काठमाडौं । मधेस प्रदेश सरकारले ल्याएको बजेटप्रति रुष्ट बनेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता डा शरदसिंह यादवले बताए।
बैठकमा मधेस प्रदेश सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। मधेसमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार छ। अर्थमन्त्री कांग्रेसका सुनिलकुमार यादव छन्।
अर्थमन्त्रीले मुख्यमन्त्रीलाई नै बाइपास गरेर बजेट ल्याएपछि जनमतले असन्तुष्टि जनाएको हो। प्रवक्ता यादव भन्छन्, ‘हाम्रो पार्टीको नेतृत्वको सरकार छ, तर हामीले अघि सारेका योजनाहरू परेका छैनन्। त्यसैले यसबारे सचिवालय बैठकमा गम्भीर छलफल हुन्छ।’
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी हो? भन्ने जिज्ञासामा उनले भने, ‘अहिलेसम्म कुनै निर्णयमा पुगेका छैनौँ। सचिवालय बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ।’
स्रोतका अनुसार मधेस प्रदेश सरकारको नेतृत्व केही समयभित्र कांग्रेसले लिने गरी तयारी अघि बढाइसकेका छन्। त्यही भएर पनि जनमत गठबन्धनसँग थप विच्किएकाे हाे। तर, उनले त्यसबारे आफूहरूलाई थाहा नभएको बताए। मधेस सरकारको नेतृत्व पाएपछि जनमतले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई बाहिरै बसेर समर्थन गरेको थियो।
त्यसो त बजेटपछि रुष्ट भएका अध्यक्ष राउतले पनि मधेस सरकारको वार्षिक कार्यक्रम हेर्दा जनमत पार्टीले लिएको नीति, सिद्धान्त र ‘भिजन’ बाट वञ्चित भएको आभास भएको बताएका छन्।
उनले भनेका छन्, ‘जनमत पार्टीले जनताको बीचमा गएर माग गरेका अधिकांश योजनाहरू परेका छैनन्, न त जनमत पार्टीले राखेका गौरवका योजनाहरू/भिजनरी कार्यक्रमहरू नै परेको छ। जनमत पार्टीलाई त मधेस सरकारको गतिविधिबाट अनभिज्ञ राखिएको छ, सूचना मागे पनि पाइँदैन। त्यसैले जनमत पार्टीका कार्यकर्ताहरू आक्रोशित हुनु स्वाभाविक हो।’
जनमत पार्टीकै नेतृत्वको सरकार र मुख्यमन्त्री हुँदा पनि यस्तो हुनु, सरकार सञ्चालनमा पार्टीको निर्देशनको पूरै अवहेलना हुनु एकदमै दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
उनले थपेका छन्, ‘यस विषयमा जनमत पार्टीको संसदीय दल तथा पार्टीको सचिवालय बैठकमा छलफल हुँदै छ, आवश्यक निर्णय त्यहाँबाट गरिनेछ। जनमत पार्टीका नेता कार्यकर्ताहरूमा धैर्य धारण गर्न हुन अनुरोध छ। पार्टी सदैव तपाईँहरूको साथमा छ र रहनेछ।’
त्यसो त हालै मात्रै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

Leave a Reply