लमजुङदेखि युरोपसम्म तहल्का पिटेकी साम्बाको कप्तानी डेब्यु शानदार

काठमाडौं। युरोपेली फुटबलको अनुभव संगालेकी सावित्रा भण्डारी ‘साम्बा’ नेपाल राष्ट्रिय महिला फुटबल टोलीको ११औं कप्तान बनेकी छन् । उनलाई नेपालको १०० औं अन्तर्राष्ट्रिय खेलबाट मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कप्तानको जिम्मेवारी प्रदान गरेका हुन् ।

सन् २०१९ देखि नेपाली टोलीको कप्तानी गर्दै आएकी एञ्जिला तुम्बाप्पो सुब्बालाई विश्राम दिँदै मुख्य प्रशिक्षक प्याट्रिकले साम्बालाई नयाँ कप्तानको जिम्मेवारी थपिदिएका हुन् । साम्बाले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध कप्तानको रुपमा डेब्यु गरिन् ।

डेब्यु नै उनको शानदार रह्यो । नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गर्दा साम्बा एक्लैले ५ गोल गरिन् । सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट डेब्यु गरेकी सावित्रा त्यसयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने महिला फुटबलरसमेत हुन् ।

उनलाई ‘गोल मेसिन’ को उपमासमेत दिने गरिन्छ । नेपालमा मात्रै नभई दक्षिण एसियामै उत्कृष्ट खेलाडीको रुपमा परिचित साम्बाले युरोपियन लिगसमेत खेल्दै आएकी छन् ।

उक्त लिगमा पनि साम्बाको प्रदर्शन उत्कृष्ट छ । उनी सुरुमा इजरायलको हापोयल रानानाबाट युरोपियन लिग खेलेकी थिइन् । अहिले उनी फ्रान्सको महिला फुटबल क्लब एना भान गुइनगाम्पमा आवद्ध छिन् । साम्बा युरोपियन लिग खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् ।

युरोपेली फुटबलको अनुभव संगालेकी साम्बालाई मुख्य प्रशिक्षक प्याट्रिकले विश्वास गरेर कप्तानको आर्मब्यान्ड लगाइदिए । प्रशिक्षकको विश्वासलाई साम्बाले पहिलो खेलमै टुट्न दिइनन् ।

घलेगाउँको प्रतियोगिताले दिएको ‘टर्निङ प्वाइन्ट’

सानैदेखि खेलकुदमा रुचि भएकी साम्बाका लागि २०७१ सालमा लमजुङकै घले गाउँमा भएको फुटबल प्रतियोगिता टर्निङ प्वाइन्ट बन्यो । उनले उक्त प्रतियोगितामा सर्वाधिक ९ गोल गर्दै सबैको आँखामा पर्न सफल भइन् ।

उक्त प्रतियोगिता हेर्न पुगेका राष्ट्रिय रेफ्रि शुक्र लामा उनको खेल देखेर एकदमै खुसी भए । त्यसपछि उनैले साम्बालाई सशस्त्र प्रहरी बल (एपीएफ) मा जोडिने मौका मिलाइदिए । त्यसको केही समयपछि उनी एपिएफमा आवद्ध भइन् । काठमाडौं आएर एपिएफमा प्रशिक्षण सुरु गरेपछि साम्बालाई पछि फर्केर हेर्नुपरेन ।

एपिएफमा प्रशिक्षण थालेको ३ महिना मै उनले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाइन् । त्यसपछि झन् उनको चर्चा चुलिँदै गयो । भारतीय महिला लिगमासमेत शानदार प्रदर्शन गरेकी साम्बा युरोपियन लिग हुँदै राष्ट्रिय टोलीको कप्तानसम्म आइपुगेकी छन् । उनको नाममा धेरै किर्तिमान कायम भएका छन् । उनको सम्मानार्थ लमजुङमा साम्बाचोक नामकरण गरी साम्बा स्तम्भ निर्माणसमेत गरिएको छ ।

Comments

One response to “लमजुङदेखि युरोपसम्म तहल्का पिटेकी साम्बाको कप्तानी डेब्यु शानदार”

  1. bipin Avatar
    bipin

    talent has no boundaries …keep going

Leave a Reply

Your email address will not be published. Required fields are marked *