काठमाडौं । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी विद्यादेवी भण्डारीले आज औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरिन् । मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरिन् ।
उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’
उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’
भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुञ्जिएको थियो । त्यसो त राजनीतिमा फर्किएको घोषणा गर्दा उनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रशंसा गर्न पनि पछि परिनन् ।
विद्याबारे ओली
भण्डारीभन्दा अघि बोलेका प्रधानमन्त्री ओलीले मिडियाले भण्डारी र आफूबीच बम पड्काइसकेको टिप्पणी गरेको बताएका थिए ।
ओलीले भने, ‘हाम्रो विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमाले निकट रहेका सङ्गठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम ?’

अध्यक्ष ओलीले आजकै कार्यक्रमबाट एमालेमा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर विरोधीहरू बसेको बताए ।
उनले भने, ‘कुनै बमबारुद पड्किनेवाला छैन । आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । यसो अनलाइनतिर हेर्नुभयो भने तपाईंहरू छक्क पर्नुहुन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कुरा सुन्न आग्रह गरेको भन्दै ओलीले भनेका थिए, ‘तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ । आजमात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो । नराम्रो कहिल्यै बोल्नुहुन्न । मलाई थाहा छ के बोल्नुहुन्छ । त्यसो भएर मैले सुन्न बसिरहनुपर्दैन ।’
त्यसो त केही समयअघि भण्डारीले बालुवाटार पुगेर ओलीलाई आफ्नो तयारीबारे जानकारी गराइसकेकी थिइन् ।
विद्याको पक्षमा ईश्वर, दबाबमा ओली
तर ओली बोलेलगत्तै बोलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक कदम अघि बढेर नै भण्डारीको पक्षमा खुलेरै बोले । भण्डारी सक्रिय राजनीतिमा आउने उनैले घोषणा गरिदिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ ।’

प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरु मिसन २०८४ को अभियानमा रहेको भन्दै स्वार्थी तत्वहरुले भाँड्न एमालेमा महाधिवेशनको कुरा चलाएको आरोप लगाए । ओली आफैं विधान संशोधन गरेरै भए पनि अब एक कार्यकाल अध्यक्ष बन्ने दाउमा छन् ।
तर ओलीको यो तयारीविरुद्ध उभिएका छन् पोखरेल । पछिल्लो समय उनको अभिव्यक्तिबाट त्यो प्रस्टै बुझ्न सकिन्छ । एमालेले आफ्नो विधानमा राखेको २ कार्यकाल अध्यक्ष र ७० वर्षे उमेर हद लहडको विषय नभएको उनको मत छ ।
त्यसबारे उनले भने, ‘दशौं महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्तावेज हामीसँगै छन् । महाधिवेशनले पारित गरेको कार्यकाल, उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौं । त्यो राखेको भनेको कुनै झोँकमा राखेको थिएन, त्यो सुविचारित ढंगले लामो समयदेखि तीन दशकदेखिको बहसपछि राखिएको हो । यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।’
पछिल्लो समय ओलीसँग पार्टी पंक्ति नै सन्तुष्ट छैन । त्यसैले मदन भण्डारीको लिगेसी पनि भएकाले भण्डारीलाई आगामी नेतृत्वको दाबी गर्न सहज बन्दै गएको छ । त्यसो त भण्डारी लामो गृहकार्य गरेरै राजनीतिमा फर्किएकी छन् ।
आगामी महाधिवेशनमा नेतृत्व लिनेगरी अघि बढेको कुरा लुकेको छैन, तर राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन हुने वा नहुने एमाले पंक्ति विभाजित भइरहेको बेलामा उनले घोषणा गरेकी छन् ।
त्यसो त गत साता बसेको सचिवालय बैठकमा भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन रोक्नेगरी महासचिव शंकर पोखरेलले प्रस्ताव अघि सारेको र पदाधिकारी पंक्तिबाट साथ नपाएको चर्चा पनि छ ।
‘उहाँको निर्णयलाई एमालेले स्वागत गर्छ’
तर एमालेमा जोडिएर काम गर्छु भनेर भण्डारीले गरेको निर्णयलाई पार्टीले स्वागत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् ।
उनले नेपाल प्रेससँग भने, ‘उहाँले पार्टीमा काम गर्छु भनेर घोषणा गर्नुभएको छ । उहाँले पार्टी सदस्यता नवीकरण गरें, म फर्किएर काम गर्छु भन्नुभएको छ । त्यसलाई स्वागत गर्छ ।’
प्रचार प्रमुख गौतमले भण्डारीको घोषणापछि जिम्मेवारीबारे पार्टीमा औपचारिक रुपमा अब बस्ने बैठकमा छलफल हुने बताए ।
उनले थपे, ‘उहाँले के गर्न खोज्नुभएको हो ? कहाँ काम गर्न चाह राख्नुभएको हो ? त्यसको विषयमा छलफल हुन्छ । अहिले पार्टीमा फर्किएर काम गर्छु भन्नुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’
अध्यक्ष ओलीले नै नेतृत्वमा दोहोरिने तयारी गर्दैगर्दा उहाँको तयारीलाई कसरी लिनुभएको छ भन्ने जिज्ञासामा उनले थपे, ‘हामी भदौ २० देखि २२ गतेसम्म विधान अधिवेशन गर्दैछौं । हाम्रो विधानको संरचनाबारे छलफल हुन्छ र टुंगो लाग्छ । त्यसपछि राष्ट्रिय महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्ने हो । त्यसैले अहिले नेतृत्वबारे छलफल हुँदैन ।’
माओवादी र नेकपा एस के भन्छन् ?
भण्डारीको सक्रिय राजनीतिमा फर्किएसँगै फेरि वाम एकताको चर्चा पनि चल्न थालेको छ । भण्डारी एमालेको नेतृत्वमा आएर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभाजित वामपन्थी शक्तिलाई एकै ठाउँमा आउन सहज हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
भण्डारीको चीनसँग राम्रो सम्बन्ध छ, चीनले पनि नेपालका कम्युनिष्टहरु एक भएको हेर्न चाहन्छ । भण्डारी गत महिनामात्रै एमालेका नेताहरुको नेतृत्वसँगै चीन भ्रमणमा गएर आएकी हुन्। भण्डारीलाई चीन सरकारले विदेशी सरकार प्रमुखसरहको सम्मान दिएको थियो । त्यो सन्देश आफैंमा महत्वपूर्ण छ ।

चिनियाँहरूले नेपालमा वाम एकता भएमा एक बलियो शक्ति बन्ने र नेपालमा स्थायित्व हुने आधार बन्ने बताएका थिए । एमालेको नेतृत्वमा भण्डारीको आगमन भएमा नेकपा एस, माओवादीलगायतका वामपन्थी दलहरू पनि एक हुने माहोल बन्ने चिनियाँ बुझाइ रहेको संकेत भ्रमणमा देखिएको थियो ।
भण्डारीमा नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने चिन्ता पाएको नेकपा एसका सचिव सोमप्रसाद पाण्डेले बताए ।
उनले भने, ‘वाम एकताको निम्नि हिजो पनि उहाँसँग एकै ठाउँमा हुँदा पनि छलफल गर्ने गरेका थियौं । नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी उचाइमा पुर्याउने भन्ने उहाँको चिन्ता हो । मुलुकलाई गति लिन नसकेको विषयमा पनि चिन्ता पाउँथें । उहाँले आज घोषणा गरेपछि अब कसरी जान्छ भन्न सकिँदैन ।’
वाम एकता र मुलुकको अग्रगमनको कुरा र कम्युनिष्ट आन्दोलनको पक्षमा भण्डारी लागेको उनले बताए ।
भण्डारीको नेतृत्वमा सिंगो वामपन्थी एकताबारे उनले भने, ‘त्यो समयले ल्याउने कुरा हो । कतिबेला के हुन्छ भन्न सकिँदैन । समयअनुसार नै हुन्छ । हेरौं न । अहिले उहाँको नेतृत्वमा वामपन्थी एकताबारे भन्न सकिँदैन ।’
माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टी राजनीतिमा फर्किन कुनै बाधा नपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘व्यक्ति, पार्टी र लोकतान्त्रिक परम्पराको कुरा पनि हो । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउन हुँदैन भन्छन् कतिपयले, तर अन्तर्राष्ट्रिय मान्यता पनि छैन आउन हुँदैन भन्नेबारे । यसबारे हामीले नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउनेबेलामा पनि छलफल गरेका हौं ।’
उनले राष्ट्रपति उपराष्ट्रपति जे भए पनि पार्टीको निर्णयले जिम्मेवारीमा गएको भन्दै पार्टीको निर्णयले फर्किन्छु भनेपछि कसैले छेक्न नसक्ने बताए ।
नेता शर्माले थपे, ‘उहाँको लिगेसी छ, इतिहास छ, मदन भण्डारीले परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, उहाँकै परिवार हो । त्यसैले उहाँ आउनुहुन्छ भने पाउनुहुन्छ । लोकतन्त्रले राजनीतिमा आउन छेक्दैन । व्यक्तिगत इच्छाले छेक्दैन ।’
भण्डारीको नेतृत्वमा फेरि कम्युनिष्ट एकता गर्नेबारे उनी थप्छन्, ‘उहाँको नेतत्वमा कम्युनिष्ट एकताबारे अहिले भन्न सकिँदैन । अब उहाँकोबारे एमालेले के निर्णय गर्छ, त्योपछिको कुरा हो ।’

Leave a Reply