अर्घाखाँचीको लामपाटी दरबार क्षेत्र २१ रोपनीबाट अतिक्रमित भएर साढे १ रोपनीमा सीमित

रुपन्देही । जंगबहादुर राणाको जन्मभूमि रहेको अर्घाखाँचीको लामपाटी दरबार क्षेत्र २१ रोपनीबाट अतिक्रमित भएर साढे १ रोपनी सीमित भएको छ । महत्वपूर्ण समरिकस्थल रहेको यो ऐतिहासिक क्षेत्र अतिक्रमण भएको गुनासो आएपछि अर्घाखाँचीको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले लामपाटी दरबारको अतिक्रमित जग्गा फिर्ता गराएरै छाड्ने घोषणा गरेका छन् । स्थानीयका अनुसार यसको नाममा करिब २१ रोपनी जग्गा भएपनि अहिले अतिक्रमित भई १ दशमलव ५ रोपनीमा सीमित भएको छ ।

बिहीबार लामपाटी दरबार परिसरमै रिपोर्टस क्लब लुम्बिनीले श्री ३ जंगबहादुर राणाको जन्मस्थल लामपाटी दरबारको संरक्षण र प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा सरोकारवालाले उठाएका सवालको जवाफ दिँदै नगर प्रमुख श्रेष्ठले यसको नाममा भएको सबै जग्गा खोज्ने प्रतिबद्धता गरेका हुन् ।

श्रेष्ठले ऐतिहासिक सम्पदाको अतिक्रमित जग्गा स्वतह स्फूर्त फिर्ता गर्न आग्रह गर्ने र त्यो समयमा जग्गा फिर्ता नगरे कानुनी प्रक्रियामार्फत भएपनि जग्गा फिर्ता गराएरै छाड्ने जनाएका हुन् । जंगबहादुर राणाको जन्मस्थल मथुरा क्षेत्रलाई पर्यटकीय हब बनाउन आफूले सक्दो भूमिका खेल्ने नगरप्रमुख श्रेष्ठको धारणा छ ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका निवर्तमान प्रमुख पिताम्बर शर्मा भुसालले जंगबहादुर राणाको जन्मस्थल मथुराको महत्व राज्यले बुझ्न नसकेको गुनासो गरे ।

लामपाटी दरबारजस्ता ऐतिहासिक क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्नेमा राज्यले प्रयाप्त ध्यान दिन नसक्दा जग्गा समेत हराउँदै गएको उनको तर्क छ । ‘ऐतिहासिक सम्पदा लामपाटीको जग्गा अतिक्रमण भएको छ । जग्गा फिर्ताको लागि राज्यले तत्काल कदम चाल्नुपर्छ’ उनले भने ।

छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जिल्लाका ऐतिहासिक क्षेत्रको संरक्षण र एकीकृत विकासको योजना बनाउनुपर्नेमा जनाए । र्घाखाँचीका ६ वटै पालिकामा रहेका सम्पदालाई पर्यटन व्यवसायसंग जोडेर अगाडि बढ्न ढिला गर्न नहुने उनको तर्क छ ।

सन्धिखर्क नगरपालिकाका निवर्तमान नगरप्रमुख कमल प्रसाद भुसालले ऐतिहासिक स्मृति, सामाजिक परम्परा र सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्यको भूमिका जवाफदेही हुनुपर्ने जनाए । जिल्लामा रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र विकासको निम्ति स्थानीय सरकारले डिपिआर गरेर काम अगाडि बढाउन उनको सुझाव छ । योजनाबद्ध विकासमा राज्यको जिम्मेवारी र स्थानियको अपनत्व हुनुपर्ने भुसालको तर्क छ ।

कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, नेपाली कांग्रेस अर्घाखाँचीका उपसभापति बिष्णुप्रसाद भुसाल, नेकपा एमालेका नेता जनार्दन खनालले ऐतिहासिक, सांस्कृति र शैक्षिक सम्पदाहरु विगतका चिनारी मात्र नभई वर्तमान र भविष्यको निम्ति प्रेरणा र पहिचानका आधार भएको बताए । जंगबहादुरको जन्मस्थल मथुरामा असार ७ गते र न्वरान भएको स्थल बल्कोटमा असार १७ गते हरेक वर्ष विशेष कार्यक्रम गरेर यसको प्रचार–प्रसार गर्न उनको सुझाव छ ।

बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले सम्पदाक्षेत्रको जग्गा १ दशमलव ५ रोपनीमा सीमित कसरी भयो रु भन्ने जवाफ सबैले खोज्नुपर्ने जनाए । राज्यले सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न नसक्दा अतिक्रमण र ओझेलमा परेको भन्दै छत्रदेव–२ का निवर्तमान अध्यक्षसमेत रहेका पन्थीले बल्कोट पौवाको मुहार फेरिदै गर्दा जंगबहादुरको जन्मस्थल लामपाटी ओझेलमा पर्नु दुःखद भएको बताए ।

सन्धिखर्क–५ का वडाध्यक्ष रिषव अधिकारीले ऐतिहासिक सम्पदाको जग्गा खुम्चिदै जानु चिन्ताको विषय भएको बताउँदै यस्ता सम्पदाको संरक्षण र प्रबद्र्धन गर्न सके व्यवसायिक पर्यटनको विकास र रोजगारीको सिर्जना हुने जनाए ।

पाणिनी बहुमुखी क्याम्पसका प्रध्यापक माधवराज चुँदालीले आधारपत्र प्रस्तुत कार्यक्रममा स्थानीय अगुवा मित्रलाल पाण्डे, गोपेश्वर पिठका अध्यक्ष ढुन्डीराज अधिकारी, गोपेश्वर पिठका मूल पुजारी गोकुल पौडेल, स्थानीय सरोकारवाला इश्वरी खनाल, छन्दप्रसाद भुसाल लगायतले बोल्दै जंगबहादुरको सम्मानमा लामपाटी दरबारको मूलगेटमा शालिक निर्माण गर्नुपर्ने, ऐतिहासिक सम्पदाको प्राचीन शैलीमै मर्मत संभार गरिनुपर्नेमा ध्यानाकर्षण गराएको क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसालको संचालनमा सम्पन्न कार्यक्रममा ले आधारपत्र प्रस्तुत गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *