च्याटजीपीटीको अत्यधिक प्रयोगले घटाउन सक्छ तपाईंको दिमागी क्षमता ! (भिडिओ)

काठमाडौं । तपाईं कतिको च्याटजीपीटी चलाउनुहुन्छ ? आफ्ना सबै शैक्षिक वा बौद्धिक कार्यहरु सीधै च्याट जीपीटीकै प्रयोगबाट गर्ने बानी त छैन ? यदि छ भने सचेत रहनुुस् । सूचना प्रविधि र कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स- एआई)को विकासमा आएको यो चरम अवस्थाले मानिसको जीवनलाई प्राविधिक रुपमा धेरै नै सहज बनाएको छ । तर मानवीय, भावनात्मक र मस्तिष्क विकासमा भने चुनौती थपेको छ ।

अमेरिकाको मेसेचुसेट्सस्थित अनुसन्धान विश्वविद्यालय एमआईटीका अनुसन्धानकर्ताहरुको नयाँ अध्ययनबाट एउटा डरलाग्दो तथ्य बाहिर आएको छ । यसअघि पनि च्याटजीपीटी जस्ता एपले मानिसको सिर्जनशील क्षमता नष्ट गर्ने भन्ने दाबीहरु आएका थिए ।

अहिलेको अनुसन्धानले भने च्याटजीपीटी चलाएर कुनै एकेडेमिक काम गर्दा मस्तिष्कको सिर्जना गर्ने क्षमता कम गर्ने देखाएको छ । ५८ जना सहभागी भएको उक्त अध्ययनले च्याटजीपीटीको अत्यधिक प्रयोगले दिमागको सक्रिय सहभागीता कम भएको र अन्ततः निरन्तररुपमा मस्तिष्कको विकास, भाषिक ज्ञान र बानीगत तवरमै नकारात्मक असर परेको पत्ता लाग्यो ।

अनुसन्धानमा बोस्टन क्षेत्रका १८ देखि ३९ वर्षका ५८ जना सहभागीहरुलाई तीन वटा समूहमा बाँडेर एउटा समूहलाई ओपनएआईको च्याटजीपीटी, अर्कोलाई गुगलको सर्च इन्जिन र तेस्रो समूहलाई भने केही प्रयोग नगरी अमेरिकी कलेज, विश्वविद्यालयमा भर्नाको लागि लिइने विशेष परीषा– स्याटका लागि चाहिने निबन्ध लेख्न लगाइयो ।

भिडिओ

अनुसन्धानकर्ताहरुले उनीहरुको मस्तिष्कको ३२ वटा क्षेत्रहरुमा ईईजीको स्क्यान रेकर्ड गरे । जसमा जुन समूहले च्याटजीपीटीको प्रयोग गरेको थियो उनीहरुको मस्तिष्क सबभन्दा कम सक्रिय सहभागीता भएको पाए र स्नायु, भाषिक तथा व्यवहारगत तहमै निरन्तर कमजोर प्रदर्शन पाएका थिए । केही महिनाको दौरानमा च्याटजीपीटी प्रयोगकर्ताहरु एकपछि अर्को निबन्ध लेख्दा अल्छी भएको र कपी र पेस्टमा अभस्त बनेको पाइयो ।

उक्त अध्ययन के देखाउँछ भने लार्ज ल्याग्वेज मोडलहरुको प्रयोगले वास्तवमा किशोरकिशोरीको सिकाइलाई हानी गर्छ । त्यसैले यसको प्रयोगमा सजगता अपनाउन आग्रह गरिएको छ ।

एमआईटीकै यसअघिको अध्ययनले पनि च्याटजीपीटीको प्रयोगले मानिसहरुलाई एक्लोपनको शिकार बनाउने पत्ता लागेको थियो । जति बढी चलाइन्छ उति मानिसले आफूलाई एक्लो महुसस गरेको उक्त अध्ययनले देखाएको थियो ।

यसबाट हामीले के बुझ्ने त ? मस्तिष्कको विकासमा सहयोग पुग्ने किसिमले र स्वस्थ तवरले च्याटजीपीटीको प्रयोग गर्नुपर्ने देखिएको छ । अन्यथा हामी सजिलै यो प्रविधिको दास बन्नेछौं ।

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *