फिल्म फ्लप भएपछि ६६ प्रतिशत पारिश्रमिक त्याग्ने निर्मल शर्माको घोषणा

काठमाडौं । आफू अभिनित चलचित्र फ्लप भएपछि अभिनेता निर्मल शर्माले आफूले लिनुपर्ने ६६ प्रतिशत पारिश्रमिक त्याग्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक संजालमा एक स्टाट्स लेख्दै गैंडा उपनामले परिचित निर्मल शर्माले सो घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, चलचित्र क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु । मैले कुनै महान काम त गरेको हैन तर हालसालै पदर्शन भएको आफूले पनि खेलेको चलचित्रले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ । लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन । सेभ प्रड्युसर्स फस्ट ।’

निर्मलले लामो समयदेखि पहिला निर्मातालाई जोगाउनुपर्छ भन्ने धारणा आफ्नो सामाजिक संजालमा राख्दै आएका छन् । निर्माता जोगिएमात्र फिल्म उद्योग सुरक्षित हुने उनको भनाइ छ ।

उनको यो पोस्टमा निर्माता तथा अभिनेता दीपकराज गिरी, निर्माता रोहित अधिकारी, निर्देशक दीपेन्द्र लामा लगायतले समर्थन जनाएका छन् ।

उनको यो घोषणामा सर्मथन जनाउँदै दिपकले लेखेका छन्, ‘एकदम राम्रो हो । तर यतिका फिल्म असफल हूदॉ त बर्षको १५० फिल्म बन्दैछ, त्यो माथि कलाकारले असफल फिल्मको पैसा यसरी नै फिर्ता दिने हो भने त बर्षको ३०० वटा फिल्म बन्ला नि फेरि ।’

पछिल्लो समय धमाधम कलाकारले एउटै चलचित्रबाट ५० लाख माथि पारिश्रमिक लिने गरेको चर्चा छ । चलचित्रले सोचेजस्तो व्यापार नगरेपनि कलाकारले पारिश्रमिक बढाएर लिने गरेको चर्चाबिच निर्मलले यस्तो स्टाट्स लेख्दै पारिश्रमिक नलिने घोषणा गरेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *