भारतको संविधानबाट ‘समाजवाद र धर्मनिरपेक्ष’ हटाउनेबारे बहस, संकटकालको बेला घुसाइएको दाबी

काठमाडौं । भारतमा संविधान जारी भएको ७६ वर्षपछि धर्म निरपेक्षमाथि बहस उठेको छ । सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था मानिने राष्ट्रिय स्वयंसेवक संघका महासचिव दत्तात्रय होसबालेको तर्फबाट बिहीबार आएको एक वक्तव्यले भारतीय राजनीतिक वृत्तलाई हल्लाइदिएको छ ।

आरएसएसका महासचिव होसबालेले एक कार्यक्रममा भने–भारतको संविधानका पिता बाबा साहेब भीमराव अम्बेडकरले बनाएको भारतीय संविधानको प्रस्तावनामा समाजवाद र धर्मनिरपेक्ष भन्ने शब्द थिएनन् । यी दुई शब्दलाई जोडिएको हो । के यी दुई शब्द भारतको लागि सास्वत हो ? यसको उद्देश्य के हो, यसबारे विचार गर्नुपर्छ । के आज भारतको संविधानमा यी शब्द आवश्यक छ ? इमरजेन्सीको बेलामा देशमा मौलिक अधिकार थिएन, मौलिक अधिकार थिएन,न्याय पंगु बनाइएको थियो त्यस्तो बेलामा यी शब्द घुसाइएको थियो

भारतको संविधान सन् १९४९ जनवरीमा निर्माण भएको थियो भने सन् १९७७ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको पालामा संकटकाल घोषणा लागु गरिएको थियो । भारतमा एक सय वर्षअघि हिन्दू स्वयंसेवक संघका रुपमा स्थापना भएको आरएसएस निकै पुरानो र बलियो राजनीतिक शक्ति मानिन्छ ।

भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भाजपाका अधिकांश नेताहरु आरएसएसबाटै स्थापित भएका हुन् । आरएसएसले भारतलाई हिन्दूराज्य बनाउनुपर्ने विषय वकालत गर्दै आएको छ । भारतको संविधानमा धर्म निरपेक्ष राष्ट्र उल्लेख छ ।

यसैबिच स्वतन्त्र भारतपछि लामो समय शासन गरेको कांग्रेस पार्टीले आरएसएस महासचिव होसबालेको वक्तव्यप्रति आपत्ति जनाएको छ । कांग्रेसले आरएसएस र बिजेपीको सोच संविधान विरोधी रहँदै आएको प्रतिक्रिया दिएको छ ।

कांग्रेसले भनेको छ–यो बाबा बाहेब अम्बेडकरको संविधानलाई खत्तम गर्नेहरूको साजिश हो, जुन कुरा बिजेपी र आरएसएसले सदैव प्रयास गर्दै आएका छन् । बिजेपी नेताहरुले चुनावमै भनेका थिए संविधान बदल्न हामीलाई ४ सयभन्दा बढी सीट चाहिन्छ । तर कांग्रेसले उनीहरुको प्रयासलाई कुनै हालतमा सफल हुन दिने छैन

यता भारतीय विदेश मन्त्री एस जयशंकरले दत्तात्रयको वक्तव्यबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा उनलाई यसबारे प्रश्न गर्दा सरकारको मन्त्री भएका कारण यस्ता विषयमा आफूले प्रतिक्रिया दिनु उचित नहुने बताएका छन् ।

Comments

One response to “भारतको संविधानबाट ‘समाजवाद र धर्मनिरपेक्ष’ हटाउनेबारे बहस, संकटकालको बेला घुसाइएको दाबी”

  1. Mingmar G Sherpa Avatar
    Mingmar G Sherpa

    धार्मिक खलबल मच्चीनु पर्छ अनि बल्ल थाहा हुन्छ । शान्ती पचेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *