मनोविज्ञान र परामर्शमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । नेपालमा मनोविज्ञान र मनोपरामर्शको क्षेत्रमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमको संयुक्त आयोजनामा भएको सम्मेलन त्रिविको केन्द्रीय क्याम्पसका विभिन्न हलमा सञ्चालन भएका थिए ।

सम्मेलनको उद्घाटन गर्दै त्रिविका रेक्टर प्रा.डा. दुविनन्द ढकालले यस्ता कार्यक्रमहरुले मनोविज्ञान मात्रै नभएर सामाजिक विज्ञानका क्षेत्रमा सकारात्मक योगदान गर्ने बताउँदै यसको आगामी वर्षहरुमा पनि निरन्तरताका लागि आग्रह गरे । ‘सामाजिक क्षेत्रमा देखिएको विभिन्न जटिलताहरुलाई यस्ता किसिमका सम्मेलनले सम्बोधन गर्न भूमिका खेल्छ’, उनले भने, ‘आफ्नो स्थानबाट समाजलाई सकारात्मक दिशा प्रदान गर्न यो सम्मेलनले महत्वपूर्ण सुरुवात गरेको छ । आगामी दिनमा यसको दायरा बढाउँदै लगियोस् भन्ने शुभकामना प्रदान गर्छु ।’

त्यस्तै, त्रिवि क्याम्पसका प्रिन्सिपल प्रा. डा. अक्कल देव मिश्रले देशभरबाट शिक्षा क्षेत्रमा लागेका वुद्धिजीविहरु र आधुनिक पुस्ताहरुको यस्तो भेलाले मनोविज्ञानमा नयाँ सिद्धान्तको जुन नेपाली माटो सुहाउँदो हुन्छ त्यस्ता विषयहरुमा छलफल र बहस गर्ने विश्वास व्यक्त गरे । ‘अहिले राष्ट्रिय सम्मेलन आयोजना भएको छ । यो सह्रानीय सुरुवात हो’, उनले भने, ‘आउँदा दिनमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने गरी लाग्नुपर्छ ।’

सहभागीहरुलाई स्वागत गर्दै मनोविज्ञान केन्द्रीय विभागका प्रमुख डा. खेमराज भट्टले नेपालमा वि.सं. २०३८ सालदेखि मनोविज्ञानको सुरु भएको तर नेपालकै सांस्कृतिक र धरातलीय यथार्थमा भएका अनुसन्धानको भने कमी रहेकाले पनि यस क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । जसको यथार्थ महसुस गरेर नै पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए । ‘अरु विभागसँगै स्थापना भएको मनोविज्ञान नयाँ विषय होइन, औपचारिक रुपमा ३८ सालबाट सुरु भएको यो विभागलाई अझै परिष्कृत बनाउँदै यहाँसम्म आइपुग्ने क्रममा यो सम्मेलन आयोजना भएको हो’, उनले भने ।

परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमका संयोजक डा. सन्देश ढकालले लामो प्रयास र सबैको साथ सहयोगले सम्मेलन आयोजना सम्भव भएको बताउँदै सहभागीहरुलाई धन्यवाद दिएका थिए । ‘विभागका पूर्वप्रमुखहरु, अध्यापकहरु, विद्यार्थीहरुको संयुक्त प्रयासले यो सम्भव भएको छ’, उनले भने ।

मनोविज्ञान विभागका पूर्वप्रमुख प्रा. डा. शिशिर सुब्बाले मनोविज्ञान र परामर्श सँगसँगै जानुपर्ने बताए । ‘मनोविज्ञानले सिद्धान्त प्रतिपादन गर्छ जसलाई परामर्शले व्यवहारिक जीवनमा लागू गर्छ’, उनले भने, ‘त्यसैले यी दुवैको संयोजनमा आयोजित यो सम्मेलन पहिलो राष्ट्रिय सम्मेलन हो ।’ उनका अनुसार यसअघि करिब ३५ वर्षअघि पहिलो मनोविज्ञानको सम्मेलन भएपनि त्यसपछि भने निरन्तरता पाएको थिएन, यो सम्मेलन पुनः सुरु भएको छ ।

सम्मेलनको समापन गर्दै विभागकी पूर्वप्रमुख प्रा. डा. नन्दिता शर्माले सम्मेलन होला नहोला भन्ने परिस्थितिका बाबजुद सहज तवरले सफलतापूर्वक सम्पन्न भएको भन्दै खुशी व्यक्त गर्दै सबैमा आभार व्यक्त गरेकी थिइन् ।

सम्मेलनमा करिब २०० जना सहभागीहरु थिए भने ३२ जनाले आफ्नो अनुसन्धान पत्र प्रस्तुत गरेका थिए । जसमा बालबालिकाको सुस्वास्थ्य, मनोविज्ञानमा देखिएका आधुनिक समस्या, नेपालको मौलिकतामा मनोविज्ञानको विकासदेखि अहिलेको डिजिटल सुस्वास्थ्य विषयमा अनुसन्धान पत्रहरु प्रस्तुत भएका थिए ।

सम्मेलनमा स्टाफ कलेजका पूर्व निर्देशक डा. केदार रायामाझी, सशस्त्रका एआईजी गणेश थापा मगर, आईओएमको साइकियाट्री विभागकी प्राध्यापक डा. मिता राणा, त्रिचन्द्र कलेजका मनोविज्ञान विभागका पूर्व प्रमुख डा. नारायणप्रसाद शर्मालगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्र अनिष्मी शर्मा र समापन समारोह मनोविज्ञान विभागका सह.प्रा. सन्जेश श्रेष्ठले सञ्चालन गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *