गाजा । उत्तरी, मध्य र दक्षिणी गाजापट्टीका धेरै क्षेत्रहरूमा इजरायलले गरेका हवाई आक्रमणमा कम्तीमा ३९ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।
मध्य गाजा सहरको सामेर जङ्क्सन नजिकैका दुइटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । मध्य अल-रिमलको अल-थावरा स्ट्रिट स्थित अर्को आवासीय भवनमा भएको आक्रणमा एक आमा र छोराको मृत्यु भएको जनाइएको छ ।
सहरको पश्चिममा रहेको प्यालेस्टाइन जङ्क्सन नजिकै इजरायलले विस्थापित मानिसहरूको शिविरमा बम प्रहार गर्दा १० प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
गाजापट्टीको उत्तरमा जबालिया अल-बलादको दर्दुना जङ्क्सन नजिकैको घरमा भएको आक्रमणमा अन्य १० जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
खान युनिसको अघिल्लो बम विस्फोटमा घाइते भएका एक प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । खान युनूसको विस्थापितहरुको शिविरमा भएको इजरायली ड्रोन आक्रमणमा दुई बच्चासहित अन्य तीन जनाको मृत्यु भएको जनाइएको छ । -रासस/क्यूएनए

Leave a Reply