रूपन्देही । १३ वर्षको उमेरमै ओजस्वी आचार्यको असाधारण प्रतिभाले चर्चा पाएको छ । पाल्पास्थित दमकडा माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने उनले असाधारण क्षमताकै कारण आफ्नो फरक पहिचान बनाउन सकेकी छन् । उनी देशविदेशका कार्यक्रममा सहभागी भएर विषयगत प्रस्तुति दिन अभ्यस्त भइसकेकी छन् ।
कक्षा ८ पढ्दै उनले थाइल्यान्डमा एनआरएनको कार्यक्रममा अतिथि वक्ताको रूपमा सहभागी भएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । वाककला, तार्किक क्षमता, अभिव्यक्तिको शैली, आत्मविश्वास र सामाजिक चेतना हेर्दा लाग्छ, उनीसँग ठूलै चमत्कार गर्ने क्षमता छ ।
आमा मिठ्ठु आचार्य र बुवा जीवन आचार्य दुवै तानसेन नगरपालिका- ९ स्थित दमकडा नमुना माविमा शिक्षक छन् । प्लस टुसम्म पढाउने जीवन अस्थायी दरबन्दीमा छन् । मिठ्ठु स्थायी शिक्षक हुन् । ओजस्वी बुवाआमासँगै विद्यालय जानेआउने गर्छिन् ।
शिक्षक बाबुआमाकी एक्ली छोरी ओजस्वीको बोली सुन्दा, प्रस्तुति शैली देख्दा कुनै बौद्धिक एवं परिपक्व व्यक्तित्वको भान हुन्छ । कम उमेरमै उनको भाषिक क्षमता र विषयको गहिराइबारे धेरै अचम्भित छन् । उनले विद्यालयको विभिन्न प्रतियोगिता, अन्तरक्रिया, सम्मेलन सक्रिय भूमिका खेलिरहेकी छन् ।
थाइल्यान्ड र कम्बोडियामा आयोजित एनआरएनको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा उनी प्रमुख वक्ता भएर सहभागी भएका थिए । अहिले उनी एनआरएनको बाल सद्भावना दूत (ब्रान्ड एम्बेस्डर) पनि हुन् ।

ओजस्वीको क्षमता विकासमा उनका अभिभावकसँगै विद्यालयको योगदान रहेको छ । उनका अभिभावकका अनुसार ओजस्वीलाई सानैदेखि रेडियो कार्यक्रम चलाउने चासो थियो । अहिले विद्यालयमै रेकर्डिङ स्टुडियो छ । उनले सोही रेकर्डिङ स्टुडियोमा कार्यक्रम तयार गरेर पठाउने गर्छिन् । विद्यालयमा विशेष अतिथि आउँदा आफैंले अन्तर्वार्ता गरेर मिडियामा पठाउने गरेको ओजस्वी बताउँछिन् ।
उनले तयार गर्ने बालबालिका कार्यक्रम अहिले लोकप्रिय छ । शैक्षिक अन्तर्वार्तादेखि भलाकुसारीसम्म उनी चलाउँछिन् । अतिथिहरूसँग गम्भीर प्रश्न उठान गर्ने क्षमताले उनको प्रस्तुति अझै जनमुखी र अर्थपूर्ण बनाएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा बताउँछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अर्यालका अनुसार ओजस्वी शिक्षक, अभिभावक र विद्यार्थी सबैका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनी पढाइमा पनि अब्बल छन् । कक्षा ८ को परीक्षामा चार जीपीए ल्याएर उत्तीर्ण भएको प्रअ सापकोटाले जानकारी दिए ।
कला र भाषिक क्षेत्रमा अब्बल ओजस्वीले चिकित्सक बन्ने सपना बोकेकी छन् । उनी भन्छिन्, ‘कहिले वकिल बन्न मन लाग्छ, कहिले शिक्षिका, कहिले डाक्टर, तर मेरो अन्तिम इच्छा भनेको बिरामीको सेवा गर्नु हो ।’
फुर्सदमा पुस्तक पढ्ने उनी झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’बाट अत्यधिक प्रभावित भएको बताउँछिन् । उनी थप्छिन्, ‘झमक अपाङ्ग भएर पनि सशक्त व्यक्तित्व हुन् । उहाँबाट मैले संघर्ष र आत्मविश्वास सिकेकी छु ।’
ओजस्वीलाई बोल्न कुनै पनि विषय दिए पुग्छ । केही क्षण घोत्लिन्छिन्, अनि आफैंभित्र प्रश्न गर्छिन्, त्यसपछि गहिरो अनुभूति र स्पष्ट धारणासहित स्टेजमा उक्लिन्छिन् । त्यतिबेला दर्शकदीर्घाबाट ताली, वाहवाही र प्रशंसाले उनलाई उत्साहित बनाउँछ ।
ओजस्वीले प्रारम्भदेखि नै बाबुआमाको साथ पाएकी छन् । उनी भन्छिन्, ‘बाबाआमा मेरा उत्प्रेरक हुन् । साथीहरूको हौसला, शिक्षकहरूको सहारा र विद्यालयको परिवेशले म यहाँसम्म पुग्न सम्भव भएको हो ।’
ओजस्वीको बाल्यकाल हजुरआमा सीता आचार्यसँग बित्यो । हजुरआमाले सुनाएका कथाअनुसार ओजस्वीले बाबालाई परैबाट झिमिकझिमिक बत्ती देखाउँदै चिच्याएर चिन्ने गर्थिन् ।
ओजस्वी सामान्य किशोरी जस्तै देखिए पनि उनमा केही न केही विशिष्टता रहेको बुवा जीवन सुनाउँछन् । उनका अनुसार पढाइ र गृहकार्यपछि ओजस्वी घरका कुखुरा र कुकुरसँग खेल्दै रमाउने र तिनीहरूसँग हाउभाउमार्फत संवाद गर्ने गर्छिन् ।
‘जनावरसँगको सम्बन्धमा उनले एउटा विशिष्ट रमाइलो अनुभूति पाएकी छन् । जनावरसँगको माया निकै अचम्मको छ । एक दिन स्कुल छेउमा ब्याएको कुकुरका बच्चाहरू दिनभर स्याहार गरेर बसेको देख्दा आफैंलाई आश्चर्य लागेको थियो’, बुवा जीवन भन्छन्, ‘हामीले कता हराइन् भनेर खोज्यौं, तर उनी उसको स्याहारमा बसेकी रहिछन् ।’
ओजस्वीले आफ्नो पहिचानलाई शिक्षक आन्दोलनको समयमा दिएको एउटा प्रवचनले थपे सशक्त बनाएकी छन् । सामाजिक सञ्जालमा चर्चा पाएको उक्त प्रवचनले ओजस्वीको सामाजिक चेतनालाई उजागर गर्छ ।
शिक्षक आन्दोलनका क्रममा ‘आज मेरो विद्यालय बन्द छ, सरहरूले मलाई घरमै बसेर पढ्न भन्नुभएको छ…’ भन्ने भनाइ रेकर्ड गरेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशले निकै चर्चा पाएको थियो । कक्षा ८ को परीक्षा सकेर नयाँ ऊर्जा र उत्साहसाथ कक्षा ९ सुरु गर्न चाहेको बेला रोकिनुपरेको समयमा आफूले त्यसरी बोलेको उनले बताएकी छन् ।
ओजस्वीले केही समयअघि पोखरामा भएको गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विशेष वक्ताको रूपमा गरेको सम्बोधन पनि उस्तै चर्चामा आयो । उनले संस्कार बिर्संदा अस्तित्व नै गुमाउने अवस्थामा सनातन धर्म, संस्कार र समाजको वर्तमान अवस्थामाथि गहिरो संकटका विषयमा बोलेकी थिइन् ।

ओजस्वीको उज्यालो भविष्य सुनिश्चित देख्नेहरू थुप्रै छन् । विद्यालयका प्रधानाध्यापक सापकोटा भन्छन्, ‘ओजस्वी हाम्रो विद्यालयकै गौरव हुन् । उनको क्षमता हाम्रा सम्पूर्ण विद्यार्थीका लागि प्रेरणाको स्रोत हो । उनीविहीन हरेक कार्यक्रम अधुरो लाग्छ ।’
ओजस्वीलाई पछिल्लो समय ‘गुमनाम एक इतिहास: बिसे नगर्ची’ पुस्तकका लेखक दीपक तिम्सिनाले मोरङबाट उपहार पठाएका छन् । यसबाहेक थाइल्यान्ड जानुअघि उनले ‘थाइल्यान्डमा नेपालीको इतिहास’ पनि पढेकी थिइन् ।
अहिले बेलायतको एक कार्यक्रममा अतिथि वक्ताको रूपमा जान ओजस्वीको भिसा लागिसकेको छ, तर बुवाको भिसा नलागेका कारण उनी रोकिएकी छन् । ‘छोरीको भिसा आयो, मेरो आएन । विशेष कार्यक्रम थियो, म नगई उनी जान मानेकी छैनन् । हेरौं के हुन्छ ?’, बुवा जीवनले भने ।

Leave a Reply