‘झिम्झिमाउने आँखा’ को हिन्दी भर्सन- एकदेवलाई नेहा कक्कडको साथ

काठमाडौं । गायक एकदेव लिम्बुको नेपाली गीत ‘झिमझिमाउने आँखा’को हिन्दी भर्सन सार्वजनिक भएको छ । हिन्दी भर्सनमा एकदेवलाई नेहा कक्करले साथ दिएकी छन् । हिन्दी गीतको कम्पोज रजत नागपालले गरेका छन् ।

हिन्दी भर्सनमा नेहा कक्करसँगै गाउने वातावरण चाहिँ कसरी मिल्यो भन्ने प्रश्नमा एकदेवले भने, ‘मलाई उतैबाट अफर आएको हो । त्यहाँको एकजना गीतहरूको प्रमोसन गर्ने चिनेको मान्छेले मलाई कल गरेर प्रस्ताव गरेको थियो । सुरुमा त पूरा गीत नै किन्न खोजेको थियो, त्यो प्रस्ताव चाहिँ मानिनँ ।’

गीतको सम्पूर्ण कपीराइट नै किन्ने प्रस्ताव चाहिँ अस्वीकार गरेको एकदेवले बताए ।

नेहा कक्करसँग सहकार्य गर्दाको अनुभूति पनि एकदेवले सेयर गर्दै भने, ‘यो मेरो सांगीतिक करियरको लागि अविस्मरणीय पल हो । नेपाली संगीत संसारभर भइरहेको छ र संसारभरका दर्शक÷स्रोतले रुचाइरहेका छन् भन्ने प्रमाण पनि हो ।’

गीतको म्युजिक भिडियो प्लेडिएमएफ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । नेपाली र हिन्दी दुवै भाषालाई मिश्रण गरेर गीत तयार गरेको छ । जहाँ एकदेवले हिन्दीमा गाएका छन् भने नेहाले नेपालीमा गाएकी छन् ।

उनले गीतको हुकलाइन ‘झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुक्कै भएँ म’ नेपालीमा गाएकी छन् ।

छ महिनाअघि युट्युबमा रिलिज भएको एकदेवको ‘झिमझिमाउने आँखा’लाई अहिलेसम्म तीन करोड २० लाखपटक हेरिएको छ । यो गीत ग्लोबल ट्रेण्डिङमा समेत परेको थियो । एकदेवका ‘शीरफूल’, ‘आँखामा आउने सपनी’, ‘तिम्रो मुटुमा’ जस्ता गीतहरु चर्चित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *