आफ्नै नेताले ल्याएको बजेटप्रति आपत्ति जनाएको लुम्बिनी कांग्रेसले बोलायो बैठक

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति गम्भीर आपत्ति जनाएको सत्तारुढ नेपाली कांग्रेस प्रदेश समितिले यसबारे छलफल गर्न बैठक बोलाएको छ । पार्टीबाटै आर्थिक मामिला मन्त्री बनेका धनेन्द्र कार्कीले ल्याएको बजेटमा पार्टीका प्रदेश सभापति अमरसिंह पुनले गम्भीर आपत्ति जनाउँदै बिचौलियाले बनाएको बजेट भन्दै विरोध गरिसकेका छन् ।

प्रदेश सरकारमा कांग्रेसबाट सहभागी ५ मन्त्रीको भूमिकाका विषयमा पार्टी कमिटीले आलोचना गरिरहेको बेला र बजेटको आलोचना भइरहेको बेला बोलाइएको बैठक अर्थपूर्ण रहेको नेताहरूले बोलाएका छन् ।

कांग्रेस प्रदेश कमिटीमा पार्टीमा इतर समूहको वर्चस्व रहेको छ भने प्रदेश सभामा संस्थापना समूहको वर्चस्व रहेको छ ।

बजेटप्रति कांग्रेस र एमालेकै सांसदहरूले गम्भीर असहमति जनाएपछि असार ७ गतेदेखि राखिएको छलफल कार्यक्रम अनिश्चितकालका लागि रोकिएको छ । दुवै पार्टीले आन्तरिक छलफल अघि बढाएपनि कुनै निचोड निस्केको छैन ।

कांग्रेसले असार १३ गते प्रदेश समितिको बैठक बोलाएर यसबारे आफ्नो आधिकारिक धारणा बनाउन सक्ने नेताहरूको आंकलन छ । प्रदेश महामन्त्री विक्रम खनालले १३ गते लमहीमा आयोजना गरिएको बैठकमा सरकारमा सहभागी सबै मन्त्री र प्रदेश सभामा पार्टीबाट पुगेका सबै सांसदहरूलाई बोलाइएको जनाएका छन् ।

पार्टीको प्रदेश कमिटीसँगै १२ जिल्लाकै पार्टी सभापति, भातृ संगठनका प्रमुखहरूलाई पनि बोलाइएको छ । सभापति पुन असन्तुलित बजेट र सरकारमा सहभागी मन्त्रीहरूबारे पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं पुगेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *