काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै रहने व्यवस्था गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी बोर्डले स्वास्थ्य बीमामा नयाँ नियम ल्याएको हो ।
बोर्डले आज सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सार्वजनिक सूचना जारी गर्दै अब प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै रहने जानकारी गराएको हो।
स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन)को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन)को नियम २ को खण्ड (छ)ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने प्रावधानलाई आउँदो साउन १ देखि कार्यान्वयन गर्ने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमामा नयाँ नियम लागू भएसँगै अबदेखि पहिलेजस्तै सीधै निजि वा सामुदायिक अस्पतालमा गएर सेवा लिन सकिँदैन ।
पहिले प्रथम सेवा विन्दु मानिएका निजि र सामुदायिक अस्पतालहरूबाट त्यो मान्यता हटाइएको छ। अब साउन १ गतेदेखि सरकारी अस्पतालमा गएर सेवा लिनुपर्नेछ, र त्यहाँ उपलब्ध नहुने सेवाका लागि मात्रै रेफर लिएर निजि वा सामुदायिक अस्पताल जान पाइनेछ।
सूचनामा भनिएकाे छ,’स्वास्थ्य वीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।’


Leave a Reply