ब्रोकर कम्पनीको चुक्ता पुँजी बढाउने समय थप्ने सेबोनको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई चुक्ता पुँजी कायम गर्न दिएको तीन वर्षको समयसीमा सकिँदैछ । सेबोनले चुक्ता पुँजी पुर्‍याउन दिएको सीमा यही असारमा सकिने भएको हो ।

सेबोनले दिएको समयसीमा सकिनै लागे पनि तीन दर्जन बढी ब्रोकर कम्पनीले तोकिएको चुक्ता पुँजी पूरा गर्न सकेका छैनन् । सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो ।

सेबोनले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्नेहरूको हकमा ६० करोड र स्टक डिलरको हकमा १ अर्ब ५० करोड रूपैयाँ चुक्ता पुँजी कायम गर्न भनेको थियो । ब्रोकर कम्पनीहरूले पुँजी पुर्‍याउन तीन वटा बाटो रोज्न सक्छन् । जसअनुसार उनीहरूले एक-अर्कामा मर्जरमा जान पाउँछन् । त्यसबाहेक बोनस शेयर तथा हकप्रद जारी गरेर भए पनि पुँजी पुर्‍याउन सक्छन् ।

अधिकांश कम्पनी मर्जरमा जान तयार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल ९२ वटा ब्रोकर कम्पनीले सेवा दिइरहेका छन् । जसमध्ये २ वटा स्टक डिलर छन् । नयाँ कम्पनीहरूले तोकिएको चुक्ता पुँजी पुर्‍याएर लाइसेन्स लिए पनि पुराना ३८ कम्पनीले तोकेको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् ।

लामो समयसम्म ब्रोकर कम्पनीहरूले सेबोनले दिएको निर्देशन पालना गरेनन् । ६ महिनाअघि सेबोनले यसबारे स्पष्टीकरण सोध्दै पत्राचार गरेको थियो । सेबोनले चुक्ता पुँजी नपुगेका ब्रोकर कम्पनीहरूलाई पुँजी पुर्‍याउने योजना पेस गर्न गएको पुस ८ गते पत्राचार गरेको थियो । सोहीअनुसार ब्रोकर कम्पनीहरूले सेबोनमा कारणसहित योजना पेश गरे ।

चुक्ता पुँजी नपुगेका ब्रोकर कम्पनीहरूले बोनस, हकप्रद र मर्जरमध्ये एउटा विकल्प रोजेर तोकिएको पुँजी पुर्‍याउने योजना पेश गरेका छन् । त्यसमध्ये अधिकांशले मर्जरमा जाने योजना पेश गरेको सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

सेबोनमा पुँजी पुर्‍याउने योजना पेश गरेका कम्पनीहरूमा आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि, कुमारी सेक्युरिटिज प्रालि, अरुण सेक्युरिटिज प्रालि, मार्केट सेक्युरिटिज एक्स्चेञ्ज कम्पनी प्रालि, जेएफ सेक्युरिटिज कम्पनी प्रालि, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्रालि र थ्राइभ ब्रोकरेज हाउस प्रालि रहेका छन् ।

त्यस्तै कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि, एबीसी सेक्युरिटिज प्रालि र सगरमाथा सेक्युरिटिज प्रालिले पनि चुक्ता पुँजी पु¥याउने योजना सेबोनमा पेश गरेका छन् । यसबाहेक सिप्ला सेक्युरिटिज प्रालि, मिडास स्टक ब्रोकिङ कम्पनी प्रालि, सिप्रबि सेक्युरिटिज प्रालि, स्वेता सेक्युरिटिज प्रालि, एशियन सेक्युरिटिज प्रालि, श्रीकृष्ण सेक्युरिटिज लि, सेक्युर्ड सेक्युरिटिज लि र सुमेरु सेक्युरिटिज प्रालिले पनि योजना पेश गरेका छन् ।

सेबोनमा योजना पेश गरेका कम्पनीहरूमा क्रियटिभ सेक्युरिटिज प्रालि, सेवा सेक्युरिटिज प्रालि, इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि, श्रीहरि सेक्युरिटिज प्रालि, आर्यतारा इन्भेस्टमेन्ट एन्ण्ड सेक्युरिटिज प्रालि र दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस प्रालि रहेका छन् ।

लिन्च स्टक मार्केट लि, ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट प्रालि, प्रज्ञान सेक्युरिटिज प्रालि, नेपाल स्टक हाउस प्रालि, प्राइमो सेक्युरिटिज प्रालि, नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालि, त्रिशूल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट लिमिटेडले पनि सेबोनमा पुँजी पुर्‍याउने योजना पठाएका छन् ।

कालिका सेक्युरिटिज प्रालि, साउथ एशियन बुल्स प्रालि, निभ सेक्युरिटिज प्रालि, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि, भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि र सुन्धारा सेक्युरिटिज लिमिटेडले पनि पुँजी पुर्‍याउने योजना सेबोनमा सुनाएका छन् ।

चुक्ता पुँजी पुर्‍याउन अधिकांश ब्रोकर कम्पनीहरूले मर्जरको बाटो रोज्ने योजना सेबोनमा पेश गरेका छन् । उनीहरूको योजनालाई सहज बनाउन सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ ।

सेबोनले मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका ढिलो सार्वजनिक गरेकाले गर्दा ब्रोकर कम्पनीहरूले तोकेको समयमा पुँजी पुर्‍याउन नसकेको स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकाल बताउँछन् ।

यसअघि नै निर्देशिका जारी भएको थियो भने ब्रोकर कम्पनीहरू यसअघि नै मर्जरमा गइसक्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीले पुँजी नपुगेकाहरूलाई पुर्‍याउने योजना लिएर आउनु भनेका थियौँ । उनीहरूले योजना बोनस शेयर तथा हकप्रद जारी गर्ने र मर्जर तथा प्राप्तिमा जाने योजना पेश गरेका छन् । धेरैजसोले मर्जरमा जाने भनेका छन् ।’

अध्यक्ष ढकाल भन्छन्, ‘सेबोनले चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिए पनि त्यसका लागि बाटो खोलिदिएन । सेबोनले निर्देशनसँगै निर्देशिका पनि जारी गरेको थियो भने यसबेला सबै ब्रोकर कम्पनीहरूले चुक्ता पुँजी पुर्‍याइसक्थे । सेबोनकै कारण तोकिएको समयमा हामीले पुँजी पुर्‍याउन सकेनौँ ।’

मर्जर तथा प्राप्तिमा जाने ब्रोकर कम्पनीहरूले ६ महिना अगाडि नै आवेदन दिनुपर्छ, तर सेबोनले ब्रोकर कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुला गर्दै गएको चैतको तेस्रो सातामात्रै निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिका जारी नहुँदा ब्रोकर कम्पनीहरूले मर्जरमा जाने योजना बनाए पनि जान सकेका थिएनन् ।

ढिलो निर्देशिका ल्याइएको कारण असार मसान्तसम्म पुँजी पुर्‍याउन नसकिने भन्दै ब्रोकर एसोसियसनका पदाधिकारीहरूले सेबोनसँग थप समय माग्दै आएका थिए । पदाधिकारीहरूले सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई पनि भेटेका छन् । सेबोनले तोकको समयमा पुँजी १० गुणा बढाउन सम्भव नहुने भन्दै २०८४ असार मसान्तसम्म समय थप्नुपर्ने उनीहरूको माग छ ।

ब्रोकर कम्पनीहरूलाई सेबोनले पुँजी पु¥याउने समय दुई वर्ष थप्नुपर्ने अध्यक्ष ढकालको माग छ । उनले भने, ‘अहिले ब्रोकर कम्पनीहरूको न्यूनतम पुँजी २ करोडको व्यवस्था रहेकाले नयाँ व्यवस्थाअनुसार १० गुणा बढाउनुपर्ने बाध्यता छ । असार मसान्तसम्मको समय पर्याप्त छैन । अब २ वर्ष थप गरिदिनुपर्छ ।’

के गर्ला सेबोन ?

ब्रोकर कम्पनीहरूले पुँजी वृद्धिको लागि थप समय मागेपछि यसबारे सेबोन पनि सकारात्मक देखिएको छ । सेबोनले ब्रोकर कम्पनीहरूलाई पुँजी बढाउन समय थप्ने तयारी थालेको छ ।

सेबोन स्रोतका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गर्न लागिएको छ । उक्त नियमावली संशोधन गर्न सञ्चालक समितिबाट पारित गरेर अर्थ मन्त्रालयमा पठाइनेछ ।

याे पनि- मर्जरको बहस ब्रोकरतिर: तीन दर्जन बढीको पुगेको छैन चुक्ता पूँजी, निर्देशिका ल्याउँदै सेबोन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *