पाेखरा । एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले भोलि लाओससँग खेल्दैछ । उज्वेकिस्तानमा हुने उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।
खेल सुरु हुन एकदिन अघिसम्म पनि नेपाली टोलीको कप्तानी कसले गर्ने टुंगो छैन । यसअघिका प्रतियोगिताका लागि बिदाई हुने बेला नै कप्तानको टुंगो लाग्ने गरेको अवस्थामा यसपालि प्रतियोगिताको एक दिन अघिसम्म पनि कप्तानको बारेमा कुनै निर्णय भएको छैन ।
सामान्यतया बिदाईमा प्रशिक्षक तथा कप्तानले आफ्नो देशको झण्डा लिने गर्छन्, तर एसियन कप छनोटका लागि बिदाई गर्ने क्रममा मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्ड, टीम म्यानेजर वृन्दा देवान र हेड अफ डेलिगेसन सरिला श्रेष्ठ नेपालको झण्डा लिन अगाडि पुगेका थिए । कप्तानको रुपमा कोही खेलाडी पनि उपस्थित थिएनन् ।
यसअघि एन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीको कप्तानी गर्दै आएकी थिइन्, तर अहिले भने कप्तानको बारेमा केही खुलाइएको छैन । नेपाली टोलीलाई पहिलो पटक विदेशी प्रशिक्षकले सम्हालेका छन् । त्यसकारण पनि कप्तान को बन्छ भन्ने आँकलन गर्न कठिन छ । नेपालको नेतृत्व गर्ने अवसर एन्जिलाले नै निरन्तरता पाउँछिन् या नयाँ कप्तान छानिन्छन् त्यो भने हेर्न बाँकी छ ।
एन्जिलाले सन् २०१९ देखि नेपाली टोली सम्हाल्दै आएकी छन् । नियमित कप्तान रेनुका नगरकोटी चीनमा आयोजना भएको १९औं एसियन गेम्सको अभ्यास क्रममा घाइते भएपछि तत्कालीन कोच कुमार थापाले एञ्जिलालाई कप्तानको जिम्मेवारी दिएका थिए ।
त्यसयता एन्जिलाले नै नेपाली टोलीको कप्तानी गर्दै आएकी छन् । त्यसकारण पनि प्रशिक्षक प्याट्रिक डी वाइल्डले एन्जिलालाई कप्तानको जिम्मेवारी नदेलान् भन्न सकिँदैन, तर प्रतियोगिता सुरु हुनु एक दिनअघिसम्म पनि कुनै निर्णय नहुनुले नेपालले नयाँ कप्तान पाउने सम्भावना रहेको कतिपयको विश्लेषण छ ।
प्रशिक्षक प्याट्रिकले सिनियर खेलाडीको रुपमा रेनुकालाई पुनः जिम्मेवारी दिन लागेको चर्चा पनि छ । रेनुका टोलीकी सर्वाधिक अनुभवी खेलाडी हुन् । यी दुईको विकल्प खोजेको अवस्थामा भने नेपाली महिला राष्ट्रिय टोलीले ११औं कप्तानको रुपमा पाउनेछ । त्यसको दाबेदारको रुपमा सावित्रा भण्डारी ‘साम्बा’, अनिता बस्नेतसहितका खेलाडी रहनेछन् ।
हालसम्म कप्तानको अनुभव नभएकी साम्बासँग देशविदेशमा खेलेको अनुभव छ । अनिताले घरेलु फुटबलमा सर्वाधिक सफल टोली एपीएफ क्लबको कप्तानी गरिसकेकी छन् । त्यसकारण उनीहरुलाई पनि प्रशिक्षकले कप्तानको रुपमा रोज्न सक्छन् ।
भविष्यको रुपमा हेर्ने हो भने प्रशिक्षक प्याट्रिकले अञ्जना रानामगर, प्रीति राई र पूजा रानामगरलाई रोज्न सक्छन् । अञ्जना, प्रीति र पूजाले उमेर समूहमा नेपाली टोलीको नेतृत्व गरेका छन् । तीनै जना खेलाडी पछिल्लो समयका इमर्जिङ र भविष्य भएका खेलाडीको रुपमा चिनिन्छन् ।
छनोटमा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ ।

Leave a Reply