साहित्यपोस्टको काव्य, आख्यान र गैरआख्यान पुरस्कार आर्यश, बालिका र रमेशलाई

काठमाडौं । साहित्यपोस्टले हरेक वर्ष नवोदित कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरूमा अर्पण गरेको छ । वर्ष २०८१ का लागि ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासंग्र्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’लाई, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’लाई र ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ रमेश भुसालको नियात्राकृति ‘छालबाटो’लाई प्रदान गरिएको हो ।

विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशिका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको अवसरमा एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक कार्यक्रमका बीच नवरत्न सम्मान, पुरस्कार घोषणा तथा पुरस्कार अर्पण कार्यक्रम एक साथ गरिएको हो ।

कार्यक्रममा काव्य, आख्यान र गैरआख्यानतर्फको पुरस्कारहरूको घोषणा क्रमशः प्रा।डा। सनतकुमार वस्ती, गोपी मैनाली र महेश पौड्यालले गरेका थिए । कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला तथा पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रुपमा विजेताहरूलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा ’साहित्यपोस्ट एप’को औपचारिक रूपमा सार्वजनिकीकरण समेत गरिएको थियो । एप तथा साहित्यपोस्टका पछिल्ला गतिविधिहरूका बारेमा अच्युत कोइरालाले प्रकाश पारेका थिए ।

त्यसैगरी, कवि तथा अधिकक्ता पेशलकुमार लुइँटेलले आउँदो वर्षबाट आफ्नो प्रायोजनमा साहित्यपोस्टमार्फत् अंग्रेजीतर्फ समेत एक पुस्तकलाई पुरस्कृत गर्ने घोषणा समेत गरेका छन् । साहित्यपोस्टका कार्यकारी सम्पादक कृष्ण ढुङ्गेलले स्वागत मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *