउँछ । शक्तिशाली समय कुर्नै पर्दछ ।

Leave a Reply