काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल बैंक ग्यारेन्टी धरौटी बुझाएर अदालतबाट निस्कने तयारी गरेका छन् ।
विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटी मागेपछि अध्यक्ष नेपालले बैंक ग्यारेन्टी धरौटी राखेर निस्कने तयारी गरेका हुन्। उनी ११ बजेतिर अदालतबाट निस्कने तयारी गरेका छन् ।
पूर्वप्रधानमन्त्री नेपाललाई नगद ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ । पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उनीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो । आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुनुभएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गरेका थिए । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।
पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।




Leave a Reply