सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा अवानी पौडेलले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आएकी पौडेलले छोटो समयमै नेपाली समुदायमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सक्रिय सहभागिताबाट विशिष्ट पहिचान बनाएकी छन् ।
टिम एकता अन्तर्गत उम्मेदवार बनेकी पौडेलले आफू समावेशी, पारदर्शी र नतिजामूलक नेतृत्व प्रदान गर्न इच्छुक रहेको बताएकी छन् ।
‘समाजले मलाई धेरै कुरा सिकायो, अब समय आएको छ सिकेको फिर्ता दिने’, पौडेलले भनिन्, ‘म महिला, युवा र नयाँ आप्रवासीहरूको आवाज बन्न चाहन्छु ।’
शिक्षा परामर्श, वृद्ध सेवा, व्यवसाय तथा रियल इस्टेट क्षेत्रमा संलग्न पौडेल ऊर्जाशील, समर्पित र कार्यमा केन्द्रित नेतृका रूपमा समुदायमा परिचित छिन् । आकर्षक व्यक्तित्वसँगै दृढ सोच र योजनाबद्ध कार्यशैलीमा पनि उनी अब्बल मानिन्छिन् ।
‘अहिलेको आवश्यकता नेतृत्वको पुस्तान्तरण हो’, उनले भनिन्, ‘जहाँ अनुभव, जोश र सोचको सन्तुलनबाट मात्रै संस्थागत सुधार सम्भव हुन्छ ।’
पौडेलले आफू आबद्ध टिम एकतालाई पारदर्शिता, समावेशी नेतृत्व र महिला सहभागिताको अभ्यास गर्ने समूहका रूपमा चित्रण गरेकी छन् ।
‘टिम एकता नाम मात्रै होइन, व्यवहारमै एकताको अभ्यास गर्ने समूह हो’, पौडेलको भनाइ छ ।
यसपटकको निर्वाचनमा एनएसडब्लु राज्यमा युवा पुस्ताको उल्लेखनीय सहभागिता देखिएको छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै कोठे बैठक, समुदाय भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् ।

Leave a Reply