काठमाडौं । नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै दिएको अभिव्यक्तिले नेकपा एसभित्र हलचल मच्चिएको छ । पार्टी संस्थापन पक्षधर नेता-कार्यकर्ता उनीप्रति आक्रोशित बनेका छन् ।
माथिल्लो तहका नेताहरूको प्रतिक्रिया आउन बाँकी रहे पनि युवा तथा विद्यार्थी नेताहरू सामाजिक सञ्जालमा झाँक्रीविरुद्ध खनिएका छन् । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष समेत रहेका युवा नेता सुदेश पराजुलीले उनको अभिव्यक्तिलाई ‘विक्षिप्त मानसिकताको पराकाष्टा’ संज्ञा दिए ।
उनले फेसबुकमा लेखेका छन्ः लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्टा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो । कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी यो मानसिकताको विशेष गुण हो ।’
उनले यस्तो मानसिकताको विश्वास गरेर मुर्ख बन्नु नहुने बताएका छन् ।
पार्टीकी पोलिटब्युरो सदस्य दिलु पन्तले पनि झाँक्रीको अभिव्यक्तिलाई स्टन्टको संज्ञा दिएकी छन् । अरुको सेता वस्त्रमा थुक्नुभन्दा आफ्नो मैलिएको मन धुन झाँक्रीलाई उनको सुझाव छ ।
उनले लेखेको स्टाटस यस्तो छः
आफ्नो नामको चर्चाका लागि बेलाबेलामा यस्ता स्टन्टहरू नेपाली राजनीतिमा केही वर्षयता केही मान्छेहरूको प्रोग्रामहरू चलिरहेकै छ । ती प्रोग्रामहरू आफ्नो करिअर निर्माणको खपतको कडी हो कि कसको लागि प्रायोजित हुन् दुनियाँले बुझेकै छ । अरुको सेता वस्त्रमा थुक्नुभन्दा आफ्नै मैलिएको मन धुने गरौं । आकाशतिर फर्केर आजसम्म कति पटक थुक्यौ ? भन्नेले वाह र ताली पनि ठोके होलान् । यो चटकीले आफैंलाई थुक्ने तुच्छ कार्य गर्नलाई हिम्मत गरेको भनेर । नुहाउन मेलम्ची आइ सक्यो थुकले होइन पानीले नुहाउनुस् ।’
नेकपा एसका पूर्व प्रचार विभाग सदस्य सूर्य बिसीले जनतासँग चुनाव हार्ने र पार्टीको महाधिवेशनमा पनि कार्यकर्तासँग हार्नेले ठूलो कुरा गर्ने ? भन्दै झाँक्रीप्रति आक्रोश पोखेका छन् ।
उनले लेखेका छन्, ‘पतञ्जलीको जग्गा बेच्ने दलाललाई कारबाही गर्नुको साटो माधव बाबुलाई फसाउन बदनाम गराउन खोजेको तिमीलाई थाहा छैन ?’
नेकपा एसनिकट प्रेस संगठनका केन्द्रिय सदीय दिपक अनुरागीले माधव नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्न झाँक्रीलाई चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘कमरेड रामकुमारी झाँक्री- पार्टी गठन यता तपाईंका अनेकौं तर्कना सुन्यौं । कमरेड तपाईंबाट पार्टी बन्दैन, बनेको पार्टीमा चर्का भाषण गर्ने आधार समाजवादीमा बनिसकेको छैन । त्यसो हुँदा जुनसुकै तर्कना तपाईंले गरेपनि समाजवादी पार्टी कमरेड माधवकुमार नेपाल बाहेक अरुले बनाउन सक्दैन । हजारौं समाजवादी कार्यकर्ताको मनोभावना जित्छु, लाखौं बाहिरी व्यक्तिको समर्थन पाउँछु भन्ठानेर माधवकुमार नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्नुस् ।’
अर्का युवा नेता मनोज चौधरीले लेखेका छन्, ‘१० औं महाधिवेशन पराजय, मानसिक रोग साथै मन्त्रीबाट रुँदै फर्केको रिस अहिले पो देखियो । हामी अध्यक्ष नेपालको साथमा छौं । अवसरवादी चरित्र ।

Leave a Reply