सुर्खेत । अविरल वर्षासँगै डोल्पाको काइके गाउँपालिका-४, रिवा गाउँमा पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ ।
राति साढे १२ बजेतिर बस्तीमाथिबाट आएको लेदोसहितको पहिरोले ८ वटा घर पूर्णरूपमा क्षति पुगेको छ । थप १२ घरमा आंशिक क्षति पुगेको छ ।
रिवा गाउँमा जम्मा ५३ घरधुरी छन् । तीमध्ये धेरैजसो घरमा लेदो पसेको र अधिकांश बस्नै नहुने अवस्थामा पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाका सूचना अधिकारी दामोदर ज्ञवालीले बताए । पहिरोले एक विद्यालय भवनसमेत पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ ।
बस्तीभन्दा करिब ५ सय मिटर माथिबाट लेदो, माटो र ढुङ्गा खसेर बस्तीमा पसेको देखिन्छ, `उनले भने,`शायद मोटरबाटो खन्दा निकालिएको माटो पनि पहिरोसँगै बगेको हो ।`
घटनापछि स्थानीय प्रहरी चौकी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएका छन् । सशस्त्र प्रहरीका सईको नेतृत्वमा ११ जनाको टोली अहिले उद्धार कार्यमा जुटिरहेको सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।
उद्धार टोलीले विस्थापित स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै घरभित्रका सामान निकाल्न र अस्थायी पुनःस्थापनामा सहयोग गरिरहेको छ ।
मानवीय क्षति भने नभएको सूचना अधिकारी ज्ञवालीले जानकारी दिए । उनका अनुसार, माथिबाट खसेको पहिरोले ठूलो आवाज आएको थियो । गाउँनजिकै रहेका तीनवटा खहरे खोलामा पानी र ढुङ्गामाटो मिसिएर आएको र आवाजले गाउँलेलाई सतर्क बनाएको उनको भनाइ छ ।
उनले भने,`आवाज सुनेर मानिसहरू तुरुन्तै घर छाडेर बाहिर निस्किए, त्यसैले ठूलो जनधनको क्षति हुन पाएन ।’

Leave a Reply