काठमाडौं । मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले जननेताका बाँकी सपना पूरा गर्न बनेको फाउन्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’का रुपमा हेर्न जरुरी नरहेको बताएकी छन् ।
७४ औं मदन जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर उनले फाउन्डेशनलाई षड्यन्त्रको सिद्धान्त बनाउन जरुरी नरहेको बताएकी हुन् ।
उनले यस्ता षडयन्त्रका सिद्धान्त चति चले पनि विचलित नभई फाउण्डेशन आफ्नो अभियान र उद्देश्यमा लागिरहने बताइन् । फाउण्डेशनका कामबारे पछिल्लो समय एमालेभित्र राजनीतिक वहसको विषय बनाइएका बेला उषाकिरणको अर्थपूर्ण जवाफ आएको हो ।
स्वर्गीय मदन भण्डारीकी जेठी छोरी उषाकिरणले फाउन्डेशनको मुख्य उद्देश्य जनताको बहुदलीय जनवादको बारेमा चर्चा, परिचर्चा, अध्ययन अनुसन्धान गर्दै समाजमा स्थापित गर्ने रहेको बताइन् ।
उनले जबजलाई प्राज्ञिक अध्ययनको विषयसमेत बनाउन त्रिभुवन विश्वविद्यालयका ११ विभागसँग स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा जबजबारे अनुसन्धान गर्ने विद्यार्थील छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको जानकारी दिइन् ।
उनले मार्क्सवादको आधुनिक सिर्जनात्मक प्रयोगमा आधारित जबजलाई प्राज्ञिक अध्ययनको विषय बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न देशव्यापी बहस श्रृंखलासमेत चलाउन लागिएको बताइन् ।

Leave a Reply