सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित, बजेटमाथिको छलफल पछि सर्यो

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको मंगलबार अपरान्ह ४:०० बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको छ। बैठक स्थगनको जानकारी प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी दिएको हो।

प्रदेश सभामा आजबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमाथि छलफल सुरु हुने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बैठक स्थगन गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

यसैबीच, कार्यव्यवस्था परामर्श समितिको बैठक भने बुधबार दिउँसो १:०० बजे बस्ने तय भएको सचिवालयले जनाएको छ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए

उक्त बजेटमा चालू खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार रुपैयाँ (३०.४९ प्रतिशत), पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड दुई लाख छ हजार रुपैयाँ (५९.२५ प्रतिशत), अन्तर वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख रुपैयाँ (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

बैठक स्थगित भएसँगै बजेटमाथिको छलफल पनि केही समयका लागि स्थगित भएको छ। नयाँ मिति र समय सचिवालयबाट पुनः सूचित गरिने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *