काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल शनिबारयता राजनीतिक बृत्तमा चर्चामा छन् । उनलाई वर्षौंदेखि सुन्दै र हेर्दै आएका स्रोता र दर्शकका निम्ति शनिबार राष्ट्रिय सभागृहको भाषण ‘सरप्राइज’ थियो । धेरै वर्षपछि ईश्वर पोखरेलको भाषणमा ताली बजेको टिप्पणी एमाले नेताहरूले गरे ।
जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रम एमाले जीवनका निम्ति आफैँमा प्रतिक्षित ‘सरप्राइज’ थियो । जहाँ, ईश्वरले पार्टीको विधि, विधानका कुरा उठाए । अनि, पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा एमाले सदस्यता नवीकरण गरी पार्टी काममा फर्किएको घोषणा भयो ।
चर्चा गरौँ, ईश्वरको । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली (हिँडिसकेका) र पूर्वराष्ट्रपति भण्डारीलाई दायाँबायाँ राखेर भने, ‘दशौं महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्तावेज हामीसँगै छन् । महाधिवेशनले पारित गरेको कार्यकाल, उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौँ । त्यो राखेको भनेको कुनै झोँकमा राखेको थिएन, त्यो सुविचारित ढंगले लामो समयदेखि तीन दशकदेखिको बहसपछि राखिएको हो । यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।’
एमालेमा उनले अहिले उठाएको विषय केपी शर्मा ओलीको विकल्प खोज्नका लागि हो वा पार्टीमा आन्तरिक लोकतन्त्रको वातावरण बनाइदिनका लागि मात्र हो ? यो पनि उनले नै प्रष्ट पारुन् ।
सार्वजनिक चर्चाको विषय छ कि, एमाले राजनीतिमा विद्याको सक्रियताले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चेक’ गर्दैछ । कतिपय एमालेहरू नै यो परिघटनालाई ठूलै उलटपुलट, उथलपुथल र हेरफेर ल्याउने सन्दर्भसँग गाँस्नमा मग्न छन् । र, यही मेसोभित्र ईश्वर, उनको पहिचान वा इतिहास, चरित्र र पृष्ठभूमिसहित केही चर्चा गर्नुपर्छ ।
किन बोले ईश्वर ?
‘राजनीति’ त्यसमा पनि कम्युनिष्ट जीवन यस्तो निर्मम हुन्छ कि, जो आफ्ना लागि गरिँदैन, भनिँदैन र सोचिँदैन । ईश्वरको राजनीतिक जीवनको चरित्र मूलतः त्यहीँबाट खोजी गर्नुपर्छ ।
पढेर, नोकरी गरेर, धन कमाएर शहरमा शान र मानको जीवन- पहाडबाट तराईतिर झर्ने प्रत्येक छोराछोरीका आमाबाबुको आँखामा नाच्ने साझा र आम सपना थियो । ईश्वर यस्तै एउटा मामुली बाबुआमाका सन्तति थिए, जसका आँखामा अरुका झैँ ती साझा सपना थिए ।
तर, शहरले ईश्वरलाई र ईश्वरजस्ता केही मानिसलाई संघर्ष त सिकायो, तर बाबुआमाका आँखामा नाचेका सपनामा ती संघर्ष आधारित थिएनन् । बरु, त्यहाँ लड्दालड्दै मरिन्छ कि भन्ने अत्यधिक जोखिम थियो । तरबारको धारझैँ जीवन थियो, अलिकति तलमाथि हुँदा रक्तमुछेल भई पछारिनुपर्थ्यो ।
उनले लेखेको एउटा पुस्तकमा भनिएजस्तो बिदाईमा आमाको हात झड्कारेर हिँड्दा त्यहीँ त केही सोचेनन् । तर, अलिक परतिर पुगेर आमा र उनको ममता सम्झिँदै भक्कानिएर रोए । यात्रा निर्मम थियो । जननी आमादेखि स्वयं आफैँमाथि पनि ममता जागृत नहुने तहको निर्ममताबाट हुर्किएको एउटा कम्युनिष्ट मानव बनिसकेको थियो ईश्वर पोखरेल ।
यो कोणबाट ईश्वरलाई हेर्दा र शनिबारको उनको मन्तव्यलाई सुन्दा ती एक शव्द पनि आफ्ना निम्ति थिएनन् । पार्टी, आन्दोलन र मुलुकलाई दिशाबोध गर्नुपर्ने हुटहुटीसँग उनले आफूलाई लयवद्ध गर्दै कतिपय निर्मम वाक्य बोले । जहाँ व्यक्तिगतरूपमा आफू लाभान्वित हुने कुनै ठाउँ थिएन ।
१० औं महाधिवेशनले पारित गरेको कार्यकाल र उमेरका कुरा, अनि नियन्त्रण र सन्तुलनका कुरा गर्दा आउने महाधिवेशनबाट उनी स्वयंले पार्टी नेतृत्वबाट बिदा लिनुपर्छ । त्यो कुरा जान्दाजान्दै फेरि उनैले भने, ‘त्यो राखेको भनेको कुनै झोँकमा थिएन, सुविचारित ढंगले दशकदेखिको बहसपछि राखिएको हो ।’
यही बेला ईश्वर खत्रो उत्रिए, विधि, विधान र पार्टी व्यवस्थापनका मामिलामा । उनका कुरा सुन्दा आफू हावी होऔँ, वर्चश्वशाली रहौँ भन्ने आशय कतै पनि भेटिँदैन । अर्थात्, बनाउनु उनको कर्म र धर्म रही आयो । यस्तोलाई अन्यत्र ‘किङमेकर’ भन्छन् । निर्णायक व्यक्ति र भूमिकाको निर्माण गर्नु । त्यसैले ईश्वरले आज पनि ‘किङ’ बन्ने सम्भावना नदेखेरै होला ‘मेकर’ मै सीमित हुने लक्षण देखाएका छन् ।
यसो नभनेर, लोलोपोतो घस्दै हात मोल्न थालेको भए वरिष्ठ उपाध्यक्षसम्म भएका ईश्वरलाई एकपटक अध्यक्ष बन्ने मौका पो आउने थियो कि ? कतिपयले यसरी पनि कुरा गर्ने गरेका छन् । स्वयं उनले त्यसो गरेनन्, भनेनन् । बरु, भनिरहे, ‘यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।’
अब चर्चा गरौं, ओलीको मनस्थिति र विद्याको सदस्यता नवीकरणको कोणबाट ।
ईश्वर पोखरेलले नेतृत्व हस्तान्तरणमा कोही व्यक्ति बाधक भएको वा अरु कसैले पार्टी गतिविधिमा सामेल हुन खोजेको कुरालाई हैन, विधिसम्मत पार्टी काम अगाडि बढ्नुपर्ने कुरा गरेका छन् । विधिको निर्माण गर्दा वा निर्मित विधिबमोजिम अगाडि बढ्दा आफू पनि नेतृत्वबाट वहिगर्मित हुनुपर्छ भने त्यसनिम्ति तयार भएर बोलेका छन् । स्वाभाविक हो, त्यो विधिले वर्तमान अध्यक्ष ओलीलाई पनि बिदा नै गर्छ । र, यदि विद्यामा नेतृत्वका साथ अगाडि बढ्ने चाहना छ भने त्यही विधिले काम गर्छ । उनले विद्याको व्यवस्थापन आपसी सहमतिबाट टुंगिने पनि भनेका छन् ।
तसर्थ, ईश्वरको अभिव्यक्तिले नेतृत्वबीच टकराव वा प्रशोधनको विकास गराउने नभएर विधिको पालनालाई प्रेरित गरेको छ । त्यसमा अध्यक्ष ओली वा अर्को कुनै नेताको विमति अहिलेसम्म देखिएको छैन । त्यसो त विधान महाधिवेशनले उमेर र कार्यर्काल दुवै प्रतिबन्धात्मक वाक्यांश नराख्न पनि सक्छ ।
यी सबै कुराको निश्कर्ष हो कि, ईश्वर आफ्ना निम्ति बोलिरहेका छैनन् । उनको बोलिले विद्याको गतिविधिलाई सघाउँछ । तर, स्वयं विद्या विद्रोहात्मक तवरले नभएर सहमतीय सहकार्यका लागि आतुर देखिएकी छन् । त्यसैले शनिबार ओलीले भनेजस्तो अहिल्यै एमालेभित्र कुनै बम पड्किहाल्ने खतरा छैन । कम्तीमा पनि विद्या भण्डारी केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न राजनीतिमा उत्रिएको ठहर गर्ने बेला भइसकेको छैन ।
ईश्वरलाई बुझ्दा
अहिलेको नेकपा (एमाले) २०२८ सालको झापा विद्रोहको पृष्ठभूमि हुँदै यहाँसम्म आएको हो । पश्चिम बंगालमा चारु मजुम्दारले अगुवाइ गरेको नक्सलबाडी (किसान) आन्दोलनको प्रभावले झापामा वर्गसंघर्षका नाममा हिंसात्मक गतिविधि भयो । यद्यपि, त्यो परिपक्व राजनीतिक कदम नभएको भनी सम्बन्धित पक्षले आत्मालोचना गरिसकेको छ ।
ईश्वर पोखरेल यो राजनीतिक यात्रामा त्यहीँदेखि सरिक छन् । झापा विद्रोहमा उनी सशरीर त थिएनन्, तर त्यही रापतापले निर्माण भएको कोअर्डिनेशन केन्द्र हुँदै उनी आन्दोलनमा सरिक भएका हुन् ।
२०३३ मा कोअर्डिनेशन केन्द्र स्थापना हुँदा उनी त्यसको संस्थापक भए । त्यसबेलासम्म मदन भण्डारीहरू पुष्पलाल समूहमै थिए । त्यहाँ विद्रोह गरेर उनीहरू ‘झापाली कम्युनिष्ट’ भनी चिनिने कोअर्डिनेशन केन्द्रमा सम्पर्कमा गए । सीपी मैनाली, अमृत बोहरा, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, माधव नेपाल, गोपाल शाक्यसँगै ईश्वर उक्त घटकका संस्थापक हुन् ।
त्यसबेला उनको कार्यक्षेत्र धनुषा जिल्लामा थियो । उनैको अग्रसरतामा २०३४ सालमा त्यहाँ कोअर्डिनेशन केन्द्रको पहिलो सम्मेलन भयो । २०३५ सालको दोस्रो सम्मेलनको आयोजना र व्यवस्थापन पनि उनकै पहलमा भएको थियो । त्यसबेलासम्म पुष्पलालसँग विद्रोह गरेर आएको ठूलो पंक्ति कोअर्डिनेशन केन्द्रको सम्पर्कमा र आन्दोलनको निर्माणमा जुटिसकेको थियो । र, २०३५ सालको दोस्रो सम्मेलनले कोअर्डिनेशन केन्द्रलाई नेकपा (माले) का रूपमा अगाडि बढाउने निर्णय गर्दा उनी त्यसको पनि संस्थापक भए ।
जहाँ उभियो, त्यहीँ संस्थापन ?
एकजना एमाले नेता जो ईश्वर पोखरेलसँग लामो समयदेखि सँगै छन्, उनले एक सन्दर्भमा भनेका थिए- ईश्वर कमरेडको राजनीतिक जीवनको विशेषता नै बन्यो कि, उनले संस्थापन खोज्दै हिँडेनन्, जहाँ उभिए, त्यही नै संस्थापन भयो ।
नेकपा (माले) स्थापना भएपछि महासचिव सीपी मैनाली छोटो समयमै विवादमा परे । २०३६ सालको जनमत संग्रहमा भाग नलिनेजस्ता नीतिका कारण पार्टी र आन्दोलनका सन्दर्भमा सीपीमाथि अनेकन प्रश्न उठ्न थाले । त्यो अन्तर्संघर्षले २०३९ सालामा चरम रूप लियो । मदन, माधव, अमृतसहित प्रायः नेतृत्व सीपीविरोधी थिए । त्यसैले सिन्धुली बैठकबाट उनी महासचिवबाट बिदा भए ।
यो घटनामा सीपी बिदा हुनुपर्छ भन्नेमा ईश्वर शुरुदेखि नै रहे । राजाले अगाडि सारेको शान्ति क्षेत्रको प्रस्तावलाई आलोचनात्मक समर्थन गर्नुपर्छ भन्ने सीपीको लाइन पार्टीबाट पास हुँदासम्म कतिपय नेता सीपीका पक्षमा थिए । तर, ईश्वरसहितको ठूलो पंक्ति सीपीका रवैयासँग सहमत थिएनन् ।
सीपीलाई कारबाही गरिएपछि मदनलाई महासचिव बन्न थुप्रैले बल गरे । त्यसमा ईश्वर पनि थिए । स्वयं मदनले नमानेपछि उनी २०४६ सालमा सिरहामा सम्पन्न चौथो महाधिवेशनबाट महासचिव बने । त्यो केन्द्रीय कमिटीमा पनि रहेका पोखरेल २०४७ मा माले र माक्र्सवादी मिलेर एमाले बन्दाको संस्थापक केन्द्रीय सदस्य नै रहे ।
पार्टीले २०४८ सालको आम निर्वाचनमा उनलाई धनुषाबाट चुनाव उठायो । तराईको चुनाव, पैसा थिएन, हारे । त्यसमाथि साइकलबाट लडेर घाइते पनि भए । चोटपटक बोकेर काठमाडौंमै बस्न थाले, पार्टी काम पनि यतै गरे ।
०४८ को चुनाव उनले जितेका थिए भने उनको राजनीतिक भूमिका नै फरक हुने थियो । कार्यक्षेत्र त्यतै हुन्थ्यो । मन्त्री पनि हुन्थे होलान् । तर, समयले उनलाई व्यवस्थापकदेखि व्यवस्थापकमात्रै बनाइरह्यो ।
पञ्चायतभरि मुख्य नेताका सहयात्री भएर समय बिताए । ०४८ सालमा चुनाव हारेपछि काठमाडौं केन्द्रित उनले महासचिव मदनका काम र गतिविधिमा सहयोगी भूमिका खेले । २०५१ को मध्यावधि निर्वाचनमा उनलाई रोजेको ठाउँबाट चुनाव उठ्ने सुविधा थियो, उठेनन् ।
सरकार बन्यो । प्रधानमन्त्री मनमोहन अधिकारीको राजनीतिक सल्लाहकारका रूपमा सरकारको सफलता वा लोकप्रियताको एउटा अंग बनेरै रमाए । त्यसबेलादेखि उनका आलोचक पनि बढेका थिए ।
२०५० सालमा मदनको निधन भयो । महासचिव कसलाई बनाउने भन्ने विषय पार्टीमा पेचिलो बनेको थियो । फेरि झलनाथलाई बनाउने कि सीपीलाई भन्नेसम्मका कुरा उठ्दा उनी माधव नेपाल नै बन्नुपर्छ भन्नेमा अडिग थिए । किनभने, सीपी र झलनाथ भर्खरै पारित भएको पार्टीको मूल कार्यदिशा जनताको बहुदलीय जनवादका पक्षधर थिएनन् ।
नीति पक्षधर नभएको व्यक्तिलाई नेतृत्वमा लैजानु पार्टी विसर्जनकारी कदम हुने कारण ईश्वर माधवका पक्षमा दृढताका साथ उभिए । विशेषगरी त्यसबेला केपी शर्मा ओली र वामदेव गौतमकै लाइनमा उनी रहे । त्यसबीचमा दुईपटक माधव नेपाललाई महासचिवबाट हटाउने बेला केपी ओलीकै साथमा रहेर उनले नेपालको पद जोगाउन भूमिका खेले ।
छैठौँ महाधिवेशन (नेपालगञ्ज) महाकाली सन्धिका कारण पेचिलो बन्यो । पार्टीको ठूलो पंक्ति महाकाली सन्धिको विरोधमा थियो । त्यस्तो अवस्थामा उनी माधव, केपीका पक्षमा उभिए । त्यो महाधिवेशनमा शक्ति सञ्चय कि प्रगतिशील सुधार भन्ने कार्यनीतिक बहसमा उनी केपी शर्मा ओलीले अघि सारेको लाइनमा उभिएका थिए,जुन लाइन पारित भयो तर महासचिव चाहिँ माधव नेपाल नै भए ।
सातौँ महाधिवेशन (जनकपुर) सम्म पुग्दा माधव-केपीबीचको नेतृत्व प्रतिस्पर्धा चल्यो । पार्टीभित्र माधवपक्षीय मतको वर्चस्व थियो । लामो समय कार्यक्षेत्र बनाएको धनुषामा चलिरहेको महाधिवेशनमा ईश्वरको भूमिका प्रभावकारी हुने कारण उनलाई माधव, केपी दुबैले आफूतिर पार्न खोजे । तर, उनले संस्थापन छाडेनन् । त्यसबेला संस्थापको हर्ताकर्ताका रूपमा रहेका पोखरेलले ओलीलाई कार्यकर्तासम्म जान समेत निषेध गरेको आरोप थियो ।
लोलोपोतो घस्दै हात मोल्न थालेको भए वरिष्ठ उपाध्यक्षसम्म भएका ईश्वरलाई एकपटक अध्यक्ष बन्ने मौका पो आउने थियो कि ? कतिपयले यसरी पनि कुरा गर्ने गरेका छन् । स्वयं उनले त्यसो गरेनन्, भनेनन् । बरु, भनिरहे, ‘यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।’
आठौँ महाधिवेशन (बुटवल) को प्रतिस्पर्धा रोचक थियो । माधव-केपी एकातिर, झलनाथ अर्कातिर भएर चुनाव हुने भयो । माधव-केपीजस्ता नेता एकातिर भएको एमालेमा त्यही खेमा बलियो हुनुपथ्र्यो । ईश्वर झलनाथतिर उभिए । महासचिवका उम्मेदवार थिए । र, त्यही पक्षले चुनाव जित्यो । यद्यपी माधव न त ओलीको पक्षमा दरिलो साथ उभिए न त झलनाथको । बरु उनका अधिकांश निकट नेताहरू झलनाथ पक्षबाटै चुनाव लडे ।
फेरि नवौँ महाधिवेशन (भृकुटीमण्डप) मा पुग्दा माधवले केपीलाई छाडिसकेका थिए । झलनाथ र माधव मिलेर मोर्चाबन्दी गरे । ईश्वर केपीतिर उभिए । केपी अध्यक्ष भए, ईश्वर फेरि महासचिव बने ।
नवौँ महाधिवेशनयता उनी निरन्तर केपीको पक्षमा रहे । यतिसम्मकी, रक्षा मन्त्री हुँदा उनी मन्त्रालयबाट तानिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मन्त्री बनाइँदा पनि कहीँ, कतै असन्तुष्टि व्यक्त नगरी दिएको काम गरिरहे ।
र, दशौँ महाधिवेशन (सौराहा) बाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भए । यो महाधिवेशनमा अघिल्ला महाधिवेशनजस्तो नेतृत्वको विषय पेचिलो थिएन ।
उनलाई अध्यक्ष उठ्नका लागि नवौँ महाधिवेशनमा योगेश भट्टराईहरूले नै दबाब दिएका थिए तर, मानेनन् । उनी उठेको भए माधवलाई पछाडि हटाउनसम्म उनीहरू तयार थिए । उनले आँट गरेनन् भन्न पनि सकिन्छ ।
प्रकारान्तरमा विद्या भण्डारीले राष्ट्रपतिका रूपमा करिब सात वर्षको कार्यकाल सिध्याएपछि पार्टी सदस्यता नवीकरण गरेकी छन् । उनको माग, दाबी केही छैन । पार्टी र आन्दोलनको रक्षा, विकास र समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने संकल्पका साथ उनी पार्टी काममा जोडिएकी छन् ।
यही बेला ईश्वर खत्रो उत्रिए, विधि, विधान र पार्टी व्यवस्थापनका मामिलामा । उनका कुरा सुन्दा आफू हावी होऔँ, वर्चश्वशाली रहौँ भन्ने आशय कतै पनि भेटिँदैन । अर्थात्, बनाउनु उनको कर्म र धर्म रही आयो । यस्तोलाई अन्यत्र ‘किङमेकर’ भन्छन् । निर्णायक व्यक्ति र भूमिकाको निर्माण गर्नु । त्यसैले ईश्वरले आज पनि ‘किङ’ बन्ने सम्भावना नदेखेरै होला ‘मेकर’ मै सीमित हुने लक्षण देखाएका छन् ।
उनी सीपीबाहेक पार्टी नेतृत्वमा जो-जो आए, साथमा रहे । उनलाई संस्थापनमा रहेर पार्टी सत्ता र शक्ति प्रयोग गर्ने नेताका रूपमा पनि आलोचना गरिन्छ । तर, उनले भने आफू भएको ठाउँ नै संस्थापन बन्ने गरेको सुनाउँछन् ।
२ पटक एमालेको महासचिव भइसकेका र पार्टीका संस्थापकमध्ये एक ईश्वर पोखरेलले आफैँ पार्टीको मुख्य नेता बन्ने क्षमता राखेनन्, समर्थन जुटाउन र बलियो गुट बनाउन सकेनन् वा त्यो आकांक्षा नै बोकेनन् ? यो प्रश्नको उत्तर उनी आफैँले कुने दिन दिने नै होलान् । यति हो कि उनी कहिल्यै मूल नेतृत्व भएनन् । तर, मूली बनाइरहे ।
एमालेमा उनले अहिले उठाएको विषय केपी शर्मा ओलीको विकल्प खोज्नका लागि हो वा पार्टीमा आन्तरिक लोकतन्त्रको वातावरण बनाइदिनका लागि मात्र हो ? यो पनि उनले नै प्रष्ट पारुन् ।

Leave a Reply