काठमाडौं । गायक रामकृष्ण ढकाल गायनसंगसंगै चलचित्र निर्माणतर्फ लागेका छन् । पहिलो पटक उनले चलचित्र निर्माण गर्न लागेका हुन। उनले केही समय अघि चलचित्र ‘मालती मंगले’ बनाउने घोषणा गरेका थिए । तर चलचित्रमा को कलाकार हुने भन्ने पक्का थिएन।
आज कागजी सम्झौता गरेसंगै चलचित्रको मुख्य कलाकारहरु फाइनल भएका छन् । चलचित्रमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत हुने पक्का भएको छ। शुक्रवार निर्माण टिमले कागजी सम्झौता गरी बराल र राउतलाई चलचित्रमा अनुबन्ध गराएको हो ।
पारिवारिक प्रेमकथामा आधारित यो चलचित्रमा विजय र वर्षाको भूमिका के रहनेछ भन्ने बारे भने खुलाईएको छैन । निर्माण टिमको अनुसार यो चलचित्रको लागी विजय र वर्षाले करिब ३ महिना अन्य चलचित्रमा काम नगर्ने भएका छन् । यो समय उनीहरूले आफ्नो चरित्र निर्माणको लागि ‘मालती मंगले’ लाई दिनेछन् ।
भदौको पहिलो हप्तादेखि छायांकन सुरु हुने ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमको भनाई छ ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन् ।
झण्डै ४ हजारभन्दा बढी नेपाली गीतहरुमा स्वर दिईसकेका गायक रामकृष्ण ढकालको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ । सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए ।
उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘मालती मंगले’ मार्फत उनी पहिलो पटक निर्माताको भूमिकामा आएका हुन् ।

Leave a Reply