बुटवलका मेयरलाई कांग्रेसकै अर्को समूहको टक्कर, दुवैले रोपाई कार्यक्रम रोक्न शक्ति प्रयोग गरेको आरोप

रुपन्देही । असार १५ मा बुटवल उपमहानगरपालिकाको वडा नं १९ मा दुई अलग–अलग कार्यक्रम भए । नेपाली कांग्रेस निकट किसान महासंघले पथ्थरगन्ज र बुटवल उपमहानगरपालिकाले मनरापुरमा अलग अलग कार्यक्रम एकै समयमा गरे ।

बुटवल उपमहानगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि कांग्रेस नगर सभापतिसमेत रहेका मेयर खेलराज पाण्डे थिए भने किसान महासंघको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन प्रमुख अतिथि रहेका थिए ।

किसान महासंघको प्रदेश अध्यक्ष रहेकी रिता केसीले यताको कार्यक्रमको समन्वय गरेकी थिइन् भने उपमहानगर नै आयोजक भएकाले अर्को कार्यक्रम पाण्डेकै नेतृत्वमा भएको थियो ।

तर रोचक कुरा त यी दुवै कार्यक्रममा एक पक्षले अर्कोका कार्यक्रममा सहभागी हुन नदिन र प्रभावित बनाउन शक्ति प्रयोग गरेको आरोप लगाएका छन् । कांग्रेसमा दुई समूहको झगडा नयाँ विषय होइन तर सबैले थाहा पाउनेगरी सार्वजनिक कार्यक्रम नै विथोल्न खोज्नेगरी आइतबारको गतिविधिले कांग्रेस कार्यकर्तालाई निराश बनाएको बताएका छन् ।

कांग्रेस बुटवलको नगर सभापति निर्वाचनको बेला मुख्य प्रतिस्पर्धी रहेका पाण्डे र केसी एकले अर्कोलाई असहयोग गर्दै आएका थिए तर यो विषय सार्वजनिक रुपमै बाहिर आएको थिए । नगर सभापतिमा विजयी पाण्डे अहिले बुटवलको मेयर निर्वाचित भएका छन् ।

दुवै स्थानमा स्थानीयको सहभागिता थियो । बाजासहितका रमाइलो पनि थियो तर चोकमै बसेर एक समूहले त्यो कार्यक्रममा नजानु भनेर सहभागीलाई दिएको दवाव नै दुवैका लागि पेचिलो बनेको हो ।

तर आश्चर्यको कुरा यसअघि इतर समूहमा रहेका पाण्डे आइतबार इतर समूहकै नेताहरु सहभागी कार्यक्रम रोक्न खोजेका हुन् भने पहिले संस्थापन समूहमा रहेकी केसीले इतर समूहमा रहेका प्रदेशका प्रभावशाली नेताहरु उतारेर मेयर पाण्डेलाई टक्कर दिन खोजेकी छन् ।

एउटै वडा, एकै प्रकृतिको कार्यक्रम अनि दुवैतर्फका आयोजकको मूल पार्टी एउटै भएपछि त्यहाँ जाने साधारण कार्यकर्ता अलमलमा परेका थिए ।

‘चोकमा ग्रुपमा बसेर यता नजानुस् उता जानुस् भनेर कांग्रेसकै मान्छेले रोक्न खोजेपछि आफैलाई लाज लाग्यो, एक नेताले अर्कोलाई गलत आक्षेप लगाएर पार्टीलाई के फाइदा भयो, एकै समयमा किन कार्यक्रम गरेको, असार १५ किसान महासंघले मनाएपछि किन नगरले त्यही नजिकै जुधाएको’ एक कार्यकर्ताले आक्रोश पोखे ।

किसान महासंघका प्रदेश अध्यक्ष रिता केसीले मेयर खेलराज पाण्डेले आफ्नो कार्यक्रम रोक्न शक्तिको दुरुपयोग गरेको आरोप लगाइन् । ‘असार १५ किसान महासंघको प्राथमिकताको कार्यक्रम हो, मैले कार्यक्रममा आमन्त्रण गर्न पहिले नै खबर गरेकी थिएँ तर उहाँले कसको स्वीकृतिमा कार्यक्रम गरेको भनेर हप्काउनुभयो, सरकारले किसान महासंघको कार्यक्रम रोक्न मिल्छ रु प्रदेश कमिटीले कार्यक्रम गर्दा नगरका सभापतिलाई स्वीकृत लिनुपर्ने कहाँ नियम छ ? यस्तो ज्यादति पनि हुन्छ ?’ उनले भनिन् ।

केसीले पार्टीका प्रदेश सभापतिसहितका शीर्ष नेताहरु आउँदा मेयर पाण्डेले गरेको व्यवहार राजनीतिक चरित्रको नभएको आरोप लगाइन् ।
उनका अनुसार किसान महासंघको कार्यक्रममा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष प्रकाश राना, प्रदेश समिति र महासमितिमा रहेका नेताहरु कुमार केसी, विष्णु पोखरेल, बालकुमारी भण्डारी, बालकृष्ण पौडेल, चित्र केसी, रिता सेन, चिरन्जीवी पौडेल, विष्णु थापासहितका नेताहरुसहित करिब ५ सय कार्यकर्ता सहभागी भएका थिए ।

उता उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले असार १५ गते बिहान ८ बजे स्थानीय सरकारले धेरै पहिलेदेखि नै रोपाई कार्यक्रम गर्दै आएकाले यसलाई प्रभावित हुनेगरी कार्यक्रम गर्न नहुने जनाएका छन् ।

‘स्थानीय सरकारले गर्ने कार्यक्रम कसैले रोक्न जरुरी छैन, रोक्न र प्रभावित गर्न पाइदैन, हुँदैन, समय जुधाउनु हुँदैन, बुटवलले असार १५ गते बिहान ८ बजे धेरै पहिलेदेखि नियमित कार्यक्रम गर्दै आएको इतिहास छ, यसका विरुद्ध जाने छुट हुँदैन, हामीले त्यही अनुसार कार्यक्रम गरेका हौं, स्थानीयको ठूलो सहभागिता थियो’ उनले भने ।

कांग्रेस निकट पत्रकार तथा विश्लेषकहरुले भने यो स्वार्थी गुटहरुको विवाद मात्रै भएको भन्दै यसमा पार्टीका शीर्ष नेताहरु बसेर छिटो टुंगाउनुपर्ने बताएका छन् । ‘यसले विवाद गर्ने नेताहरु, कार्यकर्ता र सिंगो पार्टी कसैलाई पनि हित गर्दैन, स्वार्थी गुटले आफ्नो स्वार्थअनुसार कहिले कता कहिले कताको फेरा समाएर विवाद झिकेका छन्’ उनीहरुको आक्रोश छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *