काठमाडौं । हिजोदेखि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका हुन् ।
उनीहरूले अपाच्य शब्द प्रयोग गरेर निजी जीवनमै असर गर्ने गरी कमेन्ट गर्ने, म्यासेज गर्ने प्रयोगकर्ताहरूलाई धमाधम सार्वजनिक गरिरहेका छन् । असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफी समेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् ।
हिजो मात्रै चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’
साथै एक भिडियो सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन् । थप कानुनी उपचारको लागि जाने समेत बताएकी थिइन् ।
यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आइडी सेयर गरेका थिए।
व्यक्तिगत र व्यावसायिक जीवनमै असर गर्ने गरी, मानसिक स्वास्थ्यमै असर गर्ने गरी तुच्छ शब्दहरू प्रयोग गरेर गरिएको कमेन्ट, म्यासेजविरुद्ध पछिल्लो समय कलाकारहरूले सामाजिक सञ्जालबाटै आक्रामक तवरले प्रतिक्रिया दिन थालेका छन् । योबाहेक भरपर्दो अन्य समाधानको बाटो केही नभएपछि सञ्जालबाटै बोल्न बाध्य हुनु परेको कलाकारहरूले बताउने गरेका छन् ।

Leave a Reply