काठमाडौं । ‘मनमोहन स्मृति प्रतिष्ठान’ले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का पूर्वअध्यक्ष मनमोहन अधिकारीका १०५ औं जन्मजयन्तीका अवसरमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर आयोजना गरेको छ ।
बिहीबार भएको शिविरको उद्घाटन प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए ।
उद्घाटन गर्दै पोखरेलले भने, ‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने मूल मन्त्र बोकेका नेता मनमोहन अधिकारीको सम्झनामा आयोजित यस शिविरले उहाँको समाजवादी दृष्टिकोणको जीवन्त अभ्यास गरेको छ ।’
उनले सबै सहभागी चिकित्सक टोली, स्वयंसेवक तथा सेवाग्राहीप्रति आभार प्रकट गर्दै यस्तो कार्यक्रम नियमित रूपमा हुनुपर्ने आवश्यकता पनि औँल्याए ।

ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी गरिएको यो शिविरले ललितपुर महानगरपालिका क्षेत्रका करिब २०० जनालाई सेवा दिएको मनमोहन स्मृति प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत आशिष रेग्मीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा बिर अस्पतालका पूर्व निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल, जेरियाट्रिक विशेषज्ञ डा. उमेश बोगटी, आन्तरिक रोग विशेषज्ञ डा. अनन्त अर्याल लगायत वरिष्ठ चिकित्सकहरूको टोलीले सेवा दिएका थिए ।
शिविरमा रक्तचाप (प्रेसर) मापन, रक्तमा ग्लुकोज (सुगर) जाँच, हृदय परीक्षण, सामान्य स्वास्थ्य परामर्श, वृद्धवृद्धाहरूका लागि विशेष जेरियाट्रिक सेवासहित निःशुल्क औषधी वितरण गरिएको थियो ।
चिकित्सकहरूको भनाइ अनुसार, शिविरमा अधिकांश वृद्ध नागरिकहरूलाई हाई ब्लड प्रेसर, डायबेटिज, ग्याष्ट्रिक समस्या, जोर्नी दुखाइ लगायतका स्वास्थ्य समस्याहरू रहेको पाइएको थियो ।
स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न वडाबाट आएका नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो। ७५ वर्षीय नन्दलाल महर्जन भन्छन्, ‘हामीजस्ता वृद्धहरूलाई यस्तो शिविरले ठूलो राहत दिन्छ। अस्पताल पुग्न गाह्रो हुन्छ, यस्ता सेवा गाउँमै आइदिएको अनुभव भयो ।’
५५ वर्षीया दुर्गा खड्काले भने, ‘चिनी चेक गर्न अस्पताल जान सकिएको थिएन। यहाँ निःशुल्क सेवा पाएर धेरै खुशी लाग्यो। मनमोहनजस्ता नेताको सम्झनामा यस्तो काम हुनु रमाइलो पनि लाग्यो ।’
मनमोहन स्मृति प्रतिष्ठानका कार्यकारी प्रमुख रेग्मीले भविष्यमा स्वास्थ्य, शिक्षा र सचेतना अभिवृद्धिका कार्यक्रमहरू थप व्यापक रूपमा सञ्चालन गर्ने योजना रहेको बताए । उनले भने, ‘हामी जननेता मनमोहनको विचारलाई व्यवहारमा उतार्न चाहन्छौं। उहाँले देखाएको समाजवादको बाटो विकास, न्याय र समानताको बाटो हो ।’
नेता मनमोहन अधिकारीको जीवन, दर्शन र नेतृत्व शैली अझै पनि नेपाली समाजका लागि प्रेरणादायी रहँदै आएको छ ।
प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खेलकुद, ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा तथा संवैधानिक हक अधिकारका लागि राजनीतिक निकास तथा आर्थिक विकासका निमित्त विभिन्न कार्यक्रम सञ्चालन गर्दे आइरहेकोमा यस वर्षमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
त्यस्तै, प्रतिष्ठानको कार्यालय प्रयोजनका लागि समाजसेवी हरिप्रसाद काफ्ले शर्मा (हालः मनमोहन स्मृति प्रतिष्ठानका सचिव) ले ललितपुर, सानेपास्थित ११ आनामा बनेको साढे दुई तल्लाको भवन दान गरेका छन् ।

Leave a Reply