पार्टी अध्यक्षमाथि षडयन्त्रको डटेर सामना गरौं : मेटमणि चौधरी

रुपन्देही । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्दा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले माधव नेपाल पनि केपी ओली र अन्य नेता जस्तै हो भन्ने भाष्य जबरजस्ती स्थापित गर्न षडयन्त्रपूर्वक पञ्तञ्जलिको विषयमा मुद्दा चलाइएको बताए ।

अख्तियार आफैंले तामेलीमा राखिसकेको पतञ्जलिको विषयलाई प्रतिशोधकै कारण व्युँताउने काम भएको उनको भनाइ छ ।

तत्कालीन समयमा नेकपा एकीकृत समाजवादी पार्टी निर्माणका बेलामा बालुवाटार र ललिता निवासमा जोडेर बदनाम गराउन खोजेको स्मरण गर्दै उनले अहिले जबरजस्ती माधव नेपालमाथि प्रहार गरिएको बताए ।

नेता चौधरीले विपक्षीहरुले पार्टी अध्यक्षमाथि प्रहार गरिरहँदा पार्टीभित्रैबाट खिसिट्युरी गर्ने काम भएको भन्दै आपत्ति जनाए ।

उनले माधवकुमार नेपाललाई मुद्दा लगाउने काम ठीक मान्नेहरुले विपक्षीको पाउमा पार्टी बुझाउन खोजेको टिप्पणी गरे ।

‘यस्तो बेला डटेर मुकाबिला गर्ने हो, नैतिकताको नाममा राजीनामा दिने र भाग्ने कुरा विल्कुलै ठीक हुँदैन’, नेता चौधरीले भने, ‘नबिराउनू, नडराउनू, दुश्मनहरुसँग एकजुट भएर मुकाविला गरौं ।’

पार्टीमा करेक्सन गरौं : रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीमा करेक्सन गर्नुपर्ने बताइन् । उनले पार्टी अध्यक्षमाथि उठेको संवैधानिक र कानूनी समस्याबारे अर्ली महाधिवेशन गरेर समाधान गर्नुपर्ने मत राखिन् ।

नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेशन’ भएको बताउँदै उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरु बढ्दै जाँदा अराजकहरुको हातमा राजनीति जानसक्ने संकेत गरिन् ।

उनले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भए पनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताइन् ।

नेतृ झाँक्रीले सत्तामा जाने र ओलर्ने क्रम जारी रहेको बताउँदै अब जिम्मेवार राजनीति आवश्यक रहेको बताइन् ।

‘आमरुपमा अराजकता छ, पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतात्माहरु जागेर व्यवस्थाका विरुद्ध बोलेका छन्, अब नि सोच्नुपर्दैन’ उनले भनिन् ।

उनले पुनरुत्थानवादी शक्तिहरुले खुलेआम गणतन्त्रविरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरु र राजनीतिज्ञहरुले करेक्सन गर्नुपर्ने बेला आएको बताइन् ।

यी सबै कुराहरुबाट शिक्षा लिँदै पार्टीलाई नयाँ ढंगले लैजाने संकल्प गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

Comments

One response to “पार्टी अध्यक्षमाथि षडयन्त्रको डटेर सामना गरौं : मेटमणि चौधरी”

  1. ksp pyl Avatar
    ksp pyl

    ठेकेदारलाई ठेक्का मिलाईदिउला भनेर खाएको ५ करोड नतिर्नेहरू ठूला कुरा गर्ने ? कालापानी भारतको भन्ने देशद्रोही दलाल जे पनि बोल्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *