थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं नेता तथा सर्वसाधारण सडकमा

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककमा शनिबार हजारौंको सङ्ख्यामा सरकारविरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेकी थिइन् । टेलिफोन वार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अङ्कल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको विषयले प्रधानमन्त्रीविरूद्ध आक्रोश छाएको छ ।

लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीया प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्यान्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो ।

शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्यान्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए ।

प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो !’

प्रदर्शनमा प्रायः वृद्धवृद्धहरू थिए र ‘पहेंलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताहरूले नेतृत्व गरेका थिए । उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो ।

थाक्सिनका पूर्वसहयोगी, तर अहिले उनका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको एक प्रमुख आयोजक रहेका थिए ।

‘म यहाँ थाइल्यान्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य हुनुहुन्छ भन्न आएको हुँ’, ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले भने ।

उनले एएफपीसँगको कुराकानीमा भन, ‘जब मैले गोप्य रूपमा बाहिरिएको कल सुनेँ, तब मलाई थाहा भयो कि म उहाँलाई विश्वास गर्न सक्दिनँ ।’

उनले सार्वजनिक भएको टेलिफोन कलको संवादलाई सङ्केत गर्दै थपे, ‘म धेरै राजनीतिक संकटहरूबाट गुज्रेको छु र मलाई थाहा छ कि यो देश कतातिर जाँदैछ । प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार देखिनुहुन्छ ।’

थाइल्यान्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने कटु विरोध गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि सङ्घर्ष रहँदै आएको छ । यसलाई उनीहरूका विरोधीहरूले परम्परागत सामाजिक व्यवस्थाको लागि खतरा मानेका छन् ।

अर्का एक प्रदर्शनकारी ६४ वर्षीया जमनोङ कलानाले आफू कुनै समय ‘रातो सर्ट’ समूहको भएको, तर आफ्नो रङ परिवर्तन गरेको र फेउ थाइ पार्टीका नेता पेतोङ्टार्नको राजीनामा माग गरेको बताइन् ।

उनले भनिन्, ‘देशलाई माया नगर्ने थाई साथीलाई देख्दा मलाई पीडा हुन्छ ।’ -रासस/एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *