विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियान साथ काम गरिरहेको बताएका छन्।
आज धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण दिनको रुपमा रहेको बताएका हुन् ।
उनले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने औँल्याए। प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ काम गरेको चर्चा गर्दै उनले यस वर्षको नीति कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको शुभकामना सन्देशमा भनेका छन् ।
पछिल्लो समयमा बसाईसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै उनले यसतर्फ ध्यान दिनुपर्ने जोड दिएका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि पनि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् ।
त्यसैगरी मुख्यमन्त्री कार्कीले विराटनगरमा रहेको ओबी मिडियाले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोपेका छन् । सो अवसरमा उनले धान उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए ।

Leave a Reply