डोटी । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा कञ्चन पाली जिल्ला उत्कृष्ट भएकी छन् । शिक्षा विकास तथा समन्वय इकाई डोटीका अनुसार कञ्चनले ३.९६ जीपीए ल्याएर जिल्ला उत्कृष्ट भएकी हुन् ।
कञ्चन जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पव्लिक मुक्ति नारायण माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएकी थिइन् । सो विद्यालयबाट सहभागी भएका १०७ विद्यार्थीमध्ये ७७ जना अर्थात् करिब ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए ।
जिल्लामै दोस्रोतेस्रो हुने विद्यार्थी पनि सामुदायिक विद्यालयकै रहेका छन् । शिखर नगरपालिका- ८ मा रहेको राधाकृष्ण माविमा अध्ययनरत निराजन वलायरले ३.९२ जीपीए ल्याई दोस्रो भएका हुन् ।
यस्तै सामुदायिक विद्यालयकै छात्र वैभव कार्की जिल्ला तेस्रो भएका छन् । शिखर नगरपालिका- १ मा रहेको केदारेश्वर माविमा अध्ययनरत वैभवले ३.९ जीपीए ल्याएका छन् ।
संस्थागत विद्यालयतर्फ जिल्ला सदरमुकाममा रहेको भागरथी एकेडेमीका छात्र अरुण भण्डारीले ३.८७ जीपीए प्राप्त गरी पहिलो भएका छन् ।
यस्तै दिपायल सिलगढी नगरपालिका- ४ मा रहेको सु-जङ्ग विद्यालयका छात्रा प्रशंसा देउवाले ३.७३ जीपीए ल्याई संस्थागत विद्यालयबाट सहभागी भएका छात्रामध्ये उत्कृष्ट प्रदर्शन गरेको शिक्षा विकास तथा समन्वय इकाइ डोटीका निमित्त कार्यालय प्रमुख ममता पालले जानकारी दिइन् ।

Leave a Reply