काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरीसम्बन्धी कानून निकै पुरानो भइसकेको अवस्थामा नयाँ कानून बनाउन संसदको यसै अधिवेशनबाटै पारित हुने गरी अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रहरी संगठनमा रहेको कार्यालय सहयोगी, जवान, हवल्दारलाई तल्लो तहको कर्मचारीको रुपमा बुझ्दै आएकोमा अब शव्द परिवर्तन गरी आधारभूत तह भन्ने प्रस्ताव गरिएको लेखकले बताए । प्रहरी संगठनको आधारभूत शक्ति उनीहरू नै भएकाले आधारभूत तह भन्न खोजिएको उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले आधारभूत तहमा रहने प्रहरीहरूको सेवा सुविधालाई पनि विशेष केन्द्रमा राखेर ऐन ल्याइएको बताए ।
बैठकमा संशोधनकर्ता सांसदहरूले प्रहरी सेवालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने, सरुवा बढुवालाई प्रक्रियागत ढंगले अघि बढाउनुपर्ने, मनोबल उच्च हुने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए । उक्त विधेयकमाथि सांसदहरुले ६ सय ४८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

Leave a Reply