रामकुमारी झाँक्रीले ‘समस्या आएको’ भनिएका नेता को-को हुन् ?

काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमात्र नभएर पार्टीका कैयौँ सदस्यमाथि कानूनी र संवैधानिक हिसाबले समस्या आएको भनेपछि अहिले पार्टीका एकथरि नेता, कार्यकर्ता झाँक्रीविरुद्ध सामाजिक सञ्जालमा सक्रिय छन् । कतिपय भने, उनले राम्रो र सत्य बोलेको भन्दैछन् ।

एसभित्रको अन्तर्विरोधलाई सतहमा ल्याउने गरी झाँक्रीले शनिबार बुटवलमा आयोजित प्रदेशस्तरीय युवा भेलामा विवादास्पद अभिव्यक्ति दिएकी हुन् । माधव नेपालले नैतिक दायित्वबोध गर्दै पार्टी अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारीबाट मुद्दा अवधीभर अलग हुनुपर्ने झलनाथ खनालपक्षीय नेता कार्यकर्ताले भन्दै आएका थिए । झाँक्रीले खुलस्तसँग बुटवलमा आफ्नो धारणा राखेपछि माधवपक्षले उनलाई प्रहार गर्ने र खनालपक्षले प्रशंसा गर्ने श्रृंखला बढेको हो ।

माधवमात्र नभई पार्टीका अरु थुप्रै सदस्य त्यस्तो समस्यमा रहेको उनले भनेकी थिइन् ।

उनको भनाइ थियो, ‘….अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपास्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ ।’

झाँक्रीले नाम लिइनन्, तर कोशी प्रदेशका नेता बलदेव चौधरी, सांसद मेटमणि चौधरीदेखि सुदूरपश्चिमका नेता दीर्घ सोडारीसहित उक्त पार्टीका दर्जन बढी नेता विभिन्न अभियोगमा तानिएका छन् ।

सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध केही दिनअघि मात्र दाङ प्रहरीमा ५ करोड ४० लाख रूपैयाँको चेक बाउन्सको उजुरी पर्‍यो । उनीविरुद्ध रोल्पाका धात बुढा मगरले उजुरी हालेका थिए । चौधरीले शहरी विकासमन्त्री भएका बेला सेटिङमा विभिन्न ठेक्काको काम दिलाइदिने भन्दै कमिसन बापत बुढासँग पटक पटक गरी लिएको रकम ठेक्का दिलाउन नसकेपछि उनीहरूबीच लफडा सुरू भएको बाहिरिएको थियो ।

चौधरीले भने आफूले कुनै पनि रकम लेनदेन नगरेको दाबी गर्दै उजुरी दिने रोल्पाका धात बुढा मगर र आफूबीच मामाभाञ्जाको सम्बन्ध रहेको र भाञ्जाले ‘म त मर्न लागेँ मामा भनेपछि चेक दिएको’ बताएका थिए ।

त्रियुगा नगरपालिकाको मेयर हुँदा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा चौधरी निलम्बित भएका थिए । मुद्दा अझै विचाराधीन छ ।

२०८० असोजमा चौधरीसहित त्रियुगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजश्व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछारलाई प्रतिवादी बनाएर अख्यिारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेकपा एसको तर्फबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीसमेत रहिसकेका दीर्घ सोडारीले पदीय मर्यादाविपरित अकूत सम्पत्ति आर्जन गरेको भन्दै गत जेठ १९ मा अख्तियारले मुद्दा हालेको थियो । उनले २०७४ सालमा मुख्यमन्त्री हुँदा परिवार तथा आफ्नो जम्मा सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रूपैयाँ ९२ पैसा देखाएका थिए । उनले वैधानिक आर्जन दावी गरे पनि १ करोड आठ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ ५७ पैसाको स्रोत नखुल्दा मुद्दा परेको हो ।

उक्त पार्टीका पूर्वस्थायी कमिटी सदस्य देवसिंह (डीएस) महता हालै वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परी रिहा भएका छन् । उनले विभिन्न जिल्लाका युवालाई रोजगारीका लागि कोरिया पठाउने नाममा डेढ करोडभन्दा बढी रकम ठगी गरेको अभियोग लागेको छ ।

यही मुद्दामा उक्त पार्टीका कार्यकर्ता तथा पूर्व श्रममन्त्री शेरबहादुर कुँवरका भाइ राजेन्द्र कुँवर फरार छन् । कुँवरका सिन्धुपाल्चोक घर भएका साथी विनोद थापा पनि उक्त ठगीमा संलग्न भएको उजुरी परेको छ ।

कर्णाली प्रदेशका पूर्वमन्त्री तथा नेकपा एसका केन्द्रीय सदस्य पदमबहादुर रोकायाले आफू पार्टी नेताहरुबाटै लुटिएको उजुरी दिएको एक वर्षभन्दा बढी भइसक्यो । तर, कारवाही भएको छैन ।

जडिबुटी व्यापारका क्रममा पार्टीका पदाधिकारीसहित सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य भएका केही नेताले दिल्लीमा लगेर आफूमाथि लुटपाट गरेको उजुरी अध्यक्ष नेपालसमक्ष दिएका थिए । तर, न उजुरी सार्वजनिक गरियो, न त किटान गरिएका दोषीमाथि कारबाही गरिएको छ ।

Comments

One response to “रामकुमारी झाँक्रीले ‘समस्या आएको’ भनिएका नेता को-को हुन् ?”

  1. ksp pyl Avatar
    ksp pyl

    एसका सबैजसो नेता लोभी, भ्रष्ट, विदेशीका एजेण्ट र कुण्ठाले भरिएका छन् । दुई महिनामै सरकारी जग्गा बेच्न दिने अनि नीतिगत निर्णय भनेर कुर्लने ? जग्गा बेचेर पैसा कमाउन पल्केको रहेछ कि क्या हो माधव नेपाल ? नत्र बालुवाटार जग्गामा उसैको नाम, धोबीखोलाको छ आना जग्गामा उसैको नाम र अहिले रिजाल टासीको ईटहरीको जग्गा बेच्न अनुमति दिनेमा पनि उसैको नाम । कुरा के हो ? सबैमा छानबिन गर ।खुब नयाँ पार्टी चलाउछु भनेर कुर्लेका होईनौ ? अनि १०० जना वकिलले बहस गरेको रे । पैसा ग्वाम्म कमाएको छ । जतिवटा राखे पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *