एसईईपछि कसरी अघि बढ्ने ? यस्ता छन् मनोविदका ५ सुझाव (भिडिओ)

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आइसकेको छ । उच्च शिक्षाको द्वार खोल्ने परीक्षाको रुपमा रहेको एसईई पछि शैक्षिक मात्रै नभएर पेशागत जीवनको आधार पनि तयार गर्ने बेला हो । नतिजा अपेक्षाअनुसार भए त विद्यार्थीहरुमा मनोबल उच्च भएको पाइन्छ । जसले आगामी दिनको छनोट राम्रो बनाउन भूमिका खेल्छ । तर सोचेको भन्दा फरक किसिमको नतिजाले विद्यार्थीहरुमा नैराश्यता, पश्चाताप, दुःखी तुल्याउन सक्छ ।

त्यस्तै, अब कुन विषय, कहाँ कुन कलेज पढ्ने भन्ने अन्यौलतामा पनि उनीहरुमा हुन्छ । जसका लागि सही गाइडेन्स र अभिभावकको सकारात्मक भूमिका आवश्यक हुन्छ ।

यी दुवै अवस्थामा उनीहरुलाई अभिभावकले बडो प्रेमले स्वीकार्ने र नयाँ गोरेटो चुन्न सहयोग गर्नुपर्ने मनोविदहरु बताउँछन् ।

‘यो बेलामा सही निर्देशन, साथ सहयोग र करियरमा अगाडि बढ्न हौसला चाहिन्छ’, मनोविद डा. नरेन्द्र सिंह ठगुन्ना भन्छन्, ‘त्यसैले नतिजापछि अब के गर्ने भनेर सही परामर्श लिन आवश्यक छ । अन्यथा नम्बर बढी आएकै आधारमा विषय वा करियर छनोट गर्दा सोचेअनुरुपको परिणाम आउन नसक्ने पनि हुन्छ ।’

विद्यार्थी आफैंले पनि आफूलाई आनन्द आउने, खुशी लाग्ने, र रुचि हुने विषयमा ज्ञान लिनुपर्ने उनको भनाइ छ ।

भिडिओ

उनका अनुसार विद्यार्थीहरुले आगामी विषय छनोटमा ध्यान दिन आवश्यक छ । अबको बाँकी समय, शक्ति र जीवन त्यतै जाने भएकाले पनि करियर छनोट महत्वपूर्ण हुने उनको भनाइ छ ।

त्यस्तै, अर्का मनोविद पदम जोशीका अनुसार एसईईलाई आवश्यकताभन्दा बढी प्राथमिकता दिइनुले सकारात्मकभन्दा नकारात्मक असर गर्ने बताउँछन् । ‘एसईई नै सबैथोक हो भनेजसरी प्रचार गरिनुले त्यहँ नम्बर कम आएको अवस्थामा विद्यार्थीमा स्वभाविकरुपमा म केही गर्न सक्दिनँ कि जीवनमा सफल हुन्न कि जस्तो महुसस गराउँछ जुन आफैंमा तनावपूर्ण स्थिति हो ।’

अब विद्यार्थीहरुले कसरी कदम चाल्ने त ?

उनीहरुका अनुसार अब एसईई रिजल्ट आएका विद्यार्थी एवम् अभिभावकले निम्न पाँच कार्य गर्न सक्छन् ।

१. नतिजाको मूल्यांकनः

नतिजालाई आफूले गहिरो तवरले मूल्यांकन गर्नुपर्छ । जसले गर्दा आफ्नो रुचि भए नभएको विषयमा स्पष्ट बन्न सकिन्छ । र त्यहीअनुरुप आफ्नो भविष्यको योजना बनाउन सकिन्छ । नतिजा मूल्यांकन गर्दा आफ्नो सबल र दुर्बल विषयहरु थाहा हुन्छ । जहाँ आफूमा दख्खलता छ जस्तो लाग्छ त्यस्तै विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।

२. के विषय पढ्नेबारे विश्लेषण गर्ने

निर्णय लिने विषयमा चुनौतीपूर्ण हुन्छ । अझ एसईई पछिको विषय छनोट झनै पेचिलो हो । किनकी यसले कसैको जीवनमा पूर्णरुपमा रुपान्तरण ल्याउँछ । तसर्थ यस विषयमा सचेत हुनुपर्छ नै । सामान्यतया नम्बरका आधारमा कठिन विषयहरु छनोट गर्ने परिपाटी छ । तर नम्बर भन्दा आवश्यकताको विषय भनेको आफ्नो इच्छा र रुचि हुन् । यदि आफू त्यस विषयमा आनन्दित हुन सकिन्छ भने नम्बर तुलनात्मक रुपमा कम आएपनि उक्त क्षेत्रमा राम्रो प्रदर्शन गर्न सकिन्छ । त्यसैले विषय छनौट आफ्नो रुचिमा निर्भर भएर गर्नुस् । जसमा विज्ञान, कानून, विजनेस आदि हुन सक्छन् ।

हिजोका दिनमा नम्बर बढी आएको आधारमा कलेजमा कुन विषय पढ्ने निर्धारण गरिन्थ्यो । तर त्यसो गर्दा विदार्थीको रुचि एकातिर र विषय अर्कोतिर हुने हुँदा परिणाम फरक पर्ने मात्रै हाेइन उनीहरुमा असन्तुष्टी हुने गर्थे । मुल कुरा मानिसले आफ्नो छनौटमा रमाउनु हो । जसका लागि आफ्ना चाहना भएका विषयमा राम्रो गर्न सक्ने सम्भावना बढी हुने मनोविदहरुको तर्क छ ।

अहिले पहिले जस्तो परम्परागत पेशाका विषयमा मात्रै निर्भर गर्ने अवस्था छैन । नेपाल सरकारले जेन जी र अल्फालाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरु समावेश गरेको छ । जसमा डिजिटल विषयहरु छन् । त्यस्तै, विश्वले नै अहिले कन्टेन्ट क्रियटरका कोर्स तथा युनिभर्सिटीमा क्लास नै हुने अवस्था आइसकेको छ । जसमा अहिलेको डिजिटल कन्टेन्ट क्रियटर जस्ता विषय छन् । अहिले विश्वले समेत अब कन्टेन्ट क्रियटरलाई छुट्टै पेशागत क्याटागोरीमा राखेको छ ।

३. करियर काउन्सिलिङ गर्ने

सबैकुरा आफूले जानेको भन्ने हुँदैन । अनि आफ्नो आकर्षण हो वा साँच्चै लक्ष्य हो भन्नेमा पनि विद्यार्थीहरु अन्यौल भइरहेका हुनछन् । त्यस्तो अवस्थमा उनीहरुलाई उचित करियर परामर्श आवशयक हुन्छ । जसले आजको समयमा कस्ता रुचि भएका मानिसहरुलाई कस्ता किसिमका विषय सुहाउँदो र परिणाममुखी हुन्छ भनेर विश्लेषण गरेर छनौटका विकल्प प्रदान गरिन्छ । त्यस्तै, विभिन्न साइकोलोजिकल ट्रेनिङ तथा मेन्टोरिङ गरेर विषय छान्नुपर्छ । यो बेला उल्लेखित पक्षलाई ध्यान दिन किन पनि महत्वपूर्ण छ भने अबको बाँकी जीवन, आफ्नो पेशागत जीवन त्यतैतर्फ उन्मुख हुँदैछ ।

एसईईको नतिजापछि करियर काउन्सेलर वा आफ्ना अभिभावक, शिक्षक आदिसँग स्वस्थ किसिमको परामर्श लिनुस् । के गर्ने र नगर्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्दा आफ्ना रुचि, आवश्यकता, उक्त काेर्सका लागि चाहिने आर्थिक लगानी, त्यसबाट हुने प्रतिफल लगायतका बारे केलाएर निर्णय लिने हाे ।

४. कलेजको छनौटः

कहाँ कुन कलेजमा पढ्ने भन्ने विषय आफ्नो रुचि, चाहना र विषयको छनौटले निर्धारण गर्छ । तर अबको १० वर्षमा आफूलाई कहाँ के र कुन रुपमा देख्न चाहने हाे त्यही किमिसले विषयको छनौट गर्नुपर्छ ।

५. भविष्यप्रति आशावादी र सकारात्मक सोच राख्ने

जीवनको नयाँ सुरुवात हुँदै गर्दा मनमा विभिन्न किसिमका अन्योलता र दुविधाहरु आउने गर्छन् । यो स्वभाविक हो । यसलाई सहज रुपमा स्वीकार्दै भविष्यप्रति आशावादी भएर अगाडि बढ्ने प्रण गर्नुपर्छ । त्यस्तै, सकारात्मक सोच राख्ने । जेजे भएपनि राम्रो भयो भन्ने भावनालाई प्रबल बनाउनुपर्छ । यो जीवनको एउटा चरण हो । अन्य चरणहरुमा पुग्न यसले सिँढीको काम गर्छ भन्ने भावनाले अगाडि बढ्ने । उल्लेखित विधिहरु अपनाउँदा तपाईंको विषय छनौट पनि सफल भएर जानेछ ।

ननग्रेडेडले के गर्ने ?

विद्यार्थीले आफूले सोच्ने पहिलो विचार यो हुनुपर्छ कि एसईई नै सारा संसार होइन बलकी जीवनको एउटा भाग भयो । तर सोचे जस्तो भएन भने यो एसईई रिजल्ट बिग्रेको हो जिन्दगी होइन भन्ने विचार मनमा ल्याउनु पर्छ र बाँकी यात्रा तय गर्नुपर्छ । तसर्थ मौका परीक्षाका लागि विशेष तयार गर्दै छिट्टै सकारात्मक सोचको विकास गर्ने । कुनै सीपमुलक तालिम सिक्नतर्फ प्रेरित हुने । जस्तै, कन्टेन्ट क्रियटर, भिडिओ इडिटर, फोटोग्राफी जस्ता तुलनात्मकरुपमा कम आर्थिक भार पर्ने तर प्रतिफल धेरै दिने खालका सीपहरु सिक्न अग्रसर हुनुपर्छ । अन्ततः जीवनलाई अगाडि बढाउने हतियार भनेकै आफूसँग भएको सीप हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *